काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने औपचारिक भ्रमणका लागि आज आइतबार भारत जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी मंसिर ६ देखि ७ सम्म भारत भ्रमणमा जान लागेका हुन् ।
प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो भारत भ्रमण हो । साथै, प्रधानमन्त्रीका रूपमा उनको यो पहिलो द्विपक्षीय विदेश भ्रमणसमेत हो । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको विमानबाट नयाँदिल्ली प्रस्थान गर्नेछन् । उनीसँग अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकारसहित ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल रहनेछ ।
भारतीय विदेश मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल-भारत सम्बन्धका विविध पक्षको समीक्षा गर्दै व्यापार, लगानी, ऊर्जा, यातायात, पूर्वाधार र सम्पर्क सञ्जाललगायत क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तारबारे छलफल हुनेछ ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै, सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता हुनेछ । वार्तामा आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा समेत विचार आदानप्रदान हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
नेपालका परराष्ट्र सचिव अमृतबहादुर रायका अनुसार दुवै देशका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ । त्यसपछि संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजसमेत आयोजना गर्नेछन् ।
भ्रमणका क्रममा ऊर्जा र सम्पर्क सञ्जालसम्बन्धी सम्पन्न आयोजनाको संयुक्त उद्घाटन तथा नयाँ आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायत क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी पनि छ ।
यसैबीच, नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले नेपाल–भारत व्यापार मञ्च आयोजना गरिनेछ । उक्त मञ्चमा दुवै देशका व्यवसायीले लगानी तथा व्यावसायिक सहकार्यका सम्भावनाबारे छलफल गर्नेछन् ।
भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्ध र जनस्तरको निकटतामा आधारित मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरेको छ । प्रधानमन्त्री शाहको भ्रमणले नियमित उच्चस्तरीय आदानप्रदानलाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो’ नीतिमा नेपालको प्राथमिकता प्रतिबिम्बित गर्ने मन्त्रालयको भनाइ छ । एएनआई