काठमाडौं : राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्षको नेतृत्वमा सहकारीकर्मीहरुले सडक आन्दोलन सुरु गर्ने भएका छन्। राष्ट्रिय सहकारी दिवसको अवसरमा चैत्र २० गते माइतीघर मण्डलामा सहकारीको शक्ती प्रदर्शन गर्न लागेको हो ।
सहकारीको समस्या सरकारले नसुनेको भन्दै सहकारी दिवसको अवसरमा सहकारीकर्मीहरुले शक्ती प्रदर्शन गर्न लागेका हुन् । महासंघको आईतबार बसेको २०५औं सञ्चालक समितिको बैठकले वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको संयोजकत्वमा तीन सदस्यीय ‘समस्या समाधान संयोजन समिति’ गठन गरेको थियो । सोही समितिले ६६औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति समेत गठन गरेको छ । सहकारीका समस्या समाधान गर्न गठित समितिले सहकारी दिवस मूल समारोह समिति गठन भएपछि विरोध समेत सुरु भएको छ।
सोही ‘समस्या समाधान संयोजन समिति’ ले २० गतेको कार्यक्रम आयोजना गरिएको संयोजक मल्लेले बताईन । संयोजक मल्लले सडक आन्दोलनको पहिलो रुप चैत्र २० गते हुने समेत बुधबार आयोजित पत्रकार सम्मेलनमा बताईन । ‘२० गतेको कार्यक्रम सडकमा उत्रिएको पहिलो कार्यक्रम हो’, उनले भनिन्, ‘२३, २४ र २५ गतेको राष्ट्रिय सहकारी महासम्मेलन सकिएपछि २७ गतेदेखि दबाबका कार्यक्रम निरन्तर हुन्छ । यो रोकिन्न ।’
आफ्ना मागहरु प्रति सरकारको ध्यान नगएका कारण सडक आन्दोलनमा उत्रिन बाध्य हुनपरेको मल्लको भनाई छ । यसका साथै सरकारले माग पुरा नगरेसम्म आन्दोलन नरोकिने उनले बताईन्।
पत्रकार सम्मेलनमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालको समेत उपस्थिती थियो ।
Advertisment