काठमाडौं : जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तीन महिनामा साढे ५७ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार असोज मसान्तसम्म कम्पनीहरुले ५७ अर्ब २२ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् ।
उक्त रकम अघिल्लो वर्षको तुलनामा १६.८५ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीहरुले ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँको व्यवसाय गरेका थिए । यस अवधिमा आइपुग्दा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले १४ अर्ब ७२ करोड ८९ लाख छ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।
प्राधिकरणका अनुसार यस अवधिमा नेशनल लाइफले सात अर्ब ३६ करोड २६ लाख ५ हजार रुपैयाँको व्यापार गरेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनले पाँच अर्ब ४५ करोड ७८ लाख ४७ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ ।
यस्तै हिमालयन लाइफले पाँच अर्ब १५ करोड १३ लाख ८५ हजार रुपैयाँ बीमाशुल्क उठाएको भने राष्ट्रिय जीवन बीमा कम्पनीले चार अर्ब ८३ करोड १७ लाख रुपैयाँ र एशियन लाइफले दुई अर्ब ७८ करोड २५ लाख १० हजार रुपैयाँ बराबरको व्यापार गरेको छ ।
यस अवधिमा सूर्यज्योति लाइफले तीन अर्ब ५१ करोड ५८ लाख रुपैयाँको व्यापार गरेको छ । मेट लाइफले एक अर्ब ८६ करोड ७१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने आईएमई लाइफले दुई अर्ब १७ करोड ८२ हजा रुपैयाँको व्यवसाय गरेको छ ।
चालु आवको असोज मसान्तसम्ममा रिलायबल नेपाल लाइफले एक अर्ब ८५ करोड ९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको भने सिटिजन लाइफ इन्स्योरेन्सले दुई अर्ब ५२ करोड एक लाख ३७ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
यस अवधिमा सानिमा रिलायन्सले दुई अर्ब २४ करोड ५८ लाख र प्रभु महालक्ष्मी लाइफले एक अर्ब ८४ करोड पाँच लाख रुपैयाँ र सन नेपाल लाइफले एक अर्ब १९ करोड ६५ लाख ९८ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
लघुबीमाको व्यापार ३४ करोडमाथि
प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । असोज मसान्तसम्म कम्पनीहरुले ३४ करोड २१ लाख ८५ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।
यस अवधिमा गार्डियन माइक्रो लाइफले १२ करोड ३७ लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले ९ करोड ८६ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले ११ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
यस अवधिमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलबाट ८६ करोड ५० लाख ४६ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।