इरान युद्ध लम्बिएपछि दबाबमा ट्रम्प, मध्यावधि निर्वाचनपछि मात्रै युद्ध रोकिने दाबी

इरान युद्ध लम्बिएपछि दबाबमा ट्रम्प, मध्यावधि निर्वाचनपछि मात्रै युद्ध रोकिने दाबी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनपछि मात्रै अन्त्य हुन सक्ने बताएका छन्। उनले इरानले अब लामो समयसम्म युद्ध जारी राख्न नसक्ने दाबी गर्दै निर्वाचनलगत्तै युद्ध अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।

बुधबार टेक्सासतर्फ प्रस्थान गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान युद्ध र तेलको मूल्यबारे टिप्पणी गरेका हुन्। टेक्सासमा रिपब्लिकन पार्टीको पहिलो मध्यावधि निर्वाचन सम्मेलन आयोजना हुँदैछ, जहाँ आगामी निर्वाचनमा अमेरिकी संसदको शक्ति सन्तुलन परिवर्तन हुन सक्ने सम्भावना छ।

ट्रम्पले इरानले अमेरिकी निर्वाचनलाई प्रभावित पार्ने प्रयास गरिरहेको आरोप पनि लगाए। उनले इरान कमजोर नेतृत्व भएको समूह अमेरिकामा सत्तामा आएको हेर्न चाहेको दाबी गरे, तर आफ्नो आरोपको समर्थनमा कुनै प्रमाण प्रस्तुत गरेनन्। तेहरानले भने आफू परमाणु हतियार बनाउन खोजिरहेको आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ।

टेक्सासमा आयोजित सम्मेलनमा सम्बोधन गर्दै ट्रम्पले इरानसँगको युद्ध जित्नेबित्तिकै तेलको मूल्य तीव्र रूपमा घट्ने बताएका छन्। उनले युद्धका कारण अमेरिकामा पेट्रोलको मूल्य बढेको भन्दै जनतामाझ असन्तुष्टि बढिरहेको समेत स्वीकार गरेका छन्।

इरानसँगको युद्ध अहिले सातौँ महिनामा प्रवेश गरेको छ। सुरुमा ट्रम्पले युद्ध केही सातामै समाप्त हुने अनुमान गरेका थिए। तर युद्ध लम्बिँदै जाँदा इन्धनदेखि खाद्यान्नसम्मको मूल्यमा असर परेको छ, जसका कारण उनको लोकप्रियता घट्दै गएको र रिपब्लिकन पार्टीभित्रै युद्ध अन्त्य गर्न दबाब बढेको बताइएको छ।

अमेरिकामा मध्यावधि निर्वाचन आगामी ३ नोभेम्बरमा हुँदैछ। रिपब्लिकन पार्टीले अमेरिकी कांग्रेसमा आफ्नो नियन्त्रण गुमाउन सक्ने खतरा देखिएको छ। इतिहास हेर्दा सत्तारुढ राष्ट्रपतिको पार्टीले मध्यावधि निर्वाचनमा प्रायः सिट गुमाउने गरेको छ।

यसैबीच, मध्यपूर्वमा पछिल्ला दिनहरूमा युद्ध थप चर्किएको छ। क्षेत्रका तेलसम्बन्धी संरचनाहरूमा भएका आक्रमणका कारण विश्व बजारमा तेलको मूल्य बढेको छ। बुधबार तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर पुगेको छ, जुन जुलाईयता पहिलोपटक हो।

अमेरिकी सेनाले इरानसँग सम्बन्धित पाँच तेल ट्यांकरमाथि आक्रमण गरेको जनाएको छ। त्यसको जवाफमा इरानले होर्मुज जलडमरूमध्यमा दुई अमेरिकी नौसेना विनाशक जहाज र आठ तेल ट्यांकरमाथि आक्रमण गरेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ। ती आक्रमणबाट जहाजहरूमा ठूलो क्षति पुगेको दाबी गरिएको छ।

यसअघि इरानसँग सम्बन्धित यमनका हुथी समूहले साउदी अरेबियामा आक्रमणको श्रृंखला चलाउँदा तेल संरचनाहरूमा आगलागी भएको थियो।

अमेरिका र इरानबीच भएको ६० दिने युद्धविराम गत महिनाको अन्त्यमा समाप्त भएपछि पुनः चर्किएको संघर्षले विश्वव्यापी ऊर्जा बजारमा दबाब बढाएको छ। बढ्दो इन्धन मूल्यले अमेरिकामा महँगी बढ्न सक्ने र ब्याजदरमा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

थप समाचार