Below Menu

तल्लो अरुण आयोजनाको साढे ११ अर्ब भारुको ठेक्का आह्वान, २०३० भित्र बिजुली उत्पादन गर्ने लक्ष्य

तल्लो अरुण आयोजनाको साढे ११ अर्ब भारुको ठेक्का आह्वान, २०३० भित्र बिजुली उत्पादन गर्ने लक्ष्य

काठमाडौं : ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको एक पक्ष निर्माणका लागि ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँ बराबरको ठेक्का आह्वान भएको छ।

Sponsored Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले आयोजनाबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको जानकारी दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अर्यालले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीबाट आयोजनाको संयुक्त शिलान्यास भइसकेको बताए। निर्धारित समयमै विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माण प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।

यसैगरी, सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा २९ वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। निर्माण तथा परामर्श सेवासम्बन्धी २३ वटा निकायलाई आवश्यक राय तथा परामर्श उपलब्ध गराइएको र सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ स्वीकृत भई कार्यान्वयनमा आएको अर्यालले जानकारी दिए।

सरकारको नयाँ विद्युतीय खरिद प्रणाली (ई-जीपी) मा कात्तिक महिनासम्म १ हजार ४५२ बोलपत्रदाता र ४९५ सार्वजनिक निकाय दर्ता भएका छन्। प्रणाली सञ्चालन तथा बोलपत्र प्रक्रियामा १७ वटा सार्वजनिक निकायलाई प्राविधिक सहायता उपलब्ध गराइएको पनि उनले बताए।

हेलो सरकारमा प्राप्त गुनासोमध्ये पछिल्लो अवधिमा ३ हजार ५१ वटा गुनासो प्राप्त भएको र तीमध्ये २ हजार ७५४ वटा फर्छ्योट गरिएको अर्यालले जानकारी दिए। फर्छ्योट गरिएका गुनासोमध्ये २ हजार ३४९ वटा समाधान भएका छन्।

यसैबीच, जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारको पुनःस्थापना, जीविकोपार्जन र सामाजिक संरक्षणका लागि सरकारले स्वीकृत गरेको एकीकृत प्याकेज कार्यान्वयनलाई तीव्रता दिने भएको छ।

प्याकेज कार्यान्वयनका लागि गठित समन्वय समितिको बैठक मंसिर ८ गते बसेको र त्यसमा जेनजी घाइते तथा सहिद परिवारका प्रतिनिधिसमेत सहभागी भएको अर्यालले बताए। बैठकले कार्यान्वयन भइसकेका कार्यक्रमलाई निरन्तरता दिने तथा बाँकी कार्यक्रम सम्बन्धित मन्त्रालयहरूले आपसी समन्वयमा अघि बढाउने निर्णय गरेको छ।

त्यस्तै, सरकारले ‘नेपाल जेनजी परिषद् गठन तथा सञ्चालन आदेश, २०८३’ को मस्यौदा तयार गरी अर्थ, गृह र कानुन मन्त्रालयमा राय तथा परामर्शका लागि पठाएको छ। अर्थ र गृह मन्त्रालयबाट राय प्राप्त भइसकेको र प्राप्त सुझाव समेटेर मस्यौदा परिमार्जन गरी कानुन मन्त्रालयमा पठाउने तयारी भइरहेको अर्यालले जानकारी दिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघ, प्रदेश र स्थानीय तहका वार्षिक कार्यक्रम तथा बजेटबीच नीतिगत सामञ्जस्यता कायम गर्न पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययन गर्ने ढाँचा पनि तयार गरेको छ। यसबाट तीनै तहका सरकारका कार्यक्रमबीच हुने दोहोरोपन र दोहोरिने लगानी न्यूनीकरण हुने अपेक्षा गरिएको छ।

यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मंसिर ११ गते बिहान ९ बजेसम्म १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ जम्मा भएको प्रवक्ता अर्यालले जानकारी दिएका छन्।

थप समाचार