एजेन्सी : अमेरिकाको मिसिसिपी राज्यमा भएको सिनेट निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार स्कट कोलोमले ऐतिहासिक जित हासिल गरेका छन्।
लामो समयदेखि रिपब्लिकन पार्टीको बलियो प्रभाव रहेको र परम्परागत रूपमा रूढिवादी मानिने मिसिसिपीमा कोलोमको जितलाई डेमोक्र्याटिक पार्टीका लागि अप्रत्याशित राजनीतिक सफलताका रूपमा हेरिएको छ। यस जितसँगै उनी १४० वर्षभन्दा लामो समयपछि मिसिसिपीबाट अमेरिकी सिनेटमा निर्वाचित हुने पहिलो अश्वेत व्यक्ति बनेका छन्।
४३ वर्षीय कोलोमले रिपब्लिकन पार्टीकी वर्तमान सिनेटर सिन्डी हाइड-स्मिथलाई निकै कम मतान्तरले पराजित गरेका हुन्। करिब १० लाख मत गणना हुँदा दुवै उम्मेदवारबीच पाँच हजारभन्दा कम मतको अन्तर देखिएको थियो।
अमेरिकी सञ्चारमाध्यम सीबीएसका अनुसार कोलोमले कुल सदर मतको ४९.२ प्रतिशत प्राप्त गर्दा हाइड-स्मिथले ४८.७ प्रतिशत मत पाएकी थिइन्। स्वतन्त्र उम्मेदवारले भने २.१ प्रतिशत मत प्राप्त गरेका थिए।
यस नतिजाले सन् १९८२ देखि मिसिसिपीमा निरन्तर कायम रहेको रिपब्लिकन पार्टीको चुनावी विजयको शृङ्खलालाई समेत अन्त्य गरेको छ। निर्वाचनअघि हाइड-स्मिथको पुनःनिर्वाचन सहज हुने अनुमान गरिएको थियो।
सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले मिसिसिपीमा २२ प्रतिशतभन्दा बढी मतान्तरले विजय हासिल गरेकाले पनि यसपटक रिपब्लिकन उम्मेदवारकै पक्षमा नतिजा आउने अपेक्षा गरिएको थियो। तर, अन्तिम परिणामले राजनीतिक विश्लेषक तथा मतदातालाई आश्चर्यमा पारेको छ।
विजयपछि कोलोमले मिसिसिपीस्थित टुगालु कलेजको परिसरमा आयोजित कार्यक्रममा आफ्ना समर्थकलाई सम्बोधन गरेका थिए। रातको आकाशमुनि सयौँ समर्थकको उपस्थितिमा उनले निर्वाचन अवधिभर आफूलाई साथ दिएकोमा धन्यवाद व्यक्त गरे। नोभेम्बर ४ मा मतदान सम्पन्न भएदेखि नतिजाको प्रतीक्षामा रहेका समर्थकहरू उनको विजय घोषणासँगै उत्साहित बनेका थिए।
सम्बोधनका क्रममा कोलोमले आफ्नो जित सम्भव हुन्छ भन्नेमा धेरै मानिसले विश्वास नगरेको उल्लेख गर्दै आफूले भने आशा र विश्वास कायम राखेको बताए। उनले यो सफलता आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभई सामूहिक प्रयासको परिणाम भएकोमा जोड दिए। “यो मैले मात्र गरेको काम होइन, यो हामी सबैले मिलेर गरेको उपलब्धि हो,” उनले भने। साथै, मिसिसिपीमा वास्तविक परिवर्तन ल्याउने शक्ति स्थानीय जनतामै रहेको उनको भनाइ थियो।
कोलोमको जित घोषणा भएपछि ज्याक्सनस्थित नेसनल एसोसिएसन फर द एड्भान्समेन्ट अफ कलर्ड पिपल (एनएएसीपी) को मिसिसिपी मुख्यालयमा भेला भएका समर्थकहरूले खुसीयाली मनाएका थिए। दर्जनौँ मानिस उपस्थित रहेको उक्त कार्यक्रममा नतिजा सार्वजनिक हुनासाथ ताली र नाराले वातावरण गुञ्जायमान बनेको थियो।
