काठमाडौं : इङवा हाईड्रोपावर लिमिटेडद्वारा सञ्चालन भइरहेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा खोला साना जलविद्युत आयोजनाको युनिट–२ बाट पुनः विद्युत उत्पादन सुरु भएको छ।
पाँचथर र ताप्लेजुङ जिल्लामा बहने इङवा खोलामा निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको उक्त आयोजना गत जेठ ९ गते आएको अविरल वर्षासँगैको बाढी तथा पहिरोका कारण प्रभावित भएको थियो।
बाढी र पहिरोबाट आयोजनाको इन्टेक, पाइपलाइन, पावरहाउस, ट्रान्समिसन लाइनलगायत विभिन्न संरचनामा ठूलो क्षति पुगेपछि आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको थियो।
कम्पनीका अनुसार आवश्यक मर्मत-सम्भार कार्य सम्पन्न गरेपछि आयोजनाको युनिट-१ गत साउन २१ गतेदेखि सञ्चालनमा आएको थियो। त्यसपछि थप मर्मत तथा परीक्षण कार्य सम्पन्न गरी युनिट-२ पनि भदौ २३ गते साँझ ४ः२० बजेदेखि सञ्चालनमा ल्याई विद्युत उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ।
दुवै युनिटबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। युनिट-२ समेत सञ्चालनमा आएपछि आयोजनाको विद्युत उत्पादन क्रमशः पूर्ण क्षमतामा सञ्चालन हुने कम्पनीले जनाएको छ।