धितोपत्र दलाललाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन नयाँ नीति, ब्रोकरको पुनःवर्गीकरण गरिने

धितोपत्र दलाललाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन नयाँ नीति, ब्रोकरको पुनःवर्गीकरण गरिने

काठमाडौं :  नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायलाई थप व्यवस्थित, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ लागू गरेको छ।

बोर्डका अनुसार नीति अर्थ मन्त्रालयबाट जारी ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को बुँदा नं. ३ मा उल्लेख भएको धितोपत्र दलाल व्यवसायको संस्थागत सुधार तथा सुदृढीकरणसम्बन्धी व्यवस्था कार्यान्वयन गर्ने उद्देश्यले ल्याइएको हो।

बोर्डले विद्यमान धितोपत्र दलाल व्यवसायीलाई नयाँ मापदण्डमा ल्याउन संक्रमणकालीन अवधि उपलब्ध गराउँदै Gap Assessment Compliance Plan, पुँजी तथा प्रविधि स्तरोन्नति र पुनःवर्गीकरण लगायतका प्रक्रिया अघि बढाउने जनाएको छ।

धितोपत्र दलाल व्यवसाय सुदृढीकरणको प्रक्रिया संस्थागत सुदृढीकरण, बजार सेवा विस्तार तथा एकीकृत धितोपत्र मध्यस्थता प्रणालीको विकास गरी तीन चरणमा क्रमशः कार्यान्वयन गरिने बोर्डले जनाएको छ।

नयाँ नीतिले धितोपत्र दलाल व्यवसायीलाई पुँजी, जोखिम वहन क्षमता, सेवा विविधीकरण र संस्थागत क्षमताका आधारमा चार वर्गमा वर्गीकरण गर्ने व्यवस्था गरेको छ। जसअनुसार ‘क’ वर्गमा धितोपत्र व्यापारी, ‘ख’ वर्गमा पूर्ण सेवा धितोपत्र दलाल, ‘ग’ वर्गमा कारोबारमुखी धितोपत्र दलाल र ‘घ’ वर्गमा विशिष्टीकृत धितोपत्र दलाल रहने प्रस्ताव गरिएको छ।

बोर्डका अनुसार नीतिले मार्जिन कारोबार, धितोपत्र सापटी तथा उधारो, सर्ट सेलिङ, अन्तरदिवसीय कारोबार तथा बजार निर्माता जस्ता गतिविधिका लागि छुट्टाछुट्टै स्वीकृति आवश्यक पर्ने व्यवस्था गरेको छ। ग्राहकका गुनासा व्यवस्थापन, लगानीकर्ता क्षतिपूर्ति कोष तथा ग्राहकलाई दैनिक वा वास्तविक समयको विवरण उपलब्ध गराउने व्यवस्था पनि नीतिमा समेटिएको छ।

संकटग्रस्त धितोपत्र दलाल व्यवसायीको व्यवस्थापनका लागि Resolution Framework सम्बन्धी व्यवस्था समेत नीतिमा समावेश गरिएको बोर्डले जनाएको छ।

त्यस्तै, धितोपत्र दलाल व्यवसायीको न्यूनतम चुक्ता पुँजीसँगै जोखिममा आधारित पुँजी पर्याप्तता कायम गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रविधि तथा साइबर सुरक्षालाई समेत नीतिले प्राथमिकतामा राख्दै डिजिटल केवाईसी, मल्टी-फ्याक्टर अथेन्टिकेसन, अडिट तथा जोखिम व्यवस्थापन प्रणाली, साइबर सुरक्षा संरचना र नियमित आईटी अडिट तथा पेनिट्रेसन टेस्टिङलाई अनिवार्य बनाउने प्रस्ताव गरेको छ।

बोर्डले पर्याप्त पुँजी, व्यावसायिक व्यवस्थापन, आधुनिक प्रविधि, सबल जोखिम व्यवस्थापन, निष्पक्ष बजार आचरण तथा उच्चस्तरीय ग्राहक संरक्षणमा आधारित सुदृढ, संस्थागत र प्रतिस्पर्धी धितोपत्र दलाल व्यवसायको विकास गर्ने उद्देश्यले नीति कार्यान्वयनमा ल्याइएको जनाएको छ।

साथै, विद्यमान दलाल व्यवसायीलाई नयाँ मापदण्डमा रूपान्तरणका लागि आवश्यक संक्रमणकालीन व्यवस्था गर्दै व्यवसायलाई थप व्यावसायिक र व्यवस्थित बनाउने प्रक्रिया अघि बढाइने बोर्डको भनाइ छ। नीति कार्यान्वयनसँगै धितोपत्र दलाल व्यवसायको संस्थागत क्षमता, सेवा विस्तार र एकीकृत मध्यस्थता प्रणालीको विकासलाई क्रमशः अघि बढाइने जनाइएको छ।

थप समाचार