काठमाडौं : रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४१ करोड ५६ लाख रुपैयाँभन्दा बढी खुद घाटामा रहेको छ।
कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार विद्युत् बिक्रीबाट ३० करोड ९७ लाख रुपैयाँ आम्दानी गरे पनि उच्च वित्तीय खर्च, ह्रासकट्टी तथा अन्य सञ्चालन खर्चका कारण कम्पनी घाटामा गएको हो।
कम्पनीले पहिलो त्रैमासमा विद्युत् बिक्रीबाट ३० करोड ९७ लाख ८९ हजार रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो त्रैमासमा यस्तो आम्दानी एक अर्ब २६ करोड ६६ लाख ७२ हजार रुपैयाँ थियो।
यसरी अघिल्लो त्रैमासको तुलनामा विद्युत् बिक्री आम्दानीमा उल्लेख्य कमी आएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनात्मक बिक्री आम्दानी भने वित्तीय विवरणमा उल्लेख गरिएको छैन।
यत अवधिमा कम्पनीको कुल आम्दानी ३० करोड ९७ लाख ८९ हजार रुपैयाँ रहेको छ भने कम्पनीको सञ्चालन घाटा चार करोड ८९ लाख १३ हजार रुपैयाँ पुगेको छ।
कम्पनीको नाफामा सबैभन्दा ठूलो दबाब वित्तीय खर्चबाट परेको देखिन्छ। यस अवधिमा कम्पनीले २८ करोड ९७ लाख ७ हजार रुपैयाँ वित्तीय खर्च व्यहोरेको छ । वित्तीय आम्दानी भने ५ लाख ११ हजार रुपैयाँ मात्रै रहेको छ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २४.३२ रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ ५७ रुपैयाँ ९९ पैसा रहेको भने मूल्य आम्दानी अनुपात २७.३९ गुणा ऋणात्मक रहेको छ ।
रसुवागढी जलविद्युत् आयोजनाले प्राकृतिक विपद्का कारण ठूलो क्षति व्यहोरेको रिपोर्टमा उल्लेख छ। कम्पनीका अनुसार आयोजना निर्माणको प्रारम्भिक चरणदेखि नै भूकम्प, नाकाबन्दी, हरेक वर्ष दोहोरिने बाढी तथा पहिरो र कोभिड-१९ लगायतका प्रतिकूल परिस्थितिको सामना गर्दै आयोजना अघि बढाइएको थियो। यी चुनौतीका बाबजुद २०८२ पुस १६ गतेदेखि आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरिएको थियो।
तर, २०८२ असार २४ गते आयोजनाको स्रोत नदी भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोले बाँधस्थललगायत अधिकांश सिभिल संरचनामा व्यापक क्षति पुर्याएको थियो। हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरणहरूमा समेत ठूलो क्षति पुगेको र कर्मचारी आवास भवनहरू पूर्ण रूपमा क्षतिग्रस्त भएको कम्पनीले जनाएको छ। उक्त विपद्का कारण जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको थियो।
कम्पनीका अनुसार क्षतिग्रस्त संरचनाको आंशिक पुनर्स्थापना तथा पुनर्निर्माण गरी विद्युत् उत्पादन पुनः सञ्चालनमा ल्याइएको अवस्थामा २०८३ भदौ १० गते आएको अर्को विनाशकारी हिमपहिरोले आयोजनाका अधिकांश संरचनामा व्यापक तथा पूर्ण क्षति पुर्याएको छ।
यसबाट आयोजनाको पुनर्निर्माण तथा सञ्चालन थप चुनौतीपूर्ण बनेको कम्पनीको भनाइ छ। क्षतिग्रस्त सडक, पुल, सुरुङ तथा अन्य संरचनाको पुनर्निर्माण कार्य अझै पूरा हुन सकेको छैन। त्यसैले क्षतिग्रस्त सम्पत्ति तथा संरचनाको यकिन क्षति मूल्याङ्कनसमेत वित्तीय विवरण तयार पार्दासम्म सम्पन्न हुन नसकेको कम्पनीले स्पष्ट पारेको छ।
कम्पनीले प्राकृतिक विपद्बाट भएको क्षति तथा नोक्सानीको वास्तविक आर्थिक मूल्याङ्कन सम्पन्न भएपछि त्यसबाट सिर्जना हुने आर्थिक प्रभावका आधारमा प्रचलित लेखांकन मापदण्ड तथा सम्बन्धित प्रावधानअनुसार आवश्यक लेखांकन गरिने जनाएको छ। यसकारण क्षतिको वास्तविक मूल्याङ्कनपछि कम्पनीको वित्तीय अवस्था तथा प्रमुख वित्तीय सूचकमा परिवर्तन आउन सक्ने देखिएको छ ।
असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति २३ अर्ब ५ करोड ४३ लाख रुपैयाँ रहेको छ। अघिल्लो त्रैमासको अन्त्यमा कुल सम्पत्ति २३ अर्ब ५५ करोड ४४ लाख रुपैयाँ थियो।
कम्पनीको गैरचालु सम्पत्ति २२ अर्ब १८ करोड ५० लाख रुपैयाँ रहेको छ। यसमध्ये सम्पत्ति, प्लान्ट तथा उपकरणको मूल्य २२ अर्ब ३ करोड ४४ लाख रुपैयाँ छ भने निर्माणाधीन पुँजीगत सम्पत्ति १५ करोड ५ लाख रुपैयाँ रहेको छ।
त्यस्तै, चालु सम्पत्ति ८६ करोड ९२ लाख रुपैयाँ रहेको छ। यसमा मौज्दात २ करोड ८१ लाख, अग्रिम भुक्तानी २३ लाख ७१ हजार, अग्रिम तथा धरौटी ३५ करोड १८ लाख, व्यापारिक प्राप्य रकम ८ करोड १४ लाख र नगद तथा नगद बराबरका सम्पत्ति ४० करोड ५४ लाख रुपैयाँ रहेका छन्।
कम्पनीको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ छ। सञ्चित नोक्सानी भने २ अर्ब ८७ करोड ४३ लाख ३७ हजार रुपैयाँ पुगेको छ। यसका कारण कुल इक्विटी ३ अर्ब ९६ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीको दीर्घकालीन कर्जा १३ अर्ब ८० करोड ८० लाख रुपैयाँ र अन्य गैरचालु दायित्व ३ करोड १९ लाख ७५ हजार रुपैयाँ रहेको छ। त्यसैगरी, अल्पकालीन कर्जा ३ अर्ब ६२ करोड १२ लाख ९० हजार रुपैयाँ र व्यापारिक तथा अन्य भुक्तानीयोग्य दायित्व १६० करोड ९४ लाख ६५ हजार रुपैयाँ रहेको छ।