काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आज (मंसिर ६ गते) भारत प्रस्थान गर्दै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत जान लागेका हुन् ।
प्रधानमन्त्री शाह आज दिउँसो १ः४५ बजे नेपाल वायु सेवा निगमको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार उनी भारतीय समयअनुसार दिउँसो ३ः१५ बजे (नेपाली समय ३ः३० बजे) नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ मा अवतरण गर्नेछन् । उनलाई विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नेछन् ।
गत चैत १३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो । भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ अधिकारी सहभागी हुनेछन् । नयाँदिल्लीस्थित नेपाली राजदूतावासबाट राजदूतसहित केही सदस्य भ्रमण टोलीमा थपिनेछन् ।
भारत पुगेपछि प्रधानमन्त्री शाहले आजै साँझ ६ बजे भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । ताजमहल होटलमा हुने उक्त भेटवार्तापछि भ्रमणको औपचारिक कार्यक्रम अघि बढ्नेछ ।
भ्रमणको दोस्रो दिन सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ । त्यसपछि उनले बिहान १०ः४० बजे महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन् ।
सोमबार बिहान ११ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा प्रधानमन्त्री शाहको भेटवार्ता हुनेछ । दुई देशका प्रधानमन्त्रीबीच नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहयोग तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
भेटवार्तापछि दिउँसो १२ः२५ बजे दुवै पक्षबीच समझदारीपत्र (एमओयू) आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ ।
त्यसैगरी, सोमबार दिउँसो ३ः१५ बजे प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति भवनमा भेटवार्ता गर्नेछन् ।
दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ४ः५० बजे प्रतिनिधिमण्डलसहित स्वदेश फर्कने कार्यक्रम छ ।
प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारतबीचको कूटनीतिक सम्बन्ध थप सुदृढ बनाउने, द्विपक्षीय सहयोग विस्तार गर्ने तथा विभिन्न समझदारी र सम्झौतामार्फत आपसी सहकार्यलाई नयाँ गति दिने अवसरका रूपमा हेरिएको छ ।