आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्दै नेपाल, वार्षिक तीन करोड डलर भित्र्याउने लक्ष्य 

आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्दै नेपाल, वार्षिक तीन करोड डलर भित्र्याउने लक्ष्य 

जीवन विज्ञान अभियानका संस्थापक एलपी भानु शर्माको शब्द सापटी लिने हो भने आरोग्य बहुआयामिक विषय भएकाले यसका आयामहरू शारीरिक, मानसिक, वातावरणीय, सामाजिक, भावनात्मक र आध्यात्मिक हुन्छन् । प्रत्येक मानिस आरोगी वा स्वस्थ हुन चाहन्छ । वास्तविक आरोग्य प्राप्त गर्न शरीर मात्र स्वस्थ भएर हुँदैन, व्यक्तिको मन, मस्तिष्क, शरीर, वचन र कर्म नै स्वस्थ हुनुपर्दछ, उसको भावना र चेतना स्वस्थ हुनुपर्दछ भन्नेमा शर्माको स्पष्ट दृष्टिकोण छ ।

वास्तवमा आरोग्य (वेलनेस) वहुआयामिक क्षेत्र भएकाले यो पर्यटको ब्राण्ड बन्नसक्ने आधारहरु अध्यात्म क्षेत्रका व्यक्तिहरुले दशक अघिदेखि उठाउँदै आएको विषय हो । नेपालको पर्यटनमा प्राकृतिक, भौगोलिक र जैविक विविधतादेखि सामाजिक रहनसहन संस्कृति, साहसिक पर्यटन जस्ता विविध क्षेत्रलाई आरोग्यसँग जोडेर प्रवद्र्धन गर्न सकिने आवाज पनि उठिरहेको छ । 

वास्तवमा पर्यटन विकासका लागि कुनै एउटा ‘ब्राण्ड’ हुनु जरुरी भएपनि नेपालको प्राकृतिक सौन्दर्य र सामाजिक–सांस्कृतिक सम्पदालाई नै पर्यटनको मूल स्रोतका रूपमा प्रचारप्रसार हुँदै आइरहेको छ । यसभित्र अब आरोग्यलाई पर्यटनको ब्राण्ड बनाउन सकिने असीम आधारहरु खडा हुँदै आएको छ ।

विश्वमा आरोग्य अर्थतन्त्रको ग्राफ बढ्दै गइरहेको र ग्लोबल वेलनेस इन्स्टिच्युटका अनुसार विश्वका १४३ देशमध्ये नेपाल आरोग्य अर्थतन्त्रको सूचकांकको उच्च स्थानमा रहेको देखाइएको पनि छ । यि विविध सन्दर्भहरुलाई माध्यम बनाएर नेपाल सरकारले यसलाई प्राथमिकता दिदैँ नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा उभ्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ ।

मन र आत्मालाई शान्ति दिने ‘आरोग्य’को खोजीमा रहेका पर्यटकलाई नेपालमै भूल्याउने उद्देश्यले बालेन्द्र शाह नेतृत्वको सरकारले मुलुकलाई ‘आरोग्य पर्यटन’ को गन्तव्यका रुपमा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने योजना समेत बनाएको छ । 

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया भन्छन्,‘आरोग्य केवल सेवा होइन, हाम्रो जीवनशैली हो । नेपालको माटो, संस्कृति, ऐतिहासिकता र यहाँको सदियौँ पुरानो जीवनशैलीको समग्र रूप हो । त्यसैले आरोग्य पर्यटनलाई केवल स्पा, सेलुन वा केही दिनको योग शिविरमा मात्र सीमित बनाउन हुँदैन । यसको ब्रान्डिङ गर्न सोही अनुसारको अवधारणा तयार गर्नुपर्छ ।’

राष्ट्रिय रणनीति र योजना

नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘राष्ट्रिय आरोग्य पर्यटन रणनीति सन् २०२६-०३५ साथै कार्ययोजना २०२६–०३०’ नै तयार गरेर काम समेत सुरु गरिसकेको छ ।

सन् २०३० पछि वार्षिक १० हजारभन्दा बढी आरोग्य पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले पहिलोपटक १० वर्षे रणनीति तयार पारेको मात्र छैन उनीहरूबाट वार्षिक २ देखि ३ करोड अमेरिकी डलर आम्दानी गर्ने लक्ष्य समेत लिएको छ ।

