गुणस्तरीय र भरपर्दो यात्रा सेवाको लक्ष्यसहित ‘स्वागत होलिडेज ट्राभल’को शुभारम्भ

गुणस्तरीय र भरपर्दो यात्रा सेवाको लक्ष्यसहित ‘स्वागत होलिडेज ट्राभल’को शुभारम्भ

काठमाडौं : यात्रु तथा पर्यटकलाई गुणस्तरीय, भरपर्दो र सहज यात्रा सेवा उपलब्ध गराउने उद्देश्यसहित स्वागत होलिडेज ट्राभल एन्ड टुर प्रा.लि. औपचारिक रूपमा सञ्चालनमा आएको छ।

कोटेश्वर–३२ स्थित कृषि विकास बैंक रहेको भवनको दोस्रो तल्लामा रहेको कार्यालयबाट कम्पनीको औपचारिक उद्घाटन गरिएको हो।

कम्पनीले स्वदेश तथा विदेश भ्रमण गर्ने यात्रुलाई लक्षित गर्दै हवाई टिकट बुकिङ, होटल तथा आवास व्यवस्थापन, पर्यटकीय प्याकेज, आन्तरिक तथा अन्तर्राष्ट्रिय भ्रमणलगायतका ट्राभल तथा टुर सेवा उपलब्ध गराउने जनाएको छ। त्यस्तै, अन्तर्राष्ट्रिय बिजनेस भिसा, फ्यामिली भिसा तथा अन्य भिसासम्बन्धी परामर्श सेवा पनि प्रदान गरिने कम्पनीले जनाएको छ।

ग्राहकको आवश्यकता र बजेटअनुसार व्यक्तिगत तथा पारिवारिक भ्रमण, समूहगत टुर तथा विशेष पर्यटकीय प्याकेज तयार गरिने कम्पनीले जनाएको छ। यात्राका क्रममा आवश्यक पर्ने परामर्श तथा सहयोगलाई समेत प्राथमिकतामा राखिने कम्पनीको भनाइ छ।

उद्घाटन कार्यक्रममा कम्पनीका सञ्चालकहरूले विश्वसनीय सेवा, उचित मूल्य, पारदर्शिता र ग्राहक सन्तुष्टिलाई कम्पनीको मुख्य प्राथमिकता बनाइएको अध्यक्ष पुष्पराज लामिछानेले बताए। पर्यटन क्षेत्रसँगै रोजगारी तथा व्यावसायिक अवसर सिर्जना गर्नसमेत कम्पनीले योगदान पुर्‍याउने उनको अपेक्षा छ।

कम्पनीले आधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहकलाई छिटो, सहज र भरपर्दो सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ। साथै, स्वदेशी तथा विदेशी पर्यटकलाई नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा भ्रमण गराउन विशेष प्याकेज सञ्चालन गर्ने तयारीसमेत गरेको छ।

२१ जना संस्थापक सेयर होल्डर रहेको कम्पनीको सञ्चालनका लागि ७ सदस्यीय सञ्चालन समिति गठन गरिएको छ।

समितिको अध्यक्षमा पुष्पराज लामिछाने, उपाध्यक्षमा विदुर कुमार वैद्य, कोषाध्यक्षमा भम श्रेष्ठ र सचिवमा बसन्त बज्राचार्य छन्।

त्यस्तै, सदस्यहरूमा एसके श्रेष्ठ (पूर्ण कुमार श्रेष्ठ), पार्वती अधिकारी बस्नेत र सुदर्शन वैद्य रहेका छन्।

कम्पनीमा नेपालसहित बेलायत, अस्ट्रेलिया, डेनमार्क, जापान र कतारमा विभिन्न पेसा तथा व्यवसायमा आबद्ध व्यक्तित्वहरूको सहभागिता रहेको जानकारी दिइएको छ।

विभिन्न देशमा रहेका नेपाली तथा विदेशी यात्रुका आवश्यकता सम्बोधन गर्दै ट्राभल, टुर र भिसासम्बन्धी सेवा एउटै स्थानबाट उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको जनाइएको छ।