काठमाडौं : नेपाल राष्ट्र बैंकले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका डिजिटल वालेटमा रकम जम्मा गर्न पाउने दैनिक सीमा अस्थायी रूपमा बढाएको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको परिपत्रअनुसार प्राकृतिक व्यक्तिको वालेटमा अब तोकिएका पर्व अवधिमा दैनिक अधिकतम ५० पटकसम्म रकम जम्मा गर्न सकिनेछ। यसअघि भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनअन्तर्गत प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था थियो।
राष्ट्र बैंकले बडादशैंको अवसरमा २०८३ असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म र तिहार तथा छठ पर्वको अवसरमा कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्मका लागि यो व्यवस्था लागू गरेको हो।
परिपत्रअनुसार उक्त अवधिमा भएका कारोबारको संख्या र कारोबारको कुल रकमसम्बन्धी विवरण राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई उपलब्ध गराउनसमेत भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिइएको छ। यो व्यवस्था तोकिएका पर्व अवधिका लागि मात्र लागू हुनेछ।