काठमाडौं : ग्लोबल आइएमई क्यापिटलले व्यवस्थापन गरिरहेका दुई म्युचुअल फण्ड योजनामध्ये ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले आफ्ना लगानीकर्तालाई १२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
क्यापिटलको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट उक्त योजनाका इकाईधनीलाई १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ का लगानीकर्ताले करसहित कुल १२ करोड ३० लाख ९१ हजार ६३२ रुपैयाँ बराबरको प्रतिफल प्राप्त गर्नेछन्। लाभांश प्राप्त गर्न योग्य लगानीकर्ताको टुंगो लाग्ने बुक क्लोज अर्थात् दर्ता किताब बन्द हुने मिति भने पछि सार्वजनिक गरिने क्यापिटलले जनाएको छ।
क्यापिटलको व्यवस्थापनमा रहेको अर्को योजना ग्लोबल आइएमई समुन्नत योजना-२ ले भने यस आर्थिक वर्षका लागि लगानीकर्तालाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
बाह्य लेखापरीक्षण सम्पन्न भएपछि क्यापिटलले लाभांश वितरणसम्बन्धी निर्णयबारे नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) लाई औपचारिक जानकारी गराएको छ।