सुर्खेत : हिमपातका कारण हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको न्यालु र नारा लेकमा बाक्लो हिउँ जमेपछि लिमी र हिल्सातर्फको यातायात सेवा अवरुद्ध भएको छ । सडकमा जमेको हिउँ तत्काल पन्छाएर यातायात सेवा सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् ।
नाम्खा गाउँपालिका-५ को न्यालु र वडा नं ६ को नारा लेक हुँदै लिमी प्रवेश गर्ने सडकमा साढे तीन फिटभन्दा बढी हिउँ जमेको छ । असोजको पहिलो सातादेखि नै लिमीको आवागमन बन्द भएपछि स्थानीयवासीलाई अत्यावश्यक कामका लागि समेत बाहिर जान समस्या भएको लिमी-६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए ।
उनका अनुसार लिमीमा कोही बिरामी परे वा अन्य अत्यावश्यक कामका लागि बाहिर जानुपरे हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था छ । दशैँ-तिहार नजिकिँदै गर्दा ताक्लाकोटमा रहेका हुम्लाका स्थानीयलाई समेत घर फर्किन समस्या भएको उनले बताए ।
लिमीको आवागमन बन्द, हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता
वडाध्यक्ष तामाङले न्यालु र नारा लेकमा जमेको हिउँ पन्छाएर सडक सञ्चालन गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् । सडक सञ्चालन नहुँदा लिमीका स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ ।
लिमी प्रवेश गर्ने प्रमुख नाकामध्ये पाँच हजार मिटर अग्लो न्यालु लेक पनि एक हो। सडक अवरुद्ध भएपछि लिमीका तिल गाउँका १८, हल्जीका ९०, जाङका तीन र तुम्लिङका ११ जना होटल व्यवसायी प्रभावित भएका छन्। ताक्चीमा पनि दुईवटा होटल सञ्चालनमा छन् ।
तीन फिट हिउँमा सुनखानी प्रहरी चौकी, पानी र रासनको समस्या
हिमपातका कारण लिमीको सुनखानीमा स्थापना गरिएको प्रहरी चौकीमा कार्यरत प्रहरीसमेत समस्यामा परेका छन्। तीन दिन लगातार भएको हिमपातपछि चौकी आसपास करिब तीन फिट हिउँ जमेको छ । दाउरा नपाउँदा खाना पकाउन र धारामा पानी जमेकाले खानेपानीको व्यवस्था गर्न समस्या भएको वडाध्यक्ष तामाङले बताए ।
आवश्यक दाउरा र खाद्यान्न हल्जी गाउँबाट बोकेर ल्याउने गरिएको छ। सडकमा हिउँ जमेकाले रासन तथा अन्य सामग्रीसमेत पैदलै बोकेर चौकीसम्म पु¥याउनुपर्ने अवस्था छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काले पछिल्लो अवस्थाको बारेमा बुझेर मात्र जानकारी दिइने बताए । हल्जी गाउँमा फोरजी सेवा सञ्चालनमा रहेकाले सुनखानीका प्रहरी दिनमा एक पटक पैदल हिँडेर हल्जी पुग्ने र त्यहाँबाट आवश्यक सूचना आदानप्रदान गर्ने गरेका छन् । सुनखानी प्रहरी चौकीबाट हल्जी पुग्न करिब चार घण्टा पैदल हिँड्नुपर्छ । हाल सुनखानी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकसहित १० जना प्रहरी कार्यरत छन् ।
नारा लेकको हिउँ पन्छाउन जेसिबी आवश्यक
चार हजार ६७० मिटर उचाइमा रहेको नारा लेकमा साढे तीन फिटसम्म हिउँ जमेकाले हिल्सा–सिमकोट सडक खण्ड पनि अवरुद्ध भएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकीका सशस्त्र प्रहरी निरीक्षक केदार सापकोटाले जेसिबी प्रयोग नगरी सडकमा जमेको हिउँ पन्छाउन सम्भव नभएको बताए ।
हिल्सास्थित मानसरोवर होटलकी सञ्चालक पेमा लामाले नारा लेकको हिउँ पन्छाएर यातायात सेवा सञ्चालन गर्न हिल्सा-सिमकोट सडक योजनासँग माग गर्नुभएको छ। हिल्सामा सशस्त्र प्रहरी, नेपाल प्रहरी, यारी नाका भन्सार कार्यालय, अध्यागमन कार्यालयका कर्मचारी, होटल व्यवसायी तथा केही स्थानीय व्यापारी बस्दै आएका छन् ।
स्थानीयका अनुसार यस वर्ष विगत १५ वर्षयताकै पहिलो पटक हिल्सामा असोज १० गतेदेखि हिमपात भएको हो । यसअघि हिल्सामा कात्तिकपछि मात्रै बाक्लो हिमपात हुने गरेको उनीहरूको भनाइ छ । मौसममा आएको परिवर्तनका कारण यस वर्ष चाँडै हिमपात भएको स्थानीयको अनुमान छ ।
दसैँ–तिहार नजिकिँदै गर्दा सडक सञ्चालन नहुँदा ताक्लाकोटमा रहेका हुम्लाका स्थानीयलाई घर फर्किनसमेत समस्या भएको छ । स्थानीयवासीले लिमी र हिल्साको सडकमा जमेको हिउँ तत्काल पन्छाएर यातायात सेवा सञ्चालन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।