कार्ययोजनामा पाँच वर्षभित्र नेपालको आरोग्य पर्यटन क्षेत्रमा गरिने काम, आउने पर्यटक र उनीहरूबाट हुने आम्दानीको लक्ष्य राखिएको छ । ‘आरोग्य पर्यटन गन्तव्य नेपाल, आर्थिक समृद्धिको आधार’ दूरदृष्टि राखेर रणनीति तयार पारिएको छ । 

सरकारले सन् २०२७ लाई ‘नेपाल आरोग्य वर्ष, २०२७’ मनाउने घोषणा नै गरिसकेको छ । आरोग्य पर्यटकको संख्या बढाउने र त्यसका लागि पूर्वाधारहरू तयार गर्न पाँच स्थान पहिचान नै गरेको छ । त्यस्तै सन् २०३० सम्ममा आरोग्य उन्मुख पर्यटकको संख्या ११ प्रतिशतसम्म वृद्धि गर्ने लक्ष्य छ ।

कम्तीमा पाँच ओटा प्रमुख क्षेत्रमा एकीकृत आयोग्य केन्द्र स्थापना गर्ने भनिएको छ । आरोग्य क्षेत्रका पर्यटकको सन्तुष्टि स्तर १० मा ८ दशमलव ५ प्रतिशतभन्दा माथि पुर्याउने, सन् २०३० सम्ममा राष्ट्रिय मान्यताप्राप्त कार्यक्रममार्फत दुई हजार नयाँ आरोग्य जनशक्तिलाई तालिम तथा प्रमाणपत्र दिने र आरोग्य पर्यटन क्षेत्रको नयाँ रोजगारी कम्तीमा ३० प्रतिशत महिला, युवा र स्थानीय समुदायका व्यक्तिहरूलाई उपलब्ध गराउने कार्ययोजनाको लक्ष्य छ ।

आरोग्य पर्यटनको बजार परिपक्वता र नेतृत्व भने सन् २०३० पछिको चरणमा हुने सरकारको अनुमान छ । यस चरणमा सबै विधा र विविध प्रकारका पाहुना समेटिने गरी २५ भन्दा बढी विशिष्ट आरोग्य कार्यक्रम सञ्चालन गरिनेछ । आरोग्य पदयात्रा, हिमाली आयुर्वेद र भिक्षु ध्यान अभ्यासलाई मुख्य आधार बनाएर नेपाललाई विश्वकै अग्रणी गन्तव्यका रूपमा स्थापित गराउने भनिएको छ । 

सरकारले आरोग्य पर्यटन लक्षित सेवासुविधाको विस्तार सन् २०२९ सम्ममा गरिने र यस अवधिमा ४० भन्दा बढी प्रामाणिक अपरेटरसहित प्रमुख पर्यटकीय केन्द्रमा १० भन्दा बढी मौलिक सेवासुविधा विस्तार गर्ने लक्ष्य सरकारको छ । 

साथै पाइलट परियोजनामार्फत नेपाललाई प्रमुख आरोग्य यात्रा गन्तव्यका रूपमा स्थापित गर्न निजीक्षेत्रसँग साझेदारीमा हुने अनुमान छ । सन् २०२७ को अन्त्यसम्ममा पोखरा वा काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको रिट्रिट स्थापना गर्न निजीक्षेत्रसँग साझेदारी गरिनेछ । प्रमुख हिमाली क्षेत्रमा आरोग्य रिट्रिट केन्द्र स्थापना गरिने र त्यस केन्द्रले स्पा, योग, ध्यान र समय उपचारको पूर्ण प्याकेज प्रदान गर्ने, लुम्बिनीमा आरोग्य ग्राम स्थापना गरिने साथै बुटिक हिल स्टेशन आरोग्य ग्राम स्थापना गर्ने सरकारको योजना छ ।

सरकारले आरोग्य पर्यटन स्रोत बजार पनि पहिचान गरेको छ । उक्त रणनीतिले मुलुकको आरोग्य पर्यटनका लागि पर्यटक समूह पनि पहिचान गरेको छ । त्यसअन्तर्गत अन्तर्राष्ट्रिय योग अभ्यासकर्ता, आध्यात्मिक साधक तथा अभ्यासी, स्वास्थ्य तथा आरोग्य पर्यटक, साहसी तथा आरोग्यको मिश्रण रुचाउने पर्यटक, स्पा तथा मनोरञ्जन आरोग्य पर्यटक, कर्पोरेट आरोग्य समूह र पारिवारिक आरोग्य पर्यटक समूह पर्छन् । तर नेपाल पर्यटन बोर्डले हाल नेपाल आउने कुल विदेशी पर्यटकमा दुई प्रतिशतजति मात्रै आरोग्य पर्यटक रहने अनुमान गरेको छ ।

