Below Menu
Below Menu

८२.६२ प्रतिशतले बढ्यो लघुवित्तको निष्कृय कर्जा

८२.६२ प्रतिशतले बढ्यो लघुवित्तको निष्कृय कर्जा

काठमाडौं : लघुवित्त वित्तीय संस्थाको निष्कृय कर्जा ८२.६२ प्रतिशतसम्म बढेको प्रतिवेदनले देखाएको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार २०७९ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात २.५६ प्रतिशत रहेको मा पछिल्लो छ महिनामा निष्क्रिय कर्जा ८२.६२ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको सोही अवधिमा १७.०३ प्रतिशतले मात्र निष्कृय कर्जा बढेको थियो।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक अवधिको ‘लघुवित्त वित्तीय संस्थाको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन’ अनुसार थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा रकममा उल्लेखनीय वृद्वि भएको उल्लेख छ।

६४ वटा लघुवित्त वित्तीय संस्थामध्ये ४ वटा थोक कर्जा प्रदायक र ६० वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था छन्। 

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्तले प्रवाह गरेको कूल कर्जा रकम गत असारको तुलनामा ३.१७ प्रतिशतले बढेर पुस मसान्तसम्म ५९ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। त्यस्तै खुद्रा कर्जा प्रदायक लघुवित्तले प्रवाह गरेको कूल कर्जा तथा सापट रकम पुस मसान्तमा ३ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँ छ।

पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्तको निष्क्रिय कर्जा ५२ करोड रुपैयाँ (०.८७ प्रतिशत ) र खुद्रा कर्जा प्रदायक लघुवित्तको निष्क्रिय कर्जा १८ अर्ब ३४ करोड रुपैयाँ (४.६८ प्रतिशत) रहेको प्रतिवेदनमा उल्लेख छ। 

असार मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्त संस्थाहरुको कूल कर्जामा निष्क्रिय कर्जाको अनुपात २.५६ प्रतिशत मात्र थियो । चालु आ.व.को छ महिनामा निष्क्रिय कर्जा ८२.६२ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।

Advertisment

थप समाचार