अन्नपूर्ण राठी केबल इन्डष्ट्रिजको व्यापार साढे तीन अर्ब नाघ्यो, नाफा मार्जिन र वित्तीय स्थितिमा सुधार

अन्नपूर्ण राठी केबल  इन्डष्ट्रिजको व्यापार साढे तीन अर्ब नाघ्यो, नाफा मार्जिन र वित्तीय स्थितिमा सुधार

काठमाडौं : अन्नपूर्ण राठी केबल इन्डष्ट्रिजले एक वर्षमा साढे तीन अर्ब रुपैयाँको व्यापार गरेको छ । सन् २०२६ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ३ अर्ब ८१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो । 

Sponsored Advertisement

उक्त रकम अघिल्लो वर्षको तुलनामा १७.१६ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२५ मा तीन अर्ब २५ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । 

यसअघि कम्पनीले सन् २०२४ मा २ अर्ब ४९ करोड ४० लाख रुपैयाँ र सन् २०२३ मा ३ अर्ब ३६ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । पछिल्ला वर्षहरुमा कम्पनीको व्यापार निरन्तर रुपमा बढ्दै गएको छ । 

कम्पनीको व्यापारसँगै सञ्चालन नाफा मार्जिनमा पनि सुधार देखिएको छ । सन् २०२५ मा ८.२१ प्रतिशत रहेको कम्पनीको सञ्चालन मुनाफा सन् २०२६ मा १०.२६ प्रतिशत कायम रहेको छ । 

त्यस्तै, खुद नाफा मार्जिन ४.२२ प्रतिशतबाट बढेर ५.२९ प्रतिशत पुगेको छ । कम्पनीको नगद आम्दानीमा क्षमता पनि बलियो बनेको छ । सन् २०२५ मा १७ करोड ४० लाख रुपैयाँ रहेको नगद सञ्चिति सन् २०२६ मा बढेर २६ करोड रुपैयाँ पुगेको छ । 

कम्पनीको पूँजी संरचनामा पनि सुधार आएको छ । सन् २०२६ मा कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ पुगेको छ भने शेयर पूँजी तथा प्रिमियमबापत थप ४० करोड ५० लाख रुपैयाँ अग्रिम प्राप्त भएको छ ।

सोही अवधिमा कम्पनीको ट्याङ्जिबल नेटवर्थ एक अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । इक्विटीबाट प्राप्त रकमको केही हिस्सा दीर्घकालीन ऋण भुक्तानीमा प्रयोग भएपछि दीर्घकालीन ऋण घटेर २१ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ ।

यसको प्रत्यक्ष प्रभाव कम्पनीको ऋण-पूँजी अनुपातमा परेको छ । सन् २०२५ मा ०.६९ गुणा रहेको कम्पनीको समग्र गियरिङ सन् २०२६ मा घटेर ०.४९ गुणामा आएको छ । कुल बाह्य दायित्व र ट्याङ्जिबल नेटवर्थको अनुपात पनि ०.५६ गुणामा सीमित छ । 

त्यस्तै कम्पनीको ब्याज भुक्तानी क्षमता २.७१ गुणाबाट बढेर ६.०४ गुणा पुगेको छ । त्यस्तै, कुल ऋण र ग्रस क्यास एक्रुअलको अनुपात ४.०५ गुणाबाट घटेर २.९३ गुणामा आएको छ ।  

अन्नपूर्ण राठी केबल्सले घरायसी वायरिङ केबल, पावर केबल, एबीसी तथा एसीएसआर केबल, कन्सेन्ट्रिक केबल, कम्युनिकेसन केबललगायत विभिन्न प्रकारका तार तथा केबल उत्पादन गर्दै आएको छ । कम्पनीका उत्पादन आवासीय तथा व्यावसायिक भवनदेखि अस्पताल, उद्योग, विद्युत् प्रसारण तथा वितरण र दूरसञ्चार क्षेत्रमा प्रयोग हुने गरेका छन् । 

कम्पनीले प्रयोग गर्ने प्रमुख कच्चा पदार्थमा एल्युमिनियम रड, कपर रड, स्टिल वायर, पीभीसी तथा एक्सएलपीई कम्पाउन्ड रहेका छन् ।  जसमध्ये ठूलो हिस्सा भारत तथा मध्यपूर्वी मुलुकबाट आयात हुने गरेको छ । 

कच्चा पदार्थको लागत सन् २०२५ र सन् २०२६ मा कम्पनीको कुल सञ्चालन आम्दानीको करिब ८५ देखि ८९ प्रतिशतसम्म रहेको छ । विश्व बजारमा तामा र एल्युमिनियमको मूल्यमा हुने उतारचढावले कम्पनीको नाफामा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गरिएको छ । 

कम्पनीको उत्पादन प्लान्ट मोरङको विराटनगरमा अवस्थित छ । कम्पनीले  राठी र अन्नपूर्ण ब्रान्डमार्फत हाउस वायरिङ केबल, पावर केबल, एबसीरएसएएसआर केबल र कन्सेन्ट्रिक केबल बिक्री गर्दै आएको छ । 

अन्नपूर्ण राठी केबल्स इन्डष्ट्रिज लिमिटेड (साविकको अन्नपूर्ण केबल इन्डष्ट्रिज प्राइभेट लिमिटेड) सन् २०२५ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको हो । कम्पनीको अध्यक्ष श्याम राठी रहेका छन् भने निर्देशक जितेन्द्र कुमार राठी रहेका छन् । 

कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि दुई अर्ब ७२ करोड ५४ लाख रूपैयाँ बराबरको ऋण रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४० करोड चार लाख रूपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ३२ करोड ५० लाख रूपैयाँको रेटिङ गराएको हो ।
 

थप समाचार