काठमाडौं : खिचापोखरीस्थित चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित गरेको छ।
२९ जना संस्थापक सदस्यबाट सुरु भएको संस्थाले दुई दशकको यात्रा तय गर्दै गर्दा आफ्नो वित्तीय आधार पनि विस्तार गरेको छ । हाल संस्थामा १ हजार ९७५ जना शेयर सदस्य आबद्ध छन् । संस्थाको कुल शेयर पुँजी करिब ८ करोड रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ७५ करोड रुपैयाँभन्दा बढी र कर्जा लगानी करिब ३९ करोड रुपैयाँ पुगेको छ ।
खिचापोखरी, न्यूरोडस्थित आफ्नै आधुनिक तथा सुविधासम्पन्न भवनबाट वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले सदस्यको विश्वास, पारदर्शिता र संस्थागत सुशासनलाई आफ्नो प्राथमिकतामा राख्दै आएको छ ।
सहकारी क्षेत्रमा वित्तीय अनुशासन र संस्थागत सुशासनको विषय महत्वपूर्ण बन्दै गएको अवस्थामा संस्थाले नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनुसारको लेखा प्रणाली कार्यान्वयनमा ल्याएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप वित्तीय विवरण तयार गर्ने प्रणाली अवलम्बन गरेको संस्थाले प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, राष्ट्रिय सहकारी नियमन प्राधिकरण (एनसीआरए) तथा सम्पत्ति शुद्धीकरण निवारण (एएमएल/सीएफटी) सम्बन्धी नियामकीय निर्देशनको पालना गर्दै आएको प्रतिवेदनमा उल्लेख छ ।

वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्व
चाइना ट्रेडले वित्तीय कारोबारका अतिरिक्त सामाजिक उत्तरदायित्व र सदस्य सशक्तीकरणका कार्यक्रमलाई पनि आफ्नो कार्ययोजनामा समेटेको छ । संस्थाले १९औँ स्थापना दिवस तथा वार्षिक कार्ययोजनाअन्तर्गत बृहत् रक्तदान कार्यक्रम र ४० वर्षमाथिका पुरुष सदस्यका लागि निःशुल्क प्रोस्टेट क्यान्सर परीक्षण शिविर सञ्चालन गरेको थियो ।
त्यस्तै, शेयर सदस्यबीच आपसी सम्बन्ध र संस्थाप्रतिको अपनत्व अभिवृद्धि गर्ने उद्देश्यले पदयात्रा, वार्षिक मनोरञ्जन तथा सहभोज कार्यक्रम आयोजना गरिएको थियो । मानव सेवा आश्रममा आश्रित व्यक्तिलाई भोजन गराउने कार्यक्रममार्फत सामाजिक सेवामा समेत योगदान गरेको संस्थाले जनाएको छ ।
साना तथा मझौला व्यवसायमा आबद्ध सदस्यको व्यावसायिक प्रवर्द्धन र क्षमता अभिवृद्धिका लागि ‘CHITCOL Digital Catalyst’ डिजिटल मार्केटिङ तालिमसमेत सञ्चालन गरिएको थियो ।
ऋण व्यवस्थापनदेखि सहकारी एकीकरणसम्मका योजना
१९औँ वार्षिक साधारण सभाले संस्थाको आगामी कार्यदिशासँग सम्बन्धित विभिन्न प्रस्ताव पारित गरेको छ । सभाले कार्यवाहक अध्यक्ष अमरेश चन्द्र बैदारद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्णबहादुर बस्नेतद्वारा प्रस्तुत लेखा सुपरिवेक्षण प्रतिवेदन तथा कोषाध्यक्ष कृष्णबहादुर गुभाजुद्वारा प्रस्तुत बाह्य लेखापरीक्षण प्रतिवेदन अनुमोदन गरेको छ ।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार श्रेष्ठद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम, अनुमानित बजेट तथा लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पारित गरिएको छ ।
सभाले संस्थाको नाममा रहेको सम्पत्ति तथा गैरबैंकिङ सम्पत्ति बिक्री, निष्क्रिय सदस्य र भाखा नाघेको ऋण व्यवस्थापन, अन्य सहकारी संस्थालाई एकीकरण गर्ने तथा बहुउद्देश्यीय प्रकृतिका व्यवसाय सञ्चालनको सम्भाव्यता अध्ययनलगायत विशेष प्रस्तावसमेत पारित गरेको छ ।
अन्य सहकारीका लागि अनुकरणीय बन्न सक्ने
संस्थाका कार्यवाहक अध्यक्ष अमरेश चन्द्र बैदारको सभापतित्व तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संस्थाको वित्तीय अवस्था, उपलब्धि र आगामी योजनाबारे छलफल गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले चुनौतीपूर्ण आर्थिक परिस्थितिका बाबजुद चाइना ट्रेड सहकारीले सदस्य संख्या, शेयर पुँजी र बचतमा उल्लेखनीय वृद्धि गर्न सफल भएको बताए । सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन, एनएफआरएस प्रणालीको कार्यान्वयन र नियामकीय अनुशासन कायम गर्दै सदस्यको विश्वास जित्न सफल हुनु अन्य सहकारी संस्थाका लागि पनि अनुकरणीय रहेको उनको भनाइ थियो ।
काठमाडौं महानगरपालिका–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले चाइना ट्रेड सहकारी न्यूरोड क्षेत्रको एउटा वित्तीय संस्था मात्र नभई स्थानीय विकासको साझेदार, उद्यमशीलताको प्रवर्द्धक र समृद्धिको सहयात्रीका रूपमा स्थापित भएको बताए ।
सभामा वरिष्ठ सहकारी विज्ञ कुबेर निरौलाले ‘सफल सहकारीका लागि सदस्यको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
डिजिटल सेवा विस्तार र सदस्य समृद्धिको लक्ष्य
संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार श्रेष्ठले २०औँ वर्षको यात्रामा साथ र विश्वास प्रदान गर्ने शेयर सदस्य, नियामक निकाय, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति तथा व्यवस्थापन समूहप्रति आभार व्यक्त गरे ।
उनले आगामी दिनमा डिजिटल सेवालाई थप परिष्कृत गर्दै सदस्यकेन्द्रित कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता जनाए । ‘सदस्य समर्पित अग्रणी सहकारी’ बन्ने परिकल्पनासहित आर्थिक सशक्तीकरण र नवप्रवर्तनमार्फत सदस्यको समृद्धिमा योगदान पुर्याउने संस्थाको ध्येय रहेको उनले बताए ।