काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य सेवा केन्द्र, साँखुले आफ्नो ९औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ।
वार्षिकोत्सवको अवसरमा उग्रतारा माध्यमिक विद्यालय, शङ्करापुर-८ मा विद्यार्थी लक्षित वित्तीय शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। कार्यक्रममा संस्थाका सचिव विकल्प पाठकले वित्तीय शिक्षा सम्बन्धी प्रस्तुतीकरण गर्दै बचत गर्ने बानी, बचतको महत्त्व, बजेट तथा वित्तीय व्यवस्थापन, आर्थिक अनुशासन र ऋणको सही सदुपयोगलगायतका विषयमा विद्यार्थीलाई जानकारी गराएका थिए।
पाठकले वर्तमान समयमा प्रयोगमा रहेका विभिन्न डिजिटल प्रविधिको सुरक्षित, जिम्मेवार र विवेकपूर्ण प्रयोगका विषयमा समेत विद्यार्थीलाई अभिमुखीकरण गरेका थिए। त्यसैगरी, संस्थाका प्रशासन प्रमुखले विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्दै वित्तीय ज्ञान, व्यवहारिक जीवनमा आर्थिक अनुशासन तथा प्रविधिको सुरक्षित प्रयोगसम्बन्धी विषयमा छलफल गरेका थिए।

कार्यक्रममा संस्थाका सञ्चालक पार्वती मानन्धर, उपसमिति सदस्य सरला खड्का, उच्च व्यवस्थापन तहका कर्मचारी तथा अन्य कर्मचारीहरूको उपस्थिति थियो। संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा अध्ययनरत न्यून आयस्रोत भएका पाँच परिवारका जेहेन्दार विद्यार्थीलाई प्रोत्साहनस्वरूप आर्थिक सहयोगसमेत प्रदान गरिएको थियो।
कार्यक्रम व्यवस्थापनमा सदस्य सेवा केन्द्र, साँखुका सेवा केन्द्र प्रमुख श्रीलाल श्रेष्ठले सक्रिय भूमिका निर्वाह गरेका थिए। उनले संस्थाको नौ वर्षे यात्रामा कर्मचारीहरूको योगदान, मेहनत र समर्पणको प्रशंसा गर्दै संस्था र सेवा केन्द्रलाई निरन्तर साथ तथा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका थिए।
आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह, उत्कृष्ट कार्यसम्पादन र सशक्त टिमवर्कका साथ अघि बढ्न कर्मचारीहरूलाई शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रमको समापनमा प्रबन्धक घनश्याम नेपालले धन्यवाद ज्ञापन गरेका थिए। त्यसपछि सदस्य सेवा केन्द्र, साँखुमा सम्पूर्ण कर्मचारीको सहभागितामा ९औँ वार्षिकोत्सवको विशेष समारोहसमेत आयोजना गरिएको थियो।
९ वर्ष पूरा गरी १०औँ वर्षमा प्रवेश गरेको अवसरमा सदस्य सेवा, वित्तीय शिक्षा, सामाजिक उत्तरदायित्व र उत्कृष्ट कार्यसम्पादनलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको हो।