काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दिउँसो १ बजेदेखि मतदान हुने भएको छ । यसअघि बिहान ७ बजेदेखिको समय १० बजे सारिएकामाा वर्षा र प्राविधिक कारणले गर्दा दिउँसोदेखि मतदान शुरू हुने केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन् । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ ।
निर्वाचन व्यवस्थापनबारे निर्वाचन समितिले बिहान ११ः३० बजे सभापति, उपसभापति र महामन्त्रीका सबै उम्मेदवारहरूसँग निर्वाचन कार्यालय राष्ट्रिय सभागृहमा छलफल गर्न लागेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवाले जानकारी दिए ।
सिमितिले बिहानैदेखि लाइनमा नबस्नसमेत आग्रह गरेको छ । मतदानका लागि महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकाअनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन् । खुलामञ्चलाई मतदान केन्द्र ‘ख’ तोकिएको छ । खुलामञ्चमा रहेको कोशी प्रदेश र तराई–मधेस समूहका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ ।
त्यस्तै खुलामञ्चमा रहेको गण्डकी प्रदेशका प्रतिनिधिले हिमाल हलबाट मतदान गर्ने व्यवस्था गरिएको छ । खुलामञ्चमा रहेको मधेस प्रदेशका प्रतिनिधिका लागि तराई–मधेस हल तोकिएको छ ।
लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले खुलामञ्चमा रहेको पहाड हलबाट मतदान गर्नेछन् ।
निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ । मतदान गर्नुअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ ।
निर्वाचन समितिका अनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन । प्रतिनिधिले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्र मतदान गर्न पाउनेछन् ।
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ । त्यसपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो ।
अब मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । नयाँ नेतृत्व चयनका लागि हुने मतदानपछि मतगणना शुरू गरिने निर्वाचन समितिले जनाएको छ ।
१५ औँ महाधिवेशनले विधान संशोधन गरेर कांग्रेस केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ ।