काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा नेपालले चार खर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार भदौ मसान्तसम्म नेपालले चार खर्ब एक अर्ब ५१ करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको हो ।
गत वर्षको तुलनामा आयात ३१.५८प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा नेपालले तीन खर्ब पाँच अर्ब १५ करोड ५० लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।
यस अवधिमा नेपालले ७६ अर्ब ५८ करोड ७५ लाख ३९ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । गत वर्षको निर्यात व्यापार ६१.८६ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा नेपालले ४७ अर्ब ३१ करोड ७६ लाख ६३ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।
चालु आवको दोस्रो महिनामा साढे चार खर्ब रुपैयाँको वैदेशिक व्यापारमा नेपालले तीन खर्ब २४ अर्ब ९३ करोड १४ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । गत वर्षको तुलनामा व्यापार घाटा २६.०२ प्रतिशतले बढेको छ । गत वर्ष नेपालले दुई खर्ब ५७ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
यस अवधिमा नेपालको वैदेशिक व्यापार ३५.६४ प्रतिशतले बढेको छ । भदौ मसातसम्म नेपालले चार खर्ब ७८ अर्ब १० करोड ६५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत वर्ष मुलुकले तीन खर्ब ५२ अर्ब ४७ करोड २७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
यस अवधिमा नेपालले १२६ देशसँगको वैदेशिक व्यापार गरेको छ । जसमध्ये २७ देशसँगको व्यापार नाफामा छ भने ९९ देशसँगको व्यापार घाटामा रहेको छ ।