काठमाडौं : नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै सर्वसाधारणका लागि सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने भएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले जारी गरेको सूचनाअनुसार बबरमहलस्थित महाशाखाबाट आगामी कात्तिक १९ र २० गते सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गरिनेछ। दुवै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मौज्दात रहेसम्म बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्राम तौलको एक थान सुनको असर्फी खरिद गर्न पाइनेछ। त्यस्तै, १० ग्राम तौलका लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन पनि बिक्रीका लागि उपलब्ध हुनेछन्। एक व्यक्तिले बढीमा दुई थान चाँदीका मेडालियन खरिद गर्न सक्नेछन्।
असर्फी तथा मेडालियन खरिद गर्न इच्छुक नेपाली नागरिकले नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि अथवा ती कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ।
खरिदकर्ताले नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ। सुनको असर्फी तथा चाँदीका मेडालियनको मूल्य भने दैनिक रूपमा बिहान करिब ११ बजेपछि निर्धारण गरिनेछ। मूल्य निर्धारण भएपछि मात्र बिक्री प्रक्रिया सुरु हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
तिहारमा लक्ष्मीपूजाका अवसरमा सुन तथा चाँदीका सामग्री खरिद गर्ने परम्परालाई लक्षित गर्दै राष्ट्र बैंकले हरेक वर्ष यस्ता असर्फी तथा मेडालियन बिक्री गर्दै आएको छ।