काठमाडौं : एभरेस्ट कलर लिमिटेडको कारोबार तथा सञ्चालन नाफामा पछिल्ला दुई आर्थिक वर्षमा सुधार देखिएको छ । सन् २०२६ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले १७ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ ।
उक्त रकम अघिल्लो वर्षको तुलनामा २१.८३ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२५ मा १४ करोड २० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो । यसअघि सन् २०२४ मा कम्पनीको सञ्चालन आम्दानी ९ करोड ५० लाख रुपैयाँ रहेको थियो ।
त्यसैगरी, ब्याज, कर तथा मूल्यह्रासअघिको सञ्चालन नाफा मार्जिन सन् २०२५ को १६.६१ प्रतिशतबाट बढेर सन् २०२६ मा १८.८७ प्रतिशत पुगेको छ । सन् २०२४ मा यस्तो मार्जिन १२.८५ प्रतिशत थियो ।
सञ्चालन नाफाको मार्जिनमा भएको सुधारसँगै कम्पनीको कुल नगद सञ्चिति पनि सन् २०२५ को एक करोड ८० लाख रुपैयाँबाट बढेर सन् २०२६ मा २ करोड ७० लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको वित्तीय संरचनातर्फ हेर्दा ऋणको तुलनामा इक्विटीको अवस्था सहज देखिएको छ । सन् २०२६ को अन्त्यमा कम्पनीको समग्र गियरिङ अनुपात ०.०७ गुणा रहेको छ । जुन सन् २०२५ मा ०.०२ गुणा थियो । कार्यशील पुँजी कर्जामा भएको वृद्धिका कारण गियरिङ अनुपात केही बढेको भए पनि समग्र ऋणको स्तर न्यून रहेको प्रतिवेदनमा उल्लेख छ ।
कम्पनीले हालै सम्पन्न प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सात करोड ९० लाख रुपैयाँ बराबरको इक्विटी जुटाएको छ । उक्त रकम व्यवसाय विस्तार तथा स्थिर सम्पत्ति थप गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ । आईपीओबाट प्राप्त पुँजीले कम्पनीको पुँजी संरचनालाई थप सहयोग पुर्याउने देखिएको छ ।
त्यस्तै, कम्पनीको ब्याज भुक्तानी क्षमता सन् २०२६ मा ३५.४५ गुणा रहेको छ । यद्यपि, यो अनुपात सन् २०२५ को ४२.२३ गुणाबाट घटेको हो । ब्याज खर्च बढेका कारण ब्याज भुक्तानी क्षमतामा केही कमी आएको रिपोर्टमा उल्लेख छ । कम्पनीको कुल ऋण र कुल नगद आर्जनबीचको अनुपात ०.७९ गुणा रहेको छ ।
रेटिङ एजेन्सीले एभरेस्ट कलर लिमिटेडलाई प्रदान गरेको ‘केयर-एनपी बीबी’ इश्युअर रेटिङ पुनः कायम गरेको छ । उक्त रेटिङ प्राप्त संस्थाले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।
एभरेस्ट कलरले आफ्नो उत्पादनका लागि आवश्यक पेट्रोकेमिकल्स, खनिज पदार्थ, पिग्मेन्टलगायतका कच्चा पदार्थ प्रयोग गर्दै आएको छ । प्याकेजिङ सामग्री भने अधिकांश घरेलु बजारबाट खरिद गरिने कम्पनीले जनाएको छ । कच्चा पदार्थको मूल्य आपूर्तिकर्ताको मोलमोलाइ क्षमतामा निर्भर रहने भएकाले मूल्यमा हुने उतारचढावले कम्पनीको उत्पादन लागत र नाफामा प्रत्यक्ष प्रभाव पार्न सक्ने जोखिम रहेको छ ।
यसका अतिरिक्त, पेट्रोलियम उपउत्पादनमा आधारित केही कच्चा पदार्थ भारतबाट आयात गरिने र तिनको मूल्य अमेरिकी डलरसँग सम्बन्धित हुने भएकाले कम्पनी विदेशी विनिमय दरको उतारचढावबाट समेत प्रभावित हुन सक्ने रिपोर्टमा उल्लेख छ ।
कम्पनीका प्रबन्ध निर्देशक सरोज लुइँटेल रहेका छन् । पेन्ट उद्योगमा उनको दुई दशकभन्दा बढीको अनुभव छ रहेको छ । त्यस्तै, कम्पनीका मार्केटिङ तथा बिक्री प्रमुख शैलेन्द्रकुमार सितौला रहेका छन् भने प्रमुख वित्तीय अधिकृत (सीएफओ) कृष्णबहादुर लामा रहेका छन् ।
वि.सं.२०६८ वैशाख २२ गते निजी कम्पनीका रूपमा स्थापना भएको एभरेस्ट कलर लिमिटेड २०८१ असार १० गते सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो ।
कम्पनीले इन्टेरियर तथा एक्स्टेरियर इमल्सन पेन्ट, प्राइमर, इनामेल पेन्ट, काठ तथा धातुका लागि प्राइमर, एक्रिलिक डिस्टेम्पर, आल्मुनियम पेन्ट, गोल्ड पेन्ट, सिमेन्ट पेन्ट, फ्लोर पेन्ट तथा औद्योगिक पेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ । कम्पनीको उत्पादन कारखाना चितवनको टुङ्गारा–०३ मा रहेको छ ।