काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन इजाजतपत्र नवीकरणका लागि आवश्यक कागजातसहित आवेदन पेस गर्न सूचना जारी गरेको छ।
प्राधिकरणले आ.व. २०८२/८३ मा सञ्चालन इजाजतपत्र प्राप्त गरेका सहकारी संस्थाले २०८३ असोज मसान्तसम्म तोकिएको ढाँचाअनुसार आवेदन पेस गर्नुपर्ने जनाएको छ।
प्राधिकरणका अनुसार नवीकरणका लागि संस्थाको सञ्चालन इजाजतपत्रको प्रतिलिपि, आ.व. २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनको वासलात विवरण देखिने प्रमाणित पृष्ठ, आ.व. २०८१/८२ को करचुक्ता प्रमाणपत्र, सञ्चालक समितिका पदाधिकारी निर्वाचनसम्बन्धी निर्णयको प्रतिलिपि लगायतका कागजात पेस गर्नुपर्नेछ।
त्यसैगरी, ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२’ को दफा ३क बमोजिम सञ्चालक पदाधिकारी तथा व्यवस्थापकको फिट एन्ड प्रोपर टेस्टसम्बन्धी कागजात, प्रहरी प्रतिवेदन, कारोबार कर्जा सूचना केन्द्रबाट प्रमाणित कागजात, तोकिएको स्वघोषणा तथा संस्थाको वासलातका आधारमा तयार गरिएको नवीकरण दस्तुरसम्बन्धी विवरण पनि पेस गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
तोकिएको अवधिभित्र नवीकरणका लागि आवेदन पेस नगरेमा नियमावलीबमोजिम थप दस्तुर लाग्ने सूचनामा उल्लेख छ।
प्राधिकरणले दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ मा सातौँ संशोधनको सूचना जारी हुनुअघि सञ्चालक समितिको निर्वाचनबाट निर्वाचित भई कार्यकाल बाँकी रहेका पदाधिकारीको हकमा फिट एन्ड प्रोपर टेस्टसम्बन्धी शैक्षिक योग्यता लागू नहुने समेत स्पष्ट पारेको छ।
