वाणिज्य बैंकहरुले एक महिनामै कमाए साढे आठ अर्ब नाफा, नबिलको सर्वाधिक 

वाणिज्य बैंकहरुले एक महिनामै कमाए साढे आठ अर्ब नाफा, नबिलको सर्वाधिक 

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो साउन महिनामा वाणिज्य बैंकहरुले साढे आठ अर्ब रुपैयाँ नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म बैंकहरुले आठ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ नाफा कमाएका हुन् । 

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ४.२३ प्रतिशतले बढी हो । गत वर्षको साउन मसान्तसम्म बैंकहरुले आठ अर्ब ३८ करोड २९ लाख रुपैयाँ नाफा कमाएका थिए ।

यस अवधिमा आइपुग्दा १३ बैंकहरुको नाफा बढेको छ भने सात वटाको नाफा घटेको छ । सर्वाधिक नाफा बढाउनेमा कृषि विकास बैंक रहेको छ । बैंकको नाफा गत वर्षको तुलनामा १०२५४.४० प्रतिशतले बढेको हो । साउन मसान्तसम्म आइपुग्दा नेपाल बैंकको नाफा ४४.१६ प्रतिशतले घटेको छ । 

कुन बैंकले कति कमाए ?

यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । चालु आवको साउन मसान्तसम्म बैंकले ८८ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको हो । जुन गत वर्षको तुलनामा २३.२८ प्रतिशतले बढी हो ।

गत वर्ष ७८ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको ग्लोबल आईएमई बैंकले यस अवधिमा ८१ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । जुन ३.७० प्रतितशले बढी हो ।

राष्ट्र बैंकका अनुसार कुमारी बैंकको नाफा १११.१०  प्रतिशतले बढेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा १५.८० प्रतिशतले बढेको छ । त्यस्तै लक्ष्मी सनराइज बैंकको नाफा २५.९३ प्रतिशत र नेपाल एसबिआई बैंकको नाफा १०.६९ प्रतिशतले बढेको छ । 

नाफा घटेका बैंकहरु 

साउन मसान्तसम्म आइपुग्दा सात वाणिज्य बैंकहरुको नाफा घटेको छ । यस अवधिमा आइपुग्दा स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन, राष्ट्रिय वाणिज्य, सानिमा, एनआईसी एशिया, नेपाल बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको नाफा घटेको हो ।

राष्ट्र बैंकका अनुसार चालु आवको यस अवधिमा बैंक तथा वित्तीय संस्थाले नौ अर्ब ४९ करोड १० लाख रुपैयाँ नाफा कमाएका छन् । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १.२३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले ९ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएका थिए । 

यस अवधिमा वाणिज्य बैंकहरुको नाफा आठ अर्ब ७३ करोड, विकास बैंकहरुको नाफा ७२ करोड र फाइनान्सहरुको नाफा दुई करोड ९० लाख रुपैयाँ रहेको छ ।
 

थप समाचार