स्वस्तिक फ्लोर मिल्सको व्यापार १३ प्रतिशतले बढ्यो, डेढ अर्ब नजिक कारोबार 

स्वस्तिक फ्लोर मिल्सको व्यापार १३ प्रतिशतले बढ्यो, डेढ अर्ब नजिक कारोबार 

काठमाडौं : स्वस्तिक फ्लोर मिल्स प्राइभेट लिमिटेडले सन् २०२६ मा एक अर्ब ४६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले बढी हो । 

कम्पनीले सन् २०२५ मा एक अर्ब २९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । यसअघि सन् २०२४ मा कम्पनीले ८२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । व्यापारसँगै कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि सुधार देखिएको छ । 

सन् २०२५ मा २.५५ प्रतिशत रहेको कम्पनीको सञ्चालन नाफा मार्जिन सन् २०२६ मा बढेर ३.२६ प्रतिशत पुगेको छ। तर, आम्दानी र सञ्चालन मार्जिनमा सुधार आए पनि कम्पनीको नाफा अझै सीमित रहेको छ। 

कम्पनीको ऋणमा निर्भरता भने केही घटेको देखिएको छ। सन् २०२५ मा ४.०५ गुणा रहेको समग्र गियरिङ अनुपात सन् २०२६ मा ३.७५ गुणामा झरेको छ। त्यस्तै, ब्याज कभरेज अनुपात पनि १.२० गुणाबाट बढेर १.३२ गुणा पुगेको छ।

नेपालका फ्लोर मिलहरूले भारतबाट ठूलो मात्रामा गहुँ आयात गर्ने भएकाले भारतको निर्यात नीति तथा नेपालको आयातसम्बन्धी कर र अन्य नीतिगत व्यवस्थाले कच्चा पदार्थको उपलब्धता र लागतमा प्रत्यक्ष प्रभाव पार्ने रिपोर्टमा उल्लेख छ । भारतले सन् २०२२ मा गहुँ निर्यातमा लगाएको प्रतिबन्धका कारण नेपाली उद्योगले कच्चा पदार्थको उपलब्धतामा समस्या बेहोर्नुपरेको थियो। 

पछि भारतले सन् २०२५ को जनवरीमा कोटामार्फत नेपालका लागि २ लाख मेट्रिक टन गहुँ निर्यात गर्न अनुमति दिएको थियो। यद्यपि, आगामी दिनमा निर्यात नीति, कोटा, आयात शुल्क वा अन्य नियामकीय व्यवस्थामा हुने परिवर्तनले कम्पनीको लागत र वित्तीय प्रदर्शनमा असर पार्न सक्ने जोखिम कायमै रहेको छ।

कम्पनीका अध्यक्ष हेमन्त कुमार अग्रवाल रहेका छन् । उनी स्वस्तिक ट्रेडर्ससँग समेत आबद्ध छन्। स्वस्तिक फ्लोर मिल्सले १ किलोदेखि ५० किलोसम्मका विभिन्न प्याकेजिङमा आफ्ना उत्पादन बिक्री गर्दै आएको छ। कम्पनीले घरायसी उपभोक्ताका साथै बिस्कुट, चाउचाउ, बेकरी तथा रेस्टुरेन्टलगायतका औद्योगिक ग्राहकलाई समेत बजार विस्तार गर्न सहयोग गरेको छ।  

कम्पनीको उत्पादन केन्द्र सुनसरीको इटहरी-१३ मा रहेको छ। तराई क्षेत्रमा रहेको स्थानका कारण गहुँजस्ता कच्चा पदार्थको खरिद तथा ढुवानीमा तुलनात्मक सुविधा प्राप्त हुने कम्पनीको दाबी छ। कम्पनीले आफ्ना उत्पादन नेपालका प्रमुख शहरसहित देशका विभिन्न बजारमा प्रत्यक्ष मार्केटिङमार्फत बिक्री गर्दै आएको छ।

स्वस्तिक फ्लोर मिल्स प्राइभेट लिमिटेड सन् २०२१ अक्टोबर २४ मा स्थापना भएको हो भने २०२३ सेप्टेम्बर १७ देखि व्यावसायिक उत्पादन सुरु गरेको हो। कम्पनीले मैदा, आटा, सुजी तथा उपउत्पादनका रूपमा चोकर उत्पादन गर्दै आएको छ। कम्पनीको इटहरीस्थित कारखानामा वार्षिक ६,६०० मेट्रिक टन मैदा, २४० मेट्रिक टन सुजी र ३,१६० मेट्रिक टन आटा उत्पादन गर्ने जडित क्षमता रहेको छ। 

कम्पनीको बैंकिङ कर्जा सुविधाका लागि ७३ करोड ८ लाख ६० हजार रुपैयाँ बराबरको रेटिङ गराएको छ। यसअघि कुल बैंकिङ सुविधा ७४ करोढ ५९ लाख ७० हजार रुपैयाँ रहेको थियाृे । दीर्घकालीन बैंकिङ सुविधा २४ करोड ५९ लाख ७० हजार रुपैयाँबाट घटेर २३ करोड ८ लाख ६० हजार रुपैयाँ कायम रहेको छ भने ५० करोडको अल्पकालीन बैंकिङ सुविधा भने यथावत् छ।
 

थप समाचार