बदलिँदो परिभाषा

हालसम्म पर्यटनको मुख्य उद्देश्य मनोरञ्जन र घुमफिर थियो । पर्यटनको परिभाषाभित्र मनोरञ्जन र घुमफिर मात्र समेटिन्थ्यो । तर आरोग्य पर्यटनबारे वहस र रणनीतिक योजनाहरुको काम सुरु भएपछि यसको परिभाषा बदलिंदो क्रममा छ । 

अहिले पर्यटकहरू स्वास्थ्य, मानसिक शान्ति, आत्मिक ऊर्जा र जीवनशैली सुधारका लागि यात्रा गर्ने र योग, ध्यान, आयुर्वेद, प्राकृतिक उपचार, आध्यात्मिक साधना र प्रकृतिसँग सामीप्यताका लागि यात्रा गर्ने गरेका छन् ।

योग र ध्यानका लागि आवश्यक शान्त वातावरण, स्वच्छ हावा, प्राकृतिक ऊर्जा र आध्यात्मिक अनुभूति नेपालका धेरै क्षेत्रमा सहजै प्राप्त गर्न सकिने भएकाले अब पर्यटनको परिभाषा बदल्नुपर्ने आवाज उठेको छ । योगाचार्य राजन शर्माका अनुसार नेपाललाई योग र ध्यान केन्द्रित आरोग्य पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ । ‘अध्यात्म हाम्रो भूमिको पहिचान हो । योग, ध्यान, अर्गानिक जीवनशैली र नेपाली संस्कारलाई पर्यटनसँग जोडेर संसारलाई नेपाल फरक र विशिष्ट गन्तव्य हो भन्ने सन्देश दिन सकिन्छ,’ उनको भनाइ छ ।

सम्भावित गन्तव्य

सरकारले आरोग्य पर्यटनलाई प्राथमिकता दिएपछि नेपाल पर्यटन बोर्डले प्रवद्र्धनका कार्यक्रमहरु र संभावित गन्तब्यहरुका बारेमा अध्ययन सुरु गरेको छ । बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार आगामी १० वर्षमा नेपाललाई वेलनेस डेस्टिनेसनका रूपमा स्थापित गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि बढाउने योजना पनि छ । 

‘नेपाल आउने धेरै पर्यटक प्रकृतिको नजिक हुन, मानसिक शान्ति प्राप्त गर्न र फरक जीवन अनुभव लिन आउँछन् । ट्रेकिङ, होमस्टे, ध्यान, योग र अध्यात्मलाई एउटै प्याकेजमा जोड्न सकियो भने नेपाल विश्वकै प्रमुख वेलनेस गन्तव्य बन्न सक्छ,’ उनले भने । सोही अनुसार बोर्डले गन्तब्य पहिचानको प्रक्रिया सुरु भएको छ ।

लुम्बिनी स् शान्ति र ध्यानको उद्गम स्थलका रुपमा मानिने लुम्बिनी आरोग्य पर्यटनको प्रमुख गन्तब्य बन्नसक्छ । भगवान बुद्धको जन्मस्थल भएकाले लुम्बिनी विश्वकै महत्वपूर्ण आध्यात्मिक केन्द्र पनि हो । विभिन्न देशले निर्माण गरेका बौद्ध विहार, ध्यान केन्द्र र मेडिटेसन क्याम्पहरूले हजारौं विदेशी साधकलाई आकर्षित गरिरहेकाले लुम्बिनी आरोग्य गन्तब्य बन्नसक्छ ।

पोखरा स् प्राकृतिक सौन्दर्यता र सुविधाका हिसाबले पोखरा अधिकांश पर्यटकको रोजाइमा छ । पोखरा अहिले नेपालकै प्रमुख आरोग्य गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । फेवातालको किनार, हिमालको दृश्य र शान्त वातावरणले यहाँ योग र ध्यान अभ्यासलाई विशेष बनाउने गरेको छ । लेकसाइड क्षेत्रमा योग रिट्रिटहरू, आयुर्वेद मसाज र साउन्ड हेलिङ सेन्टरहरूले पर्यटकलाई भुल्याइरहेको छ ।

