पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालन पूर्ण रूपमा रोक

पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालन पूर्ण रूपमा रोक

काठमाडौं : अविरल बर्षाका कारण देशका प्रमुख राजमार्गहरु प्रभावित भएका छन् । काठमाडौं जोड्ने केही राजमार्ग अवरुद्ध भएपनि केही भने संचालनमा छन् । 

कान्तिलोकपथ : मकवानपुरतर्फको सडकखण्ड हाल सञ्चालनमा रहेको जनाइएको छ। तर, ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँचधुरे, पयाङधुर र टिकाभैरव क्षेत्रमा सडक माथिबाट पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको जानकारी बिहान ६ः१५ बजे भट्टेडाँडा, ललितपुरबाट प्राप्त भएको प्रहरीले जनाएको छ।

हेटौँडा-भीमफेदी-कुलेखानी-फाखेल-सिस्नेरी सडकःहालसम्म सडकमा पहिरो नखसेको र यातायात सञ्चालनका लागि बाटो खुला रहेको जनाइएको छ।

त्रिभुवन राजपथ स् हालसम्म पहिरोका कारण सडक अवरुद्ध नभएको र यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

पृथ्वी राजमार्गः धादिङको कृष्णभीर नजिक तथा ज्यामिरे क्षेत्रमा पहिरो खसेर सडक दुईतर्फी रूपमा अवरुद्ध भएको जानकारी प्राप्त भएको छ ।

साथै, जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रशासन कार्यालय धादिङले छुट्टाछुट्टै सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालन पूर्ण रूपमा रोक लगाएको जनाइएको छ।

सम्भावित बाढीपहिरो तथा सडक अवरोधको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री तथा ट्राफिक प्रहरी निरीक्षक रमेश विष्ट सहितको प्रहरी टोली फिल्डमा खटिएको छ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जिल्लाभित्रका सडक तथा जोखिमयुक्त क्षेत्रको अवस्था निरन्तर निगरानी भइरहेको जानकारी दिए । 

प्रहरीले वर्षाका कारण जुनसुकै बेला सडक अवरुद्ध हुन सक्ने भएकाले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्भावित विपद्को अवस्थामा उद्धार तथा राहतका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको जनाइएको छ।