काठमाडौं : चालु आर्थिक वर्षको पहिलो साउन महिनामा सवा दुई खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
आर्थिक वर्ष २०८३/८४ को साउमा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भई दुई खर्ब १५ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको थियो ।
यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले वृद्धि भई एक अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २५.० प्रतिशतले बढेको थियो ।
साउनमा खुद द्वितीय आय (खुद ट्रान्सफर) दुई खर्ब २९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय एक खर्ब ९३ अर्ब ८५ करोड रहेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४२ हजार ६९३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २७ हजार ७४८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४४ हजार ४६६ र २३ हजार ६४४ रहेको थियो ।