Below Menu
Below Menu

मीटर ब्याज सधैंका लागि अन्त्य हुन्छ: प्रधानमन्त्री

‘तपाईंहरू आश्वस्त भएर मात्र घर फर्किनुहोला’

मीटर ब्याज सधैंका लागि अन्त्य हुन्छ: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटर ब्याज सधैंका लागि अन्त्य हुने बताएका छन् । सामन्तवादको अवशेषका रूपमा रहेको मीटर ब्याजलाई सधैंका लागि अन्त्य गर्न सरकार गम्भीर रहेको बताए । उनले मीटर ब्याज पीडितहरूको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले काम अघि बढाएको समेत बताए ।

शनिबार मिटर ब्याज पीडितहरूसँग भएको भेट गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘दीर्घकालिन समाधानका लागि विद्यमान कानुन अपर्याप्त छ । सरकारले कानुन निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ ।’ प्रधानमन्त्री प्रचण्डले पीडितहरूका समस्या समाधान गर्न न्यायिक अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठनको प्रक्रिया समेत अघि बढेको बताए । मीटर ब्याज पीडितहरूको समस्याबारे आफू जानकार रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले पार्टी अध्यक्षको हैसियतमा रहेको बेला समेत मिटर ब्याजीहरूमाथि कारबाहीका लागि पहल गरेको बताए । मिटर ब्याज पीडितहरूले मार्च गर्दै राजधानी आएकोमा समेत धन्यवाद दिए ।

‘तपाईहरू यसरी पैदल हिँडेर काठमाडौं आउनुभयो । तपाईहरूको समस्या राष्ट्रियरूपमा सुनियो । अहिले पनि हाम्रो समाजमा यस्तो शोषण बाँकी नै छ भन्ने कुरा राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रियरूपमा समेत सबैले थाहा पाए । तपाईहरूलाई धन्यवाद छ’, प्रधानमन्त्रीले भने, ‘मैले जिल्लाबाट हिँडेदेखि नै तपाईहरूको बारेमा जानकारी लिइरहेको छु । तपाईहरूलाई कहिँ कतै अप्ठ्यारो नपर्न दिन गृहलाई निर्देशन पनि दिएको छु ।’

आफ्नै वर्ग र जनतासँग कुराकानी गरिरहेको अनुभूति भइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले आफूले आश्वासन मात्रै नदिइरहेकोमा जोड दिए । ‘मलाई तपाईहरूसँग कुरा गर्दा आफ्नै वर्गसँग कुराकानी गरिरहेको अनुभूति भइरहेको छ । मैले आश्वासन मात्रै दिइरहेको छैन । यो समस्या हल हुन्छ । तपाईहरू आश्वस्त भएर मात्र घर फर्किनुहोला ।’

Advertisment

थप समाचार