Below Menu
Below Menu

नागरिकतासँगै प्यान कार्ड दिन चेम्बरको प्रस्ताव

नागरिकतासँगै प्यान कार्ड दिन चेम्बरको प्रस्ताव

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महत समक्ष करको दायरा बढाएर राजश्व संकलनको लक्ष्य पुरा गर्नुपर्ने धारणा ब्यक्त गरेको छ । अध्यक्ष राजेन्द्र मल्ल सहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. महतसँग भेटवार्ता गरेको हो । 

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘करको दर वृद्धि गर्नु भन्दा करको दायरा बढाईनुपर्दछ । यसका लागि नागरिकतासंगै प्यानकार्डको पनि व्यवस्था गरिनुपर्दछ ।’ चेम्बर अध्यक्ष राजेन्द्र मल्लले सीमामा हुने अवैध ब्यापारलाई पनि निरुत्साहित गरी करको दायरामा ल्याउनुपर्नेमा जोड दिए । बिल लिने÷दिने व्यवस्थालाई पनि अनिवार्य रुपमा कार्यान्व्यनमा ल्याउनुपर्ने अध्यक्ष मल्लले जोड दिए।

चेम्बर पदाधिकारीसमक्ष अर्थमन्त्री डा. महतले अर्थतन्त्रको पछिल्लो अवस्थालाई गम्भिरताका साथ लिएको बताए । बजेट र मौद्रिक नीतिको सफल कार्यन्वयनका लागि समन्वय भईरहेको अर्थमन्त्री महतको भनाई छ । अर्थमन्त्रीले भने, ‘अर्थतन्त्र चलायमान हुन सकेको छैन, यस विषयमा मैले गर्भनर महाप्रसाद अधिकारी लगायत सरोकारवाला निकायका सचिवहरुसंग पनि छलफल गरिरहेको छु ।’ लक्ष्य अनुसार कर उठ्न नसकेको विषयमा भन्सारका अधिकारीहरुसंग आफुले जानकारी लिईरहेको डा महतको भनाई छ । आगामी आर्थिक वर्षबाट  अर्थतन्त्रले लय समाउने उनले बताए ।  

नवनियुक्त अर्थमन्त्री डा. महतसमक्ष चेम्बरले समसामयिक आर्थिक विषयमा बिभिन्न १७ बुँदामा सुझाव समेत दिएको छ । अर्थमन्त्रीलाई सुझाव दिने क्रममा चेम्बर अध्यक्ष मल्लले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि छिटोभन्दा छिटो एकल ब्याजदर कायम गर्न समेत आग्रह गरेका थिए । त्यस्तै अध्यक्ष मल्लले तरलता अभावलाई व्यवस्थित गर्नका लागि पुँजिगत खर्चमा टाईम बाउण्ड एक्सन प्लान बनाई कार्यान्वयन गरिनुपर्नेमा जोड समेत दिए । चेम्बरले रेमिट्यान्सको पैसालाई उत्पादनमुलक क्षेत्रमा लगानी प्रोत्साहन गर्न समेत आग्रह गरेको छ ।

चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रेमिट्यान्सबाट भित्रने रकमको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च भईरहेको छ, । यस्तो परिस्थितीमा बैंकिङ च्यानल मार्फत मुलुक भित्रने रेमिट्यान्सलाई ऊर्जा लगायत पूर्वाधार तथा उत्पादनमुलुक क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्न आवश्यक छ ।’

चालु पुँजि मार्ग निर्देशनलाई निजी क्षेत्र, बिज्ञ समूह, तथा सरोकारवाला निकायसँग बिस्तृत छलफलपछि मात्रै कार्यन्वयनमा ल्याउन समेत चेम्बरले जोड दिएको छ । 

चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष मल्लसहित निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्षहरु सुरेन्द्र कुमार श्रेष्ठ, दिपक श्रेष्ठ, दिपक कुमार मल्होत्रा, उर्मिला श्रेष्ठ लगायतका कार्यसमिति सदस्यहरुको उपस्थिती रहेको थियो ।

Advertisment

थप समाचार