Below Menu

भाखा नाघेको कर्जा व्यवस्थापन र असुलीलाई प्राथमिकता दिँदै सीवाईसी नेपालको कर्मचारी तालिम

भाखा नाघेको कर्जा व्यवस्थापन र असुलीलाई प्राथमिकता दिँदै सीवाईसी नेपालको कर्मचारी तालिम

पोखरा : कास्कीमा केन्द्रीय कार्यालय रही देशका ७७ वटै जिल्लामा १२४ शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रवाह गर्दै आएको सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीहरूका लागि दुई दिने ‘प्रभावकारी अनुगमन तथा सुपरिवेक्षण सम्बन्धी तालिम’ सम्पन्न गरेको छ ।

Sponsored Advertisement

लेकसाइडस्थित होटल टिका रिसोर्टको सभाहलमा कात्तिक १४ र १५ गते आयोजित उक्त तालिममा संस्थाका क्लस्टर प्रमुख, विभागीय प्रमुख तथा विभिन्न विभागमा कार्यरत २५ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।

चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक समापनसँगै आयोजित यस तालिमले कर्मचारीहरूमा कार्यकुशलता अभिवृद्धि गर्नुका साथै समग्र कार्यक्रम सञ्चालनमा थप सुधार ल्याउने अपेक्षा संस्थाले लिएको छ ।

उक्त तालिमको सहजीकरण लघुवित्त विज्ञ एवम् बैंकर तीर्थरत्न कोनाजोले गर्नुभएको थियो । कार्यक्रममा हाल लघुवित्त क्षेत्रको कर्जा असुलीमा देखिएका चुनौतीहरू, त्यसले पारेको प्रभाव, ग्राहकसँगको सम्बन्ध विस्तार तथा सदस्यहरूको व्यवसाय संरक्षणका लागि आगामी दिनमा खेल्नुपर्ने भूमिकाका विषयमा गहन छलफल भएको थियो ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठले संस्थाको विद्यमान वित्तीय अवस्था तथा आगामी रणनीतिक योजना प्रस्तुत गरेका थिए । उनले सहभागी कर्मचारीहरूलाई तालिममा आर्जन गरेको ज्ञान तथा सीपलाई व्यवहारमा उतार्दै संस्थागत लक्ष्य हासिल गर्न निर्देशन दिए ।

त्यसैगरी तालिमको समापन सत्रलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष गोपाल कुमार शर्माले कर्मचारीहरूलाई व्यक्तिगत क्षमता विकासका साथै पदीय जिम्मेवारी पूर्ण निष्ठाका साथ निर्वाह गर्न आग्रह गरे ।  उनले संस्थाका वित्तीय सूचकहरूलाई थप सबल र मजबुत बनाउन सम्पूर्ण कर्मचारीलाई उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटिन उत्प्रेरित गरे । 

संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत बाबुराम कुँवरले तालिममा सिकेका विषयहरूको प्रभावकारी कार्यान्वयनका लागि क्लस्टर तथा विभागीय प्रमुखहरूले इमानदारिता र लगनशीलताका साथ काम गर्नुपर्नेमा जोड दिए ।

उनले भाखा नाघेको कर्जा व्यवस्थापन तथा बाँकी ब्याज असुली वर्तमान समयको मुख्य चुनौती रहेको औंल्याए । उक्त दुई दिने तालिम कार्यक्रमको सञ्चालन संस्थाकी तालिम विभाग प्रमुख संगीता शर्माले गरेकी थिइन्।