अजम्बरी साकोसको १८औं साधारण सभा सम्पन्न, मुनाफाभन्दा सदस्य सेवामा जोड

अजम्बरी साकोसको १८औं साधारण सभा सम्पन्न, मुनाफाभन्दा सदस्य सेवामा जोड

काठमाडौं : काठमाडौं महानगरपालिका-६ बौद्धस्थित अजम्बरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सदस्यहरूको बाक्लो सहभागिताबीच सम्पन्न साधारण सभामा संस्थाले अतिथि तथा उद्घाटन सत्र नराखी मितव्ययी र सदस्यकेन्द्रित ढंगबाट सभा सञ्चालन गरेको हो।

अध्यक्ष नुर्बु लामाको सभापतित्वमा भएको साधारण सभा संस्थाका बाल बचतकर्ताबाट दीप प्रज्वलन गरी सुरु गरिएको थियो । उद्घाटनका लागि छुट्टै वक्ता तथा अतिथि नराखी सिधै साधारण सभाको मूल एजेन्डामा प्रवेश गरिएको थियो । संस्थाले विगतदेखि नै सदस्यकेन्द्रित, अतिथिरहित तथा मितव्ययी ढंगबाट साधारण सभा गर्दै आएको र यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको जनाएको छ ।

अध्यक्ष लामाले मुलुकको विषम परिस्थितिलाई ध्यानमा राख्दै कम खर्चमा छोटो समयभित्रै धेरै सदस्यको सहभागितामा साधारण सभा सम्पन्न गरिएको बताए। संस्थाको स्रोतलाई अनावश्यक खर्चमा प्रयोग नगरी सदस्यको हितमा केन्द्रित गर्ने उद्देश्यले यस्तो अभ्यासलाई निरन्तरता दिइएको उनको भनाइ थियो।

संस्थाका सचिव ग्याल्जेन शेर्पाले आगामी दिनमा सञ्चालन खर्च घटाउँदै उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउने योजना प्रस्तुत गरेका थिए। संस्थाको दिगोपनाका लागि सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, कर्मचारी तथा सदस्यलाई आवश्यक तालिम दिने, सदस्य संख्या र शेयर पुँजी वृद्धि गर्ने तथा कर्जा लगानी विस्तार गर्ने योजना पनि उनले सुनाए।

प्रमुख कार्यकारी अधिकृत गान्वा सुनुवारले सहकारीको उद्देश्य मुनाफा वितरणमा मात्र केन्द्रित हुन नहुने बताए । सदस्यलाई सेवा, सुरक्षा, राहत तथा सुविधा उपलब्ध गराएर उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु सहकारीको मुख्य दायित्व भएको उनको भनाइ थियो ।

‘सहकारी संस्था कम्पनी जस्तो बढी नाफामुखी हुनुहुँदैन,’ सुनुवारले भने, ‘सदस्यले फलानो संस्थाले यति नाफा बाँड्यो भनेर खोज्नुभन्दा संस्था दिगो छ कि छैन र आफूलाई आवश्यक सेवा तथा सुरक्षा कस्तो छ भन्ने विषयमा ध्यान दिनुपर्छ ।’

उनका अनुसार अजम्बरी साकोसले सदस्य सुरक्षा कार्यक्रमअन्तर्गत आन्तरिक कार्यविधि बनाएर विभिन्न अवस्थामा ५ हजारदेखि ५० हजार रुपैयाँसम्म नगद सहयोग गर्दै आएको छ । सदस्यको मृत्यु हुँदा २५ हजार रुपैयाँ संस्कार खर्च, प्रसुति स्याहारका लागि ५ हजार रुपैयाँ तथा २२ प्रकारका प्राणघातक रोगको उपचारका लागि ५० हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।

त्यस्तै, विभिन्न स्वास्थ्य संस्थासँग सम्झौता गरी सदस्यलाई औषधोपचार तथा शल्यक्रियामा १० देखि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । दन्त परीक्षणमा पनि २५ प्रतिशतसम्म छुट उपलब्ध गराउँदै आएको सुनुवारले बताए । यस्ता सुविधा कठिन अवस्थामा सदस्यका लागि महत्वपूर्ण हुने भएकाले आगामी दिनमा सदस्य सेवाका कार्यक्रम थप विस्तार गरिने उनले बताए ।

भोटेकोशी बाढीबाट उत्पन्न विपद्को समयमा पनि संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार रुपैयाँ सहयोग गरेको सुनुवारले जानकारी दिए । संस्थाले अन्य खर्च कटौती गरेर विपद्मा सहयोग गरेको उनले बताए ।

साधारण सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, बाह्य लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समिति तथा उपसमितिबाट भएका निर्णय, चालु आर्थिक वर्षको प्रस्तावित नीति, कार्यक्रम तथा बजेटलगायतका ११ वटा प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

सभाले आन्तरिक कार्यविधि संशोधन तथा पुनर्लेखन, गैरवित्तीय सम्पत्ति बिक्री, सदस्यता खारेजी तथा प्रमुख कार्यकारी अधिकृतको तलब–भत्ता पुनर्संरचनासम्बन्धी प्रस्तावसमेत पारित गरेको छ ।

सभामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा उपसमितिका पदाधिकारी, बाह्य लेखापरीक्षक सीए राजकुमार फुयाल र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

अजम्बरी साकोसका वित्तीय सूचक

गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार अजम्बरी साकोसको शेयर पुँजी १ करोड ९५ लाख ३५ हजार ५ सय रुपैयाँ पुगेको छ । संस्थामा ३७ करोड २४ लाख ८६ हजार ५ सय ३५ रुपैयाँ बचत निक्षेप रहेको छ ।

संस्थासँग १५ करोड ५९ लाख रुपैयाँभन्दा बढी तरलता रहेको छ भने कर्जा लगानी १९ करोड ९२ लाख ९९ हजार रुपैयाँभन्दा बढी रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा संस्थाले ३ करोड १८ लाख ९८ हजार ५ सय १८ रुपैयाँ आम्दानी गरेको सभामा जानकारी गराइएको थियो ।

अजम्बरी साकोसमा हाल १ हजार ६ सय ४२ सदस्य रहेका छन् । तीमध्ये ९ सय ४३ महिला, ६ सय ९७ पुरुष र २ संस्थागत सदस्य छन् ।

थप समाचार