Below Menu

बराह सहकारी ठगी प्रकरणमा दुई जना पक्राउ

बराह सहकारी ठगी प्रकरणमा दुई जना पक्राउ

इनरुवा : सुनसरी धरान उपमहानगरपालिकामा रहेको बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन तथा ठगी गरेको आरोपमा दुई जना बुधबार पक्राउ परेका छन् । 

Sponsored Advertisement

पक्राउ पर्नेमा संस्थाका संस्थापक धरान उपमहानगरपालिका-१२ घर भइ काठमाडौं महानगरपालिका-२२ बस्दै आएका ४५ वर्षीय शिवकुमार विश्वकर्मा (लामिछाने) र धरान उपमहानगरपालिका-१५ निवासी ३३ वर्षीया अस्मिता भण्डारी रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । 

दुवै जनालाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरीको टोलीले नेपाल-भारत सीमावर्ती क्षेत्रबाट दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । 

पक्राउ परेका भण्डारी बचत तथा ऋण सहकारी संस्थाको ऋण उपसमिति सदस्य, ग्राहक सेवा (कस्टमर केयर) कर्मचारी तथा बराह ग्रुपको कोशी प्रदेश सचिवालयकी सदस्य हुन् । 

सहकारीसँग सम्बन्धित सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा नेपाल सरकार वादी रहेको मुद्दामा १७ हजार १० जना बचतकर्ता पीडित रहेको छ । शङ्कर थापा सहित चार हजार २४३ जनाको जाहेरीका आधारमा दुवै जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

यस मुद्धामा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैया बिगो दाबी रहेको छ । 

बराह सहकारीको मुख्य कार्यालय धरानमा रहेको र सहकारीसँग आबद्ध नेपालभर ३० वटा तथा विदेशमा चारवटा कम्पनी स्थापना गरी विभिन्न मितिमा बचतकर्ताले जम्मा गरेको रकम अपचलन तथा ठगी गरेको आरोप छ ।

पक्राउ परेका दुवै जना माथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार