पोखरा : पोखराको रुपाकोटमा सञ्चालित रुपाकोट रिसोर्ट लिमिटेडले सञ्चालन क्षमता विस्तार गर्दै ६९ कोठा पुर्याउने योजना अघि बढाएको छ। कम्पनीले हालै थप नौ वटा कोठा सञ्चालनमा ल्याएपछि रिसोर्टको कुल क्षमता ५१ कोठा पुगेको छ।
कम्पनीले ५१ कोठालाई विस्तार गरी ६९ कोठा पुर्याउनुका साथै थप रेस्टुरेन्ट निर्माण गर्ने तयारी गरेको हो । विस्तार परियोजना सन् २०२७ जुलाईको मध्यसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। रेटिङ रिपोर्टअनुसार सन् २०२६ सेप्टेम्बरसम्म परियोजनाको ८८ प्रतिशत वित्तीय प्रगति भइसकेको छ। बाँकी विस्तारका लागि आवश्यक थप लगानी इक्विटीमार्फत जुटाउने कम्पनीको योजना छ।
रुपाकोट रिसोर्टले सन् २०२६ मा ४२ वटा सञ्चालनमा रहेका कोठाबाट १३ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १० करोड रुपैयाँ रहेको थियो। एक वर्षमा कम्पनीको सञ्चालन आम्दानी ३० प्रतिशतले बढेको हो। सन् २०२४ मा कम्पनीको आम्दानी ७ करोड ४० लाख रुपैयाँ थियो ।
कम्पनीको सञ्चालन नाफामा समेत सुधार देखिएको छ। सन् २०२५ मा १३.४६ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२६ मा बढेर १४.४४ प्रतिशत पुगेको छ। त्यस्तै, नगद प्रवाह ९० लाख रुपैयाँबाट बढेर २ करोड १० लाख रुपैयाँ पुगेको छ। तर, उच्च मूल्यह्रास र ब्याज खर्चका कारण कम्पनीको खुद नाफामा भने अझै दबाब रहेको जनाइएको छ ।
कम्पनीको वित्तीय संरचनामा सन् २०२६ मा सुधार आएको छ। सो अवधिमा कम्पनीले ४२ करोड २० लाख रुपैयाँ इक्विटी थप गरेको छ। यसबाट कम्पनीको मूर्त नेटवर्थ बढ्नुका साथै ऋणको तुलनात्मक भार घटेको छ।
कम्पनीको ऋण-इक्विटी अनुपात सन् २०२५ मा ३.४३ गुणा रहेकोमा सन् २०२६ मा घटेर १.१६ गुणामा आएको छ। त्यस्तै, ब्याज कभरेज रेसियो २.५७ गुणाबाट बढेर ४.३१ गुणा पुगेको छ।
यद्यपि, ब्याज भुक्तानी क्षमतामा देखिएको सुधारको केही हिस्सा निर्माणाधीन होटल परियोजनासँग सम्बन्धित ऋणको ब्याज पुँजीकरणसँग जोडिएको उल्लेख गरेको छ। कम्पनीको कुल ऋण र नगद प्रवाहबीचको अनुपात भने ३६.८६ गुणामा रहेको छ।
कम्पनीले आगामी विस्तारका लागि थप इक्विटी लगानी गर्ने तथा प्रस्तावित आईपीओबाट प्राप्त रकमको केही हिस्सा ऋण घटाउन प्रयोग गर्ने योजना बनाएको छ।
पोखराको रुपाकोटमा रहेको रिसोर्ट पोखरा विमानस्थलबाट करिब २२ किलोमिटर दूरीमा छ। रुपा ताल करिब पाँच किलोमिटर र बेगनास ताल करिब छ किलोमिटरको दूरीमा छन्। रिसोर्टबाट हिमाली दृश्यसमेत देखिने भएकाले प्रकृति तथा फुर्सदमा आधारित पर्यटकलाई आकर्षित गर्ने सम्भावना रहेको रिपोर्टमा उल्लेख छ।
कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुसिल अधिकारी रहेका छन् भने निर्देशक तथा संस्थापक पुष्पराज अधिकारी र कार्यकारी निर्देशक मनिष अधिकारीसँग पनि पर्यटन तथा सम्बन्धित क्षेत्रमा पाँच वर्षभन्दा बढीको अनुभव रहेको छ।
रुपाकोट रिसोर्ट लिमिटेड सन् २०१२ फेब्रुअरी १३ मा निजी कम्पनीका रूपमा स्थापना भएको थियो। कम्पनी सन् २०२६ जुलाई १६ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो।
हाल कम्पनीले पोखराको रुपाकोटमा चारतारे रिसोर्ट सञ्चालन गरिरहेको छ। करिब नौ एकड क्षेत्रफलमा फैलिएको रिसोर्टमा हाल ५१ वटा कोठा सञ्चालनमा छन्।
कम्पनीले बैंकिङ बैंक कर्जा सुविधाका लागि ७८ करोड ४० लाख रुपैयाँ रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७८ करोड ४० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५० लाख रुपैयाँ बराबरको रेटिङ गराएको हो ।