खप्तड स् प्राकृतिक ध्यान केन्द्रका रुपमा मानिएको खप्तड राष्ट्रिय निकुञ्ज सुदूरपश्चिमको अनुपम गन्तव्य हो । विशाल घाँसे मैदान, स्वच्छ वातावरण र आध्यात्मिक महत्तवका कारण खप्तडलाई प्राकृतिक ध्यान केन्द्रका रूपमा विकास गर्दै आरोग्य गन्तब्यका रुपमा विकास हुने संभावना छ । कर्णाली र सुदुरपश्चिमका हरियाली फाँट र मनोरम स्थलहरु आरोग्यका गन्तब्य बन्नसक्छन् । 

इलाम स् चिया बगान र हरियाली प्रकृतिले भरिभराउ इलाम आरोग्य पर्यटनको संभावित गन्तब्यका रुपमा लिइएको छ । भौगोलिक बनोट र उत्पादित चिया, अलैँची लगायतका कारण सुधारिएको जीवनशैलीसँग आरोग्य पर्यटनलाई जोड्न सकिने इलामका होटल व्यवसायी विजय राईको भनाइ छ ।

‘जैविक विविधता, जातीय संस्कृति, प्राकृतिक सुन्दरता साथै सन्दकपुर, माईपोखरी, सिद्धिथुम्का, अन्तुडाँडा, छिन्तापु, इलाम पाथीभरा, टोड्के झरना, कन्याम, फिक्कल, माङमालुङ, माबुथाम, गजुरमुखी आदी आरोग्य पर्यटकका लागि उपयुक्त छन्,’ उनले भने ।

काठमाडौं र आसपासका स्थानः काठमाडौं र नजिकका स्थानहरु आरोग्य गन्तब्यका लागि उपयुक्त मानिन्छ । उपत्यकाको दक्षिणी क्षेत्रमा रहेको फर्पिङ, त्यस आसपासका गुम्बा, ध्यान केन्द्र र गुरु पद्मसम्भवसँग सम्बन्धित धार्मिक स्थलहरू विदेशी साधकहरूको आकर्षणको केन्द्र बन्ने गरेका छन् ।

त्यस्तै नमोबुद्ध, स्वयम्भू, सेतो गुम्बा, बौद्ध जस्ता स्थानहरु शान्ति र करुणाको प्रतीकका रुपमा लिइएकाले ति स्थानहरु आरोग्य गन्तब्यका रुपमा विकास गर्न सकिने संभावनाहहरु छन् । ति स्थानको हरियाली वातावरण, पहाडी दृश्य र आध्यात्मिक वातावरणले पर्यटकलाई भुल्याउन सहयोग पुग्नेछ ।

आध्यात्मिक खोजीका लागि विश्वप्रसिद्ध मानिएको ओशो तपोवन, विपश्यना ध्यान केन्द्र ध्यान शिविरका रुपमा चर्चित छन् । काठमाडौंबाट नजिकै रहेका पहाडी स्टेसनहरू, इको-रिसोर्टहरू र सांस्कृतिक सम्पदाहरु आरोग्यका विन्दु बन्नसक्छन् । त्यसबाहेक हिमाली पदमार्गहरुले प्रकृतिसँग नजिक हुने, शरीरलाई सक्रिय बनाउने र मानसिक शान्ति प्राप्त अवसर हुने भएकाले आरोग्य गन्तब्य हुन् ।

त्यतिमात्र होइन नेपालमा एक सयभन्दा बढी आयुर्वेदिक केन्द्र, पञ्चकर्म, शिरोधारा, साउण्ड थेरापी, योगथेरापी र हर्बल मालिसजस्ता सेवा दिइरहेका केन्द्रहरु आरोग्य पर्यटकका जक्सन बन्नसक्छन् । त्यस्तै ठूला तारे होटेलहरूमा विश्वस्तरीय लक्जरी स्पा सेवाहरू पर्यटकको रोजाइमा पर्नसक्छन् ।

छिमेकी देश भारतले योगलाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाइसकेको र चीनले थर्मल स्पा र प्राकृतिक उपचारलाई प्राथमिकता दिएकाले आरोग्य गन्तब्यका रुपमा विकास गर्दै गइरहेका बेला नेपालले आफ्नो मौलिक पहिचान, प्राकृतिक जडीबुटी, जैविक जीवनशैली र आध्यात्मिक संस्कृतिलाई आरोग्य पर्यटनका रुपमा विकास गर्ने संभावना छ ।