हेमन्त केसी
सुर्खेत : कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन क्षेत्रको विकास प्रभावित भएको छ।
पर्यटकको आवागमन बढेअनुसार सुरक्षित पदमार्ग, व्यवस्थित आवास, सञ्चार सुविधा र सहज यातायातको व्यवस्था हुन नसक्दा कर्णालीको पर्यटन सम्भावनालाई आर्थिक लाभमा रूपान्तरण गर्न चुनौती देखिएको हो।
प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा सात आर्थिक वर्षको अवधिमा पाँच लाख ४० हजार ७२८ जना आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशको तथ्याङ्क छ।
प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा र साहसिक पर्यटनका दृष्टिले सम्भावनायुक्त कर्णालीमा पर्यटकको चहलपहल बढे पनि पूर्वाधार विकासका केही बहुवर्षीय आयोजना अपेक्षित गतिमा अघि बढ्न सकेका छैनन्।
मन्त्रालयका अनुसार सुर्खेतको बुलबुले तालमा दुई लाख ९४ हजार ४०१ जना र प्रदेश सहिद पार्कमा एक लाख ४० हजार ३०० जनाले भ्रमण गरेका छन्। मुगुको रारातालमा २४ हजार ९३१, सल्यानको कुपिण्डे दहमा करिब ११ हजार, डोल्पाको शे–फोक्सुण्डो तालमा सात हजार २२८ र सुर्खेतको काँक्रेविहारमा पाँच हजार ४६८ जनाले भ्रमण गरेका छन्। त्यस्तै, हुम्लामा हवाई मार्गबाट चार हजार ५८९ जना पुगेका छन् भने सुर्खेतको बयलकाँडामा २१५ जनाले प्याराग्लाइडिङ गरेका छन्।
पर्यटकको आकर्षण र सम्भावना देखिए पनि प्रमुख गन्तव्यमा आवश्यक सुविधा विस्तार हुन नसकेको पर्यटन व्यवसायीको भनाइ छ। विशेषगरी हिमाली तथा दुर्गम क्षेत्रमा यात्रा गर्ने पर्यटकका लागि सुरक्षित आवागमन, बास बस्ने स्थान, सञ्चार सम्पर्क र आपत्कालीन उद्धारको व्यवस्था आवश्यक रहेको उनीहरू बताउँछन्।
पर्यटन व्यवसायी जितेन्द्र झाँक्रीले पर्यटक आउनु मात्र पर्याप्त नहुने भन्दै उनीहरूको यात्रालाई सुरक्षित, सहज र सुविधायुक्त बनाउन राज्यले पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए। पर्यटकलाई एकपटक आएपछि पुनः भ्रमण गर्न प्रेरित गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ।
‘पूर्वाधार निर्माण नहुँदा पनि कर्णालीमा उत्साहजनक रूपमा पर्यटक आइरहेका छन्। पर्यटकलाई सहज आवागमन, सुविधासम्पन्न होटल र सुरक्षित यात्राको वातावरण आवश्यक छ,’ झाँक्रीले भने।
उनका अनुसार डोल्पाको सदरमुकाम दुनैदेखि फोक्सुण्डो तालसम्मको बाटोमा रहेका काठेपुलको स्तरोन्नति गर्न जरुरी छ। उपल्लो डोल्पाका विभिन्न पर्यटकीय क्षेत्रमा पुग्ने पदमार्गमा बास बस्न मिल्ने भौतिक संरचना निर्माण नहुँदा पर्यटकले कठिनाइ भोग्नुपर्ने अवस्था छ।
विशेषगरी अग्ला भञ्ज्याङ र हिमाली क्षेत्रमा हिँड्दाहिँड्दै रात परेमा वा हिमपात भएमा सुरक्षित आश्रय लिन सकिने संरचना आवश्यक रहेको उनले बताए। दुर्गम पर्यटकीय क्षेत्रमा सञ्चार सुविधा विस्तार, पदमार्गको मर्मतसम्भार र आवश्यक स्थानमा विश्रामस्थल निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
‘पर्यटक आउनु मात्र ठूलो कुरा होइन, उनीहरूलाई आवश्यक सुविधा उपलब्ध गराउनु पनि उत्तिकै महत्त्वपूर्ण छ। रारा, फोक्सुण्डोलगायतका क्षेत्रमा पूर्वाधार निर्माणमा भएको ढिलाइले पर्यटनमा नकारात्मक प्रभाव पारेको छ,’ झाँक्रीले भने, ‘सरकारले बनाएका कार्ययोजना कडाइका साथ कार्यान्वयन गर्नुपर्छ र निर्माण व्यवसायीले जिम्मा लिएका काम समयमै सम्पन्न गराउन दबाब दिनुपर्छ।’
करोडौँको लगानी, आयोजनाको प्रगति सुस्त
पर्यटकीय पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले करोडौँ रुपैयाँ लगानी गरे पनि केही आयोजनाको भौतिक प्रगति न्यून देखिएको छ। मन्त्रालयको विवरणअनुसार मुगुको रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाको सम्झौता रकम चार करोड ५२ लाख ९१ हजार रुपैयाँभन्दा बढी छ। तर आयोजनाको भौतिक प्रगति २० प्रतिशत र वित्तीय प्रगति ३२ प्रतिशत पुगेको छ। आयोजनाको अवधि २०८३ असार मसान्तसम्म उल्लेख गरिएको छ भने म्याद थपको प्रक्रिया चलिरहेको मन्त्रालयको विवरणमा जनाइएको छ।
त्यस्तै, सुर्खेतको काँक्रेविहार वरिपरि कम्पाउन्ड वाल निर्माणको भौतिक प्रगति ५५ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत छ। एक करोड १८ लाख ५४ हजार रुपैयाँभन्दा बढी सम्झौता रकम रहेको यस आयोजनाको म्याद तीन पटक थप गरिएको छ।
रुकुम पश्चिमको खारा जनयुद्ध संग्रहालय निर्माणमा एक करोड २८ लाख ९६ हजार ७९३ रुपैयाँ सम्झौता रकम रहेको छ। आयोजनाको भौतिक प्रगति ५८ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत छ। २०८२ असार मसान्तमा म्याद समाप्त भएको विवरणमा उल्लेख भए पनि आयोजनाको म्याद दुई पटक थप गरिएको छ।
सुर्खेतको चौहान पार्क निर्माणका लागि दुई करोड २८ लाख ९७ हजार रुपैयाँभन्दा बढी सम्झौता रकम रहेको छ। यसको भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २५ प्रतिशत छ। आयोजनाको अवधि २०८४ असार मसान्तसम्म रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।
यी आयोजनाको प्रगतिले बजेट विनियोजनसँगै निर्माण कार्यको गति, समयसीमाको पालना र खर्चको प्रभावकारितामा समेत ध्यान दिनुपर्ने देखाउँछ। विशेषगरी राराजस्तो प्रमुख पर्यटकीय गन्तव्यमा पूर्वाधार निर्माणको भौतिक प्रगति न्यून हुँदा पर्यटकका लागि आवश्यक सुविधा विस्तारमा चुनौती थपिएको छ।
दस जिल्लाका गन्तव्य समेटिए, कार्यान्वयनमा चुनौती
कर्णाली प्रदेश पर्यटन गुरुयोजना (२०७७÷७८–२०८६÷८७) ले प्रदेशका दसवटै जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यलाई समेटेको छ। पर्यटन उत्पादनको विकास तथा स्तरोन्नति, पूर्वाधार निर्माण, सामुदायिक सहभागिता, लगानी प्रवद्र्धन, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण, दक्ष जनशक्ति विकास र बजार व्यवस्थापनलाई गुरुयोजनाले प्राथमिकतामा राखेको छ।
गुरुयोजनामा सल्यानको कुपिण्डे दह, डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा बाला त्रिपुरासुन्दरी धार्मिक क्षेत्र, जुम्लाको सिंजा सभ्यता तथा दुडुल स्तुपा र हुम्लाको लिमी उपत्यका प्रमुख गन्तव्यका रूपमा समेटिएका छन्। मुगुको राराताल तथा रारा–शे–फोक्सुण्डो पदयात्रामार्ग, कालिकोटको पचाल झरना, जाजरकोटको खलङ्गा दरबार क्षेत्र र दैलेखको पञ्चकोशी धार्मिक क्षेत्र पनि पर्यटन विकासका सम्भावनायुक्त स्थल हुन्।
त्यसैगरी, सुर्खेतको काँक्रेविहार, देउती बज्यै, मदन–आश्रित पार्क, जजुरादह, पञ्चपुरी क्षेत्रका गुसी ताल तथा मादले, शिव गुफा र गिद्धे डाँडा तथा रुकुम पश्चिमको गोतामकोट–चित्रिपाटन साहसिक पदमार्गलाई पनि गुरुयोजनामा समेटिएको छ।
तर गन्तव्य पहिचान र योजना निर्माणले मात्र पर्यटन क्षेत्रको अपेक्षित विकास सम्भव नहुने व्यवसायीको भनाइ छ। पहिचान गरिएका गन्तव्यमा आवश्यक पूर्वाधार निर्माण, नियमित मर्मतसम्भार, प्रभावकारी प्रचारप्रसार र स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने उनीहरू बताउँछन्।
हिमाली पदमार्गमा सुरक्षित बास र सञ्चारको आवश्यकता
कर्णालीमा साहसिक पर्यटन विकासका लागि ग्रेट हिमालयन ट्रेलअन्तर्गत उपल्लो, मध्य र तल्लो कर्णालीका पदयात्रामार्ग पहिचान गरिएका छन्। यी मार्गले डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, जाजरकोट र रुकुम पश्चिमका हिमाली तथा पहाडी क्षेत्रलाई जोड्ने लक्ष्य राखेका छन्।
रारातालदेखि शे–फोक्सुण्डो तालसम्मको पदयात्रा, शे–फोक्सुण्डो हुँदै धो–ताराप र मुस्ताङको सीमासम्म पुग्ने मार्ग तथा रुकुम पश्चिमबाट जाजरकोट र कालिकोट हुँदै खप्तड राष्ट्रिय निकुञ्जसम्म जोडिने तल्लो कर्णालीको मार्ग साहसिक पर्यटनका सम्भावित आधार हुन्।
यस्ता पदमार्ग व्यवस्थित गर्न सके पर्यटकको बसाइ अवधि बढ्नुका साथै स्थानीय होटल, होमस्टे, यातायात सेवा, पथप्रदर्शक र स्थानीय उत्पादनको बजार विस्तार हुन सक्छ। तर दुर्गम भूगोल, प्रतिकूल मौसम र आधारभूत सेवाको अभावलाई ध्यानमा राखेर सुरक्षित आवागमन, नियमित पदमार्ग मर्मत, सञ्चार सम्पर्क, उद्धार सेवा र बास बस्ने संरचना निर्माण गर्न आवश्यक छ।
विशेषगरी उपल्लो डोल्पाजस्ता दुर्गम क्षेत्रमा पदयात्राका क्रममा हिमपात वा खराब मौसमको सामना गर्नुपरेमा पर्यटक सुरक्षित रहन सक्ने संरचना आवश्यक हुने व्यवसायी झाँक्रीको भनाइ छ। त्यसैले पदमार्ग पहिचानसँगै तिनको व्यावहारिक उपयोग र सुरक्षाको प्रत्याभूति गर्ने पूर्वाधारमा लगानी गर्नुपर्ने देखिन्छ।
संरक्षण र प्रवद्र्धनमा बजेट, प्रतिफलमा जोड दिनुपर्ने
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले कर्णालीको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारले लगानी गरिरहेको बताइन्। उनका अनुसार पर्यटकीय स्थलको संरक्षण, पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन र पर्यटकलाई आकर्षित गर्ने कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ।
मन्त्रालयका अनुसार सल्यानको कुपिण्डे क्षेत्रको जलाधार संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि तीन करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ। उक्त कार्यक्रमको काम सुरु गर्ने तयारी रहेको उल्लेख छ। त्यस्तै, पर्यटक तथा दर्शकसम्बन्धी कार्यक्रम सञ्चालनका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री खड्काले बताइन्।
पर्यटन क्षेत्रमा बजेट विनियोजन हुनु सकारात्मक भए पनि त्यसको प्रभावकारी कार्यान्वयन, खर्चको प्रतिफल र निर्माण सम्पन्न भएपछि पर्यटकले पाउने सुविधाको मूल्याङ्कन उत्तिकै महत्त्वपूर्ण छ। निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्ने, ठेक्का सम्झौताअनुसार काम गराउने र ढिलाइको जवाफदेहिता सुनिश्चित गर्ने विषयमा ध्यान दिनुपर्ने देखिन्छ।
पर्यटन व्यवसायी झाँक्रीले पर्यटन गुरुयोजनाले पहिचान गरेका गन्तव्यमा लगानी विस्तार, दक्ष जनशक्ति उत्पादन, स्थानीय समुदायको सहभागिता र प्रभावकारी प्रचारप्रसार आवश्यक रहेको बताए। पर्यटकको संख्या बढाउने लक्ष्यसँगै उनीहरूको बसाइ अवधि, स्थानीय रोजगारी, स्थानीय उत्पादनको बिक्री र पर्यटनबाट समुदायले प्राप्त गर्ने लाभलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।
कर्णालीका पर्यटकीय गन्तव्यमा पर्यटक पुग्नु सम्भावनाको संकेत भए पनि त्यसलाई दिगो पर्यटन विकासमा बदल्न राज्यको लगानीको प्रभावकारिता सुनिश्चित गर्नुपर्ने देखिन्छ। रारा र फोक्सुण्डोजस्ता प्रमुख गन्तव्यमा आधारभूत सुविधा विस्तार, हिमाली पदमार्गको स्तरोन्नति, सुरक्षित आश्रयस्थल निर्माण, सञ्चार सेवा विस्तार र निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न सके पर्यटकलाई पुनः भ्रमणका लागि आकर्षित गर्न तथा पर्यटनबाट स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष लाभ बढाउन मद्दत पुग्नेछ।