बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत रहने अनुमान

बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत रहने अनुमान

काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ । 

Sponsored Advertisement

बैंकले सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’मा प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ११.२३ प्रतिशत, १२.२४ प्रतिशत र ७६.५३ प्रतिशत रहने उल्लेख छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.८५ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष २०८१/८२ मा यस्तो वृद्धिदर ४.४३ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो ।

चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय र सेवा क्षेत्रको योगदान क्रमशः २४.४६ प्रतिशत, १३.७३ प्रतिशत र ६१.८१ प्रतिशत रहने अनुमान छ ।

प्रतिवेदनअनुसार समीक्षा अवधिमा बागमती प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको सोही अवधिको तुलनामा १।४ प्रतिशतले घटेको छ भने बाली उत्पादन ७.८ प्रतिशतले घटेको छ । 

प्रमुख खाद्यान्न बालीमध्ये धान उत्पादन ०.४ प्रतिशत, मकै ०।३ प्रतिशत, गहुँ २.५ प्रतिशत, कोदो ०.३ प्रतिशत, जौ १३.६ प्रतिशत र फापर २.५ प्रतिशतले बढेको छ । तरकारी तथा बागवानी उत्पादनमा पनि २.८ प्रतिशतले वृद्धि भएको छ ।

पशुजन्य उत्पादनतर्फ दूध उत्पादन ०.७ प्रतिशत र मासु उत्पादन ३.१ प्रतिशतले बढेको छ भने अण्डा उत्पादन ८.३ प्रतिशतले घटेको छ । समीक्षा वर्षमा प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये ३.३ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।

उद्योग क्षेत्रतर्फ अध्ययनमा समेटिएका उद्योगको औसत उत्पादन क्षमता उपयोग ४१.०८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो क्षमता उपयोग ३७.४९ प्रतिशत थियो । समीक्षा अवधिमा प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये औद्योगिक कर्जाको हिस्सा ३६.८१ प्रतिशत रहेको छ ।

सेवा क्षेत्रअन्तर्गत नमुना छनोटमा परेका होटलहरूको औसत अकुपेन्सी ४७.९ प्रतिशत रहेको छ । प्रतिवेदनअनुसार २०८२ कात्तिकदेखि होटलहरूको अकुपेन्सी क्रमशः सुधार हुँदै गएको देखिएको छ । समीक्षा अवधिमा घरजग्गा रजिस्ट्रेसनको सङ्ख्या ९.६ प्रतिशतले बढे पनि त्यसबाट प्राप्त राजस्व भने १६.८ प्रतिशतले घटेको छ ।

बैंक तथा वित्तीय संस्थाले बागमती प्रदेशबाट सङ्कलन गरेको कुल निक्षेप २०८२ असार मसान्तको तुलनामा २०८३ असार मसान्तमा ९.७९ प्रतिशतले बढेको छ । यस अवधिमा कर्जा प्रवाह ९.०७ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, समीक्षा वर्षमा प्रदेशमा यातायातका सवारीसाधन दर्ताको सङ्ख्या २० प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

पूर्वाधार विकासतर्फ आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशमा ४९.५८ किलोमिटर नयाँ सडक निर्माण भएको छ । यसैगरी १४३.६९ किलोमिटर ग्राभेल सडक र ११७.९२ किलोमिटर कालोपत्रे सडक स्तरोन्नति गरिएको छ । सोही अवधिमा ४४ वटा सडक पुल र छ वटा झोलुङ्गे पुल निर्माण भएका छन् ।

वैदेशिक रोजगारीतर्फ समीक्षा वर्षमा बागमती प्रदेशबाट एक लाख २९ हजार ६५१ जना वैदेशिक रोजगारीमा गएका छन् । यो सङ्ख्या कुल श्रम स्वीकृतिको १६.३७ प्रतिशत हो । राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत सोही वर्ष प्रदेशमा चार हजार ३४८ जनाले रोजगारी प्राप्त गरेका छन् ।

प्रादेशिक वित्तीय अवस्थातर्फ आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेश सरकारले ६७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । कुल विनियोजनको ६८.१८ प्रतिशत अर्थात् करिब ४६ अर्ब रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । २०८३ असार मसान्तसम्म प्रदेश सरकारले ३० अर्ब ६७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

थप समाचार