एनएएसीपी बोर्डका अध्यक्ष लियोन रसेलले यसलाई असाधारण उपलब्धि भन्दै विशेषगरी अश्वेत समुदायको संगठित प्रयासको परिणाम भएको बताए। निर्वाचन अभियानमा ठूलो आर्थिक स्रोत नभए पनि समुदायको सक्रिय परिचालन र निरन्तरको संगठनात्मक प्रयासले सफलता दिलाएको उनको भनाइ थियो। त्यस्तै, समर्थक एम्बर थोमसले संघर्ष जारी राख्दा अन्ततः सफलता प्राप्त हुने भन्दै जितप्रति खुसी व्यक्त गरिन्।
यस निर्वाचनमा कोलोमको सफलताका पछाडि राष्ट्रिय राजनीतिमा देखिएको असन्तुष्टिले पनि महत्त्वपूर्ण भूमिका खेलेको विश्लेषण गरिएको छ। राष्ट्रपति ट्रम्पको प्रशासनले लागू गरेका भन्सार शुल्कसम्बन्धी नीतिहरू र इरानसँगको युद्धका कारण अमेरिकी अर्थतन्त्रमा परेको प्रभावप्रति मतदाताहरू असन्तुष्ट रहेको मतदानपछिका सर्वेक्षणहरूले देखाएका छन्। आर्थिक कठिनाइ र सरकारी नीतिप्रतिको असन्तुष्टिले रिपब्लिकन पार्टीका उम्मेदवारहरूलाई चुनौती दिएको बताइएको छ।
स्थानीय अभियोजकका रूपमा काम गरेका कोलोमले यही जनमतलाई आफ्नो पक्षमा उपयोग गरेका थिए। उनले रिपब्लिकन प्रतिद्वन्द्वी हाइड-स्मिथले राष्ट्रपति ट्रम्पको भन्सार शुल्कसम्बन्धी नीतिलाई समर्थन गरेको विषयलाई चुनावी अभियानको प्रमुख मुद्दा बनाएका थिए।
उनले हाइड-स्मिथलाई व्यङ्ग्यात्मक रूपमा ‘सिन्डी हाई प्राइसेस’ अर्थात् महँगी बढाउने सिन्डीको उपनामसमेत दिएका थिए। आफ्नो चुनावी अभियानलाई प्रभावकारी बनाउन कोलोमले मिसिसिपीका सबै ८२ काउन्टीको भ्रमण गरी मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए।
यता, हाइड–स्मिथको चुनावी टोलीले कोलोमलाई अर्बपति उदारवादी दाता जर्ज सोरोसको प्रभावमा रहेको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै आलोचना गरेको थियो। सोरोस परिवारले कोलोमको राजनीतिक अभियानलाई आर्थिक सहयोग गर्दै आएको आरोप लगाइएको थियो। ६७ वर्षीया रिपब्लिकन उम्मेदवार हाइड-स्मिथ भने चुनावी अभियानका क्रममा सार्वजनिक कार्यक्रममा कम उपस्थित भएको भन्दै आलोचित भएकी थिइन्।
पराजय स्वीकार गर्दै हाइड-स्मिथले बुधबार साँझ सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश जारी गरी कोलोमलाई बधाई दिएकी थिइन्। आफूहरूले चाहेको परिणाम नआए पनि मिसिसिपीका मतदाताको निर्णयलाई सम्मान गर्ने बताउँदै उनले नवनिर्वाचित सिनेटरलाई आगामी कार्यकालका लागि शुभकामना दिइन्।
मिसिसिपीको यो परिणाम अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले हासिल गरेका अन्य सफलतासँग पनि जोडिएको छ। यस निर्वाचनमा डेमोक्र्याटहरूले अमेरिकी प्रतिनिधिसभा र सिनेट दुवैमा नियन्त्रण कायम गर्न सफल भएको विवरणमा उल्लेख छ।
टेक्सास, साउथ क्यारोलाइना, कन्सास र आयोवा जस्ता परम्परागत रूपमा रिपब्लिकन प्रभाव रहेका राज्यमा समेत डेमोक्र्याटहरूले सिनेटका सिट जितेका छन्। अलास्काको निर्वाचन परिणाम भने अत्यन्तै प्रतिस्पर्धात्मक रहेकाले त्यसको अन्तिम टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ।