काठमाडौं : तेश्रो राष्ट्रिय सहकारी महासम्मेलन-२०७९ मा इन्फोडेभलोपर्स डिजिटल पार्टनर हुने भएको छ।
‘सहकारीको दिगोपनका लागि स्वनियम तथा सुसासन’ भन्ने थिमका साथ चैत्र २३, २४ र २५ गते महासम्मेलन हुँदैछ । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा हुने महासम्मेलन झण्डै एक हजार जनाको सहभागिता रहनेछ ।
राजधानीको होटल याक एण्ड यतिमा आयोजना हुने महासम्मेलनमा देशभरका सहकारीकर्मी, नेपाल सरकारका प्रतिनिधि, प्रदेश सरकारका प्रतिनिधि, स्थानिय तहका प्रतिनिधि, बैंकर्स, गैरसरकारी संस्थाका प्रतिनिधि, सहकारीका सरोकारवाला निकायका प्रतिनिधिका र विदेशी पाहुनासहित करिब १ हजार जनाको सहभागिता रहने महासंघका अध्यक्ष मिनराज कडेलले जानकारी दिए।
महासम्मेलनमा सहकारी क्षेत्रको उपलब्धी, सहकारी क्षेत्रमा देखिएको वर्तमान समस्या, समाधानको बाटो, आगामी कार्यदिशाको बारेमा घनिभूत छलफल हुने जनाएको छ। महासम्मेलनको उद्घाटन चैत २३ गते (बिहीबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समापन चैत २५ गते (शनिबार) पूर्व प्रधानमन्त्री एवंम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको महासंघका महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बाले जानकारी दिईन । महासम्मेलनमा ११ वटा विषयमा व्यापक छलफल गरी घोषणा पत्र जारी गरिने महाप्रबन्धक सुब्बाले बताईन ।
महासम्मेलनका डिजिटल पार्टनरको रुपमा रहेको इन्फोडेभलोपर्सले सहकारी तथा लघुवित्तका लागि विभिन्न सफ्टवेयर प्रडक्ट र परियोजनामा काम गरिरहेको कम्पनी हो। यस कम्पनिले सहकारीहरूको लागि कोर बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, बजार प्रतिनिधिहरुले सहकारी र लