काठमाडौं : ‘युवासँग–महालक्ष्मी लाइफ’को सफलतापछि महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तीकरणमा–महालक्ष्मी लाइफ’ कार्यक्रमको शुभारम्भ गरेको छ।
कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पुस ४ गते चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आयोजित समारोहमा पानसमा बत्ती बालेर उक्त कार्यक्रमको उद्घाटन गरेका हुन्। कार्यक्रममा देशभरिबाट शाखा तथा उपशाखा प्रमुख र अधिकृतहरुसमेत गरी ७५ जनाको उपस्थिति थियो।
समारोहमा अध्यक्ष मनोरञ्जन रमण शर्माले आफ्नो उद्घाटन मन्तव्य दिँदै कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महिला सशक्तीकरणका लागि कार्यक्रम सञ्चालन गर्न लागेको बताए। समाजमा पिछडिएका तथा आर्थिक रुपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति पनि नहुने भएकोले उनीहरुलाई अगाडि बढाउनेयस्ता कार्यक्रम फलदायी हुने उनले विश्वास व्यक्त गरे।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले ‘महिला सशक्तीकरणमा–महालक्ष्मी लाइफ’ कार्यक्रमको विस्तृत अवधारणा र महिला सशक्तीकरणमा कार्यक्रमले पार्ने प्रभावका बारेमा जानकारी गराए। ‘देशमा महिलाको जनसंख्या पुरुषको दाजोमा बढ्दै गइरहेकोले उनीहरुलाई सक्षम र आर्थिक रुपमा सवल नवनाई देशअघि बढ्न सक्दैन’, उनले भने, ‘महिलाहरुलाई तालिम दिई रोजगारीमार्फत आयआर्जनको बाटोमा अग्रसर गराउन यो कार्यक्रम उपयोगी र फलदायी हुनेछ।’
Advertisment