Below Menu

बरुण हाइड्रोपावरको नाफा १९ प्रतिशतले बढ्यो, विद्युत बिक्री आम्दानी चार करोडमाथि 

बरुण हाइड्रोपावरको नाफा १९ प्रतिशतले बढ्यो, विद्युत बिक्री आम्दानी चार करोडमाथि 

काठमाडौं : बरुण हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले दुई करोड २६ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको छ । 

Sponsored Advertisement

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १९.२६ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले एक करोड ८९ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै वित्तीय खर्च घटेका कारण नाफामा उल्लेख्य वृद्धि देखिएको हो ।  

गत वर्ष विद्युत बिक्रीमार्फत तीन करोड ९४ लाख ७३ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी असोज मसान्तसम्म आइपुग्दा चार करोड १४ लाख २६ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ४.९४ प्रतिशतले बढी हो । 

यस अवधिमा कम्पनीको सञ्चालन मुनाफा ६.६६ प्रतिशतले बढेर तीन करोड २७ लाख ९७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो मुनाफा ३ करोड सात लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

यसैगरी कम्पनीको कुल नाफा तीन करोड ३३ लाख ६६ हजार रुपैयाँबाट बढेर तीन करोड ५० लाख पाँच हजार रुपैयाँ पुगेको छ । जुन गत वर्षको तुलनामा ५.१० प्रतिशतले बढी हो । 

त्यस्तै, गत वर्षको असोजसम्ममा ६४ लाख ५७ हजार रुपैयाँ रहेको कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा घटेर ४५ लाख ४७ हजार रुपैयाँमा झरेको छ ।  

पहिलो त्रैमाससम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी ८.०७ रुपैयाँ रहेको छ । त्यस्तै यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ३७.१९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११३.४० रुपैयाँ रहेको छ।

असोज मसान्तसम्म एक अर्ब १२ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा तथा कोषमा ११ करोड ३६ लाख १८ हजार रुपैयाँ सञ्चित रहेको छ।

थप समाचार