Below Menu

छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी?

छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी?

धर्मेन्द्र झा
यस वर्ष छठको रौनकले मधेसका घाटलाई तताएन मात्र बरु काठमाडौं खाल्डोको सिंहदरबार वरिपरिकेन्द्रित कोलाहल पनि केही दिनका लागि मथ्थर भयो । भिमफेदी घटनालाई बिर्साउने गरी यो कोलाहल तराई–मधेशतिर झरेको अनुभूति सबैले गरे । सँधै सत्ताको हिसाबकिताबमा व्यस्त रहने राजनीतिक दलका नेतामध्ये केही प्रमुखहरु यसपटक ‘छठ’ पर्वको अवसर पारेर मधेश झरे ।

Sponsored Advertisement

झट्ट हेर्दा यो खासै महत्वपूर्ण कुरो नहुन सक्छ । नेपाली नागरिक हुन, यस दृष्टिले नेपालमा कुनै पनि ठाउँमा आवतजावत गर्दा प्रश्न उठ्नुपर्ने विषय होइन । छठ परमेश्वरी र सूर्यदेव जाग्रत देवता मानिन्छन् । तिनको उपासनाका सन्दर्भमा कसैले आफूलाई प्रस्तुत् गर्छ भने त्यो पनि ठूलो कुरो भएन । कसैको ‘भाकल’ पूरा भएको हुन सक्छ भने कोही नयाँ ‘भाकल’ राख्न त्यहाँ पुगेका हुन सक्छन् । कसैमा संस्कृतिप्रति प्रेम जागेको हुन सक्छ, त्यसैको अध्ययन र अवलोकनका सन्दर्भमा पनि मधेश झरेका हुन सक्छन । विश्लेषण गर्न सबै स्वतन्त्र छन्, तर एउटा प्रश्न त उठ्छ–प्रायः सँधै काठमाडौमै रुमल्लिइरहने नेताहरु अचानक छठलाई कारण देखाउँदै किन मधेश झरे ? यसको उत्तर खोजिनु सान्दर्भिक हुन्छ । 

सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनकपुरको ऐतिहासिक गङ्गासागरदेखि महोत्तरीको मटिहानीसम्मका घाटमा सूर्यलाई सन्ध्याअघ्र्य त अर्पण गरे नै उनी एकदिन पहिले नै उपस्थित भएर सपत्नीक खरनाको पूजामा समेत सहभागी भए । यस्तै नेपाली कांग्रेसका सभापति गगन थापा सिमरा हुँदै सर्लाही–४ सम्म पुगे र आइतवार आफ्नो निर्वाचन क्षेत्रमा सँझिया घाटमा उपस्थित भएर अस्ताउँदो सूर्यलाइ अघर््य अर्पण गरे । उनी सोमवार विहान उदाउँदो सूर्यलाई अघर््य अर्पण गर्न वीरगञ्ज पुगे ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ सिरहामा सूर्यलाई नमस्कार गर्दै गरेको देखिए । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल हेटौंडा हुँदै वीरगन्जका घाटहरूमा देखिए भने छठको पूर्वसन्ध्यामा कांग्रेसका महासचिव प्रदीप पौडेल पनि मधेशमा झुल्किएको देखिए । कांग्रसकै महामन्त्री डिला संग्रौला मोरंगको बुढीगंगामा छठी माताका सामु हात जोडदै देखा परिन । रास्वपाका सचेतक प्रकाशचन्द्र परियार नवलपरासी स्थीत छठ घाटमा देखिए भने राप्रपा नेतृ खुश्बु ओली पनि छठको पूजा गर्दै मधेशमा देखिइन ।

प्रमुख अन्य दलका नेताहरू पनि घोषितरूपमै मधेसका विभिन्न जिल्लामा केन्द्रित भए । केही नेताको त थातथलो नै मधेश भएकाले उनीहरुको उपस्थितिलाई सामान्य नै मान्नु पर्छ । तर छठ घाटमा नेताहरुको उपस्थितिको यो सूची निकै लामो हुन सक्छ । यहाँ सबैको नाम उल्लेख गर्न सम्भव हुँदैन । यस्तोमा प्रश्न त उठ्छ, यस्तो उपस्थितिलाई स्वाभाविक मान्ने कि अस्वाभाविक ?   

नेपाली संस्कृतिमा चाडपर्वहरू केवल धार्मिक अनुष्ठान वा पारिवारिक मिलनका माध्यम मात्र होइनन; यी समाजको मनोविज्ञान, सामूहिक भावना र राजनीतिक अन्तर्यलाई बुझ्ने जीवन्त अवसर पनि हुन । पछिल्लो एक÷डेढ दशकयता छठ पर्व तराई–मधेसको भूगोल र सीमानाबाट उक्लिएर पहाड, उपत्यका र राष्ट्रिय राजनीतिको केन्द्रसम्मै स्थापित भएको छ । यो सत्य हाम्रासामु छर्लङ्ग छ । अब त यो पर्वले अन्तर्राष्ट्रिय आकारसमेत ग्रहण गरिसकेको अवस्थामा यसको महत्व मात्र घाट र जलाशयसम्म मात्र पक्कै पनि सीमित छैन । 

विगतमा राजधानीका रानीपोखरी, कमलपोखरी, वागमती वा गुह्येश्वरीका घाटहरूमा पुगेर शीर्ष नेताहरूले शुभकामना दिनु र प्रसाद ग्रहण गर्नु एक किसिमको औपचारिकता थियो । तर, यसपटकको छठ पर्वले नेपाली राजनीतिमा एउटा नितान्त नौलो र राजनीतिक रूपले गहिरो अर्थ बोक्ने प्रवृत्ति जन्माएकोे छ । राजनीतिका खेलाडीहरु मैदानमै ओर्लिएर ‘राजनीति खेल’मा सक्रिय हुन पुगेका छन् । काठमाडौंको सुरक्षित घेराबाट निस्केर नेताहरू सीधा मधेसका घाटहरूमा ओर्लिने चाखलाग्दो होडबाजी देखिएको छ । यतिमात्र होइन मधेशकै भाषाहरुमा ‘छठ सम्बोधन’को रणनीति पनि अनुभव गरिएको छ । 

काठमाडौंबाट मधेसका घाटसम्मको ‘रुट चेन्ज’

विगतमा विज्ञप्तिबाजी र टेलिभिजनका पर्दामा सीमित रहने नेताहरू व्यक्तिगतरूपमै मधेसका घाटहरूमा उभिनु निश्चय पनि संयोग मात्र होइन । माथि पनि चर्चा गरियो, छठमा सहभागी हुनु नितान्त व्यक्तिगत कारण पनि हुन सक्छ, तर विद्यमान अवस्थामा विश्लेषण गर्ने हो भने यसको राजनीतिक अर्थ लगाउन सकिन्छ । यसलाई नेपाली राजनीतिको बदलिंदो खाका र आगामी चुनावी रणनीतिको स्पष्ट संकेतका रुपमा पनि बुझ्नु गलत हुँदैन । यस आधारमा भन्ने हो भने नेताहरुले अबको सत्ताको बाटो पुनः मधेश भएरै जाने बुझाइका आधारमा काठमाडौबाट मधेशको घाटसम्मको ‘रुट चेन्ज’ गरेको मान्नु अस्वाभाविक हुँदैन । 

चुनावी गन्ध र ‘रेडिमेड मास’ को खोजी

परम्परादेखि मधेशको समाजमा भिजेको छठ यस्तो पर्व हो जसका नाममा सार्वजनिक स्थलमा स्वतःस्फूर्तरुपमा ‘मास’ अर्थात जनसमुदाय एकत्रित हुन्छन् । मधेशमा छठमात्र यस्तो पर्व हो जसको आयोजना बन्द कोठामा हुँदैन । यो यस्तो पर्व हो जसका लागि मन्त्र र पण्डित दुबै आवश्यक पर्दैनन् । सबै समानरुपले सहभागी हुन सक्छन् । प्रायः काठमाडौं बस्ने नेताले छठको यो विशेषता बुझेरै हुनुपर्छ छठको ‘उपयोग’ गर्न चाहेको । यसो हो भने यसलाई चाडपर्वमाथि राजनीतिको ‘अतिक्रमण’ का रुपमा बुझ्नु उचित हुन्छ । केहीले आउँदो 

आगामी फागुन–चैततिर स्थानीय तहको निर्वाचन हुने चर्चाका बीच यतिबेला राजनीतिक वृत्त तातेको छ । यही पृष्ठभूमिमा दलहरूका लागि छठ घाट एउटा आकर्षक र शक्तिशाली मञ्च हुनेमा शंका छैन । माथि पनि भनियो, छठको सबैभन्दा ठूलो सामथ्र्य भनेको यसमा हुने स्वतःस्फूर्त जनसहभागिता हो । कुनै पनि राजनीतिक दलले आमसभा गरेर जुटाउन नसक्ने हजारौंको भीड छठ घाटमा स्वतः उपस्थित हुन्छ । खासमा यो दलहरूका लागि ‘रेडिमेड मास’ हो, जो कुनैपनि राजनीतिक दलका लागि महत्वपूर्ण हुनेमा विमति हुन सक्दैन । मधेसको मतलाई सधैं निर्णायक मानिंदै आएको छ र परम्परागत क्षेत्रीय दलहरूको प्रभाव खस्कँदै गएको वर्तमान राजनीतिक अवस्थामा, काठमाडौकेन्द्रित दलहरु त्यो ‘राजनीतिक भ्याकुम’ लाई ‘क्यास’ गर्न सांस्कृतिक मञ्चको यो ‘सफ्ट पावर’ उपयोगी हुन सक्ने बुझाइमा छन् । यो कुरा गत फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनले पुष्टि गरिसकेको छ सिंहदरवार प्रवेशको बाटो मधेशबाटै निर्माण भएको थियो । 

आस्थामाथिको ‘राजनीति’

सूर्यप्रतिको निष्ठा, प्रकृतिप्रतिको कृतज्ञता र समानताको प्रतीक छठ घाटमा जब नेताको भीड बाक्लो हुन्छ, तब त्यहाँ आस्थाभन्दा बढी चुनावी अंकगणितको गणना हुन थाल्छ । अहिलेका ‘मतदाता’ पहिलेका जस्ता छैनन् । उनीहरु अवस्था–व्यवस्थाको विश्लेषण गर्न सक्छन् । छठघाटमा उपस्थित भएका अधिकांश मतदाताले नदी–पोखरीको पानी र रजनीतिबीचको ‘कनेक्शन’को अर्थ बुझिसकेका छन्भन्दा अन्यथा ठहर्दैन । नेताहरूले मधेसको चाडप्रति देखाएको सम्मान स्वागतयोग्य होला, तर प्रश्न यो उठ्छ— के यसको सम्बन्ध भोट बटुल्ने कर्मकाण्डी प्रक्रियासम्म मात्र त सीमित छैन ?

मधेसका जनता आज पनि उखुको भुक्तानी नपाएको पीडा, सुर्ती खेती गर्न नपाएर वारन घर (सुर्तीको पात सुकाउने घर) भत्काएको व्यथा, रासायनिक मल नपाएर बाँझो रहन गएको खेतको कथाका भुक्तभोगी पात्र हुन । उनीहरु अझैं पनि वेरोजगारी, खाडी पलायन र आधारभूत स्वास्थ्य तथा शिक्षाको अभावसँग संघर्ष गरिरहेका छन् ।

छठ घाटमा सूर्योपासनामा तल्लीन हुने अधिकांश श्रद्धालु–व्रतालुको भाखल यसै सेरोफेरोमा होला भन्ने बुझ्न कठिन छैन । तर राजनीतिक उपलब्धिको अभिलाषा बोकर छठ घाटमा भाकल गर्न पुगेकाले मधेशका ‘रेडिमेड मास’को मनोदशाको विश्लेषण गर्न सके कि सकेनन ? एउटा कुरा नेताहरुले बुझ्नैपर्छ–यो देशको राजनीति र सत्ता सँधै मधेशले नै परिवर्तन गर्दै आएको छ । यहाँको जन समुदाय कसैका लागि पनि स्थायी ‘भोट बैंक’ होइनन् । 

नेताहरूको मधेसप्रतिको यो मोह चुनाव जित्ने मेलो मात्रै बन्यो भने, यो पर्वको पवित्रता र जनताको विश्वास दुवैमाथि धोका हुनेछ । नेताहरूको घाटप्रतिको देखिने यो झुकाव चुनावको मुखमा देखिने चुनावी नाटक मात्र नभई मधेसको समृद्धि, विकास र आत्मसम्मानप्रतिको इमानदार प्रतिबद्धतामा रूपान्तरण हुन सके मात्रै यो नयाँ प्रवृत्तिको वास्तविक सार्थकता पुष्टि हुनेछ । 

(लेखक झा नेपाल न्यूज बैंकका प्रमुख सम्पादकीय सल्लाहकार तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष हुन ।)

थप समाचार