बाढीपीडितको घरदैलोमा शुभ किरण सहकारीको सहारा

बाढीपीडितको घरदैलोमा शुभ किरण सहकारीको सहारा

नुवाकोट : सहकारी संस्थाप्रति पछिल्लो समय विभिन्न आरोप र आलोचना भइरहेका बेला सबै सहकारी संस्था एउटै प्रकृतिका हुँदैनन् भन्ने उदाहरण प्रस्तुत गर्दै काठमाडौंको माछापोखरी स्थित शुभ किरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ।

भोटेकोशी नदीमा आएको अचानकको भीषण बाढीबाट प्रभावित तथा क्षतिग्रस्त परिवारलाई तत्काल राहत आवश्यक रहेको अवस्थालाई मध्यनजर गर्दै सहकारीले खाद्यान्न, लत्ताकपडालगायत अत्यावश्यक सामग्री वितरण गरेको हो।

सहकारीका अनुसार बटार र विदुर क्षेत्रमा रहेका १०० घरपरिवारलाई राहत सामग्री उपलब्ध गराइएको छ। प्रत्येक परिवारलाई करिब ४ हजार ५ सय रुपैयाँ बराबरका राहत सामग्री प्रदान गरिएको थियो।

बाढीका कारण दैनिक जीवनयापनमै कठिनाइ भोगिरहेका परिवारलाई आवश्यक पर्ने सामग्री सहकारीका प्रतिनिधिहरूले पीडितकै घरदैलोमा पुगेर प्रत्यक्ष हस्तान्तरण गरेका थिए। राहत वितरणका क्रममा प्रभावित परिवारको अवस्था बुझ्दै सहकारीका प्रतिनिधिहरूले आवश्यक सहयोग र सहकार्यका लागि आफूहरू प्रतिबद्ध रहेको बताएका थिए।

सहकारीको मूल मर्म नै सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनमा सुधार ल्याउनुका साथै समुदायको हितमा काम गर्नु हो। सहकारिताको ‘समुदायप्रतिको सरोकार’ र ‘एकता’को सिद्धान्तलाई व्यवहारमा उतार्दै शुभ किरण सहकारीले विपद्को समयमा समुदायका नागरिकको साथमा उभिएको हो।

प्राकृतिक विपत्तिका बेला राहत आवश्यक भए पनि वास्तविक पीडितसम्म राहत पुग्न नसकेको गुनासो बारम्बार सुनिने गरेको छ। यस्तो अवस्थामा सहकारीले राहत सामग्री सम्बन्धित पीडित परिवारकै हातमा प्रत्यक्ष रूपमा पुर्‍याउने प्रयास गरेको जनाएको छ।

सहकारीको यो अभियानले सहकारी केवल बचत तथा ऋणको कारोबार गर्ने संस्था मात्र नभई सदस्य, समुदाय र समाजप्रतिको जिम्मेवारी वहन गर्ने सामाजिक संस्था पनि हो भन्ने सन्देश दिएको छ। आर्थिक कारोबारसँगै मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्नु सहकारी अभियानको मूल भावना भएको सहकारीले जनाएको छ।

बाढीका कारण प्रभावित परिवारका लागि गरिएको यो सहयोगले विपद्को कठिन समयमा केही भए पनि राहत र आशाको अनुभूति दिलाएको बताइएको छ। सहकारीले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग तथा समुदाय केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

विपद्को समयमा पीडितको दुःखमा सहारा बन्ने शुभ किरण सहकारीको यो पहलले ‘समुदायका लागि सहकारी’ भन्ने सहकारिताको मूल भावनालाई थप बलियो बनाएको छ।

थप समाचार