रोकिएन वित्तीय संस्था विरुद्धको आक्रमण, नरोकिए सेवा बन्द गर्ने चेतावनी

रोकिएन वित्तीय संस्था विरुद्धको आक्रमण,  नरोकिए सेवा बन्द गर्ने चेतावनी

काठमाडौं : बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले पछिल्लो समय बैंकिङ क्षेत्रमा भइरहेका आक्रमणप्रति निन्दा व्यक्त गर्दे दोषीहरुमाथि शीघ्र कारबाही गर्न माग गरेको छ।

Sponsored Advertisement

नेपाल बैंकर्स संघ (एनबीए), डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आज संयुक्त विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही व्यक्ति तथा समूहले बैंक तथा वित्तीय र लघुवित्त संस्थाहरुका कर्मचारीहरुप्रति लक्षित गरी दिइएको धम्कीपूर्ण अभिव्यक्ति, अराजक व्यवहार र सांघातिक आक्रमणको भर्त्सना गरेको हाे।

‘बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुले ग्राहकको सेवालाई प्राथमिकतामा राखेर निरन्तर रुपमा देशभरी सेवा प्रदान गर्दै आएको कुरा सर्वविदितै छ’, विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न समयमा मुलुकमा आइपरेको महाभूकम्प, कोभिड महामारीजस्ता विषम परिस्थितीमा समेत आफ्नो ज्यानलाई जोखिममा राखेर अग्रपंक्तिमा रही सेवा प्रदान गरेका हाम्रा कर्मचारीहरुमाथि जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्कीलगायतका क्षेत्रमा भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दीप्रति हाम्रो घोर आपत्ति रहेको छ र त्यस्ता घट्नामा संलग्न दोषीहरुलाई यथाशीघ्र हदैसम्मको कारबाहीको माग गर्दछौँ ।’

अराजक र उत्तेजित अभिव्यक्ति दिई यस प्रकारका घटनालाई प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानुनी दायरामा ल्याउन विज्ञप्तिमा माग गरिएको छ। ‘यस प्रकारका अप्रिय घटना नरोकिएमा कर्मचारीहरुको सुरक्षाका लागि बैंकिङ सेवा नै सुचारु हुन नसक्ने सम्भावना रहन्छ’, विज्ञप्तिमा भनिएको छ।

बैंकिङ जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको आक्रमणले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको हुंदा यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानुन आफ्नो हातमा लिई भइरहेका अराजक घटनालाई समयमैै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसँग विज्ञप्तिमा आग्रह गरिएको छ।

थप समाचार