काठमाडौं : निजी क्षेत्रबाट सञ्चालित एभरेष्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज लिमिटेडले सन् २०२६ मा ३ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा तीन अर्ब २० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यो अघिल्लो वर्षको तुलनामा करिब ४० प्रतिशत बढी हो ।
कम्पनीले सन् २०२५ मा २ अर्ब १५ करोड रुपैयाँको व्यापार गरेको थियो । एक वर्षको अवधिमा कारोबारमा ८५ करोड २० लाख रुपैयाँ वृद्धि भएको छ । भारतले सन् २०२६ को मे महिनादेखि चिनी निर्यातमा लगाएको प्रतिबन्धले घरेलु बजारमा नेपाली चिनीको माग बढाउन सहयोग पुर्याएको र त्यसको सकारात्मक प्रभाव कम्पनीको बिक्रीमा परेको प्रतिवेदनमा उल्लेख छ ।
यसअघि कम्पनीले सन् २०२४ मा तीन अर्ब ३२ करोड रुपैयाँ र सन् २०२३ मा एक अर्ब ३२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
यद्यपि, कारोबारमा उल्लेख्य वृद्धि भए पनि कम्पनीको नाफाको मार्जिन भने घटेको छ । सन् २०२५ मा १९.७५ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२६ मा घटेर ११.४० प्रतिशतमा सीमित भएको छ । त्यस्तै, खुद नाफा मार्जिन पनि १२.९४ प्रतिशतबाट घटेर ६.४६ प्रतिशतमा झरेको छ ।
प्रतिस्पर्धात्मक बजारका कारण चिनीको बिक्री मूल्यमा परेको दबाब, ब्याज खर्चमा भएको वृद्धि तथा सञ्चालन नाफा मार्जिनमा आएको गिरावटले कम्पनीको खुद नाफामा दबाब परेको प्रतिवेदनले औंल्याएको छ ।
कम्पनीको समग्र गियरिङ अनुपात सन् २०२५ को १.२६ गुणाबाट घटेर सन् २०२६ मा १.१९ गुणामा आएको छ । तर, कुल बाह्य दायित्व र कुल नेटवर्थको अनुपात भने १.४० गुणाबाट बढेर १.५७ गुणा पुगेको छ ।
नाफाको मार्जिनमा आएको गिरावटसँगै ऋण भुक्तानीसम्बन्धी सूचकहरू पनि कमजोर भएका छन् । कम्पनीको ब्याज कभरेज रेसियो ९.५८ गुणाबाट घटेर ६.०४ गुणामा झरेको छ । त्यस्तै, ऋण भुक्तानी क्षमता मापन गर्ने डीएससीआर ४.१४ गुणाबाट घटेर ३.१६ गुणामा आएको छ ।
कम्पनीको बैंक कर्जा सुविधामा पनि परिवर्तन गरिएको छ । दीर्घकालीन बैंक कर्जा सुविधा यसअघिको ८७ करोड रुपैयाँबाट घटाएर ८ करोड ५० लाख रुपैयाँ कायम गरिएको छ । अल्पकालीन बैंक कर्जा सुविधा पनि १ अर्ब ९५ करोड रुपैयाँबाट घटाएर १ अर्ब ८६ करोड रुपैयाँमा सीमित गरिएको छ ।
दीर्घकालीन तथा अल्पकालीन दुवै प्रकृतिका कर्जाअन्तर्गत एक अर्ब ३ करोड रुपैयाँको सुविधा कायम गरिएको विवरणमा उल्लेख छ । यसअनुसार कम्पनीको कुल बैंक कर्जा सुविधा २ अर्ब ८९ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।
चिनी उत्पादनका लागि आवश्यक कच्चा पदार्थ उखुको उपलब्धता र मूल्य कम्पनीका लागि प्रमुख चुनौतीका रूपमा रहेका छन् । उखुको उत्पादन मौसम, वर्षा, रोग तथा कीराको प्रकोप, खेतीको उत्पादकत्व र उखुबाट प्राप्त हुने चिनीको अनुपातमा निर्भर हुन्छ ।
पछिल्ला केही सिजनमा उखु क्रसिङ परिमाणमा सुधार देखिए पनि चिनी रिकभरी दरमा आएको गिरावटले उत्पादन दक्षतामा चुनौती थपेको छ । त्यस्तै, चिनी उद्योग तथा उखु खरिद गर्ने अन्य पक्षबीच बढ्दो प्रतिस्पर्धाका कारण आवश्यक परिमाणमा उखु समयमै उपलब्ध नहुन सक्ने जोखिम छ ।
सरकारले निर्धारण गर्ने उखुको न्यूनतम समर्थन मूल्यमा हुने परिवर्तनले पनि कम्पनीको उत्पादन लागत र नाफालाई प्रत्यक्ष असर पार्नेछ । उखुको मूल्य बढे पनि चिनीको बिक्री मूल्य सोही अनुपातमा बढाउन नसकिएमा सञ्चालन नाफा थप घट्न सक्ने जोखिम रहेको छ । प्रतिकूल मौसम, अनियमित वर्षा तथा बालीमा रोग र कीराको प्रकोपका कारण उखु उत्पादन घटेमा उद्योगको क्षमता उपयोग र समग्र उत्पादनमा समेत असर पर्न सक्छ ।
घरेलु चिनी उद्योगको व्यवसायमा सरकारी आयात नीतिले पनि महत्त्वपूर्ण प्रभाव पार्ने देखिन्छ । सरकारले आर्थिक वर्ष २०८२र८३ को बजेटमार्फत चिनीको भन्सार महसुल ३० प्रतिशतबाट घटाएर १५ प्रतिशत कायम गरेपछि आयातित चिनी नेपाली बजारमा थप प्रतिस्पर्धी बन्न सक्ने जोखिम बढेको छ ।
आयातित चिनीको लागत कम हुँदा घरेलु उत्पादकले बिक्री मूल्य घटाउनुपर्ने दबाब पर्न सक्छ । यसले कम्पनीको नाफाको मार्जिन थप संकुचित गर्ने सम्भावना रहन्छ । यद्यपि, भारतको चिनी निर्यात प्रतिबन्धले हालका लागि नेपाली उत्पादकलाई घरेलु माग र बिक्रीका दृष्टिले केही राहत दिएको रिपोर्टमा उल्लेख छ ।
सन् १९९३ जुलाईमा स्थापना भएको एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज लिमिटेडको मुख्य कार्यालय धनुषाको जनकपुरमा रहेको छ भने उत्पादन केन्द्र महोत्तरीको गौशालामा अवस्थित छ । सर्राफ र अग्रवाल परिवारको लगानी रहेको कम्पनीको उखु प्रशोधन क्षमता दैनिक ५ हजार ५०० मेट्रिक टन छ ।
कम्पनीले आर्थिक वर्ष २०२०/२१ देखि सामान्य चिनी उत्पादनबाट डबल रिफाइन्ड सल्फररहित चिनी उत्पादनतर्फ आफ्नो उत्पादन प्रणाली परिवर्तन गरेको थियो । हाल कम्पनीले सामान्य चिनीका साथै सल्फररहित चिनी उत्पादन गर्दै आएको छ ।
चिनी उत्पादनसँगै कम्पनीले विद्युत् उत्पादनबाट पनि आम्दानी गर्दै आएको छ । उद्योगमा चिनी उत्पादनका क्रममा उपउत्पादनका रूपमा निस्कने बगास प्रयोग गरी ९ मेगावाट क्षमताको सहउत्पादन विद्युत् आयोजना सञ्चालन गरिएको छ । उत्पादित विद्युत्मध्ये ३ मेगावाट नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिन्छ भने बाँकी विद्युत् आफ्नै उत्पादन प्रक्रियामा उपयोग हुँदै आएको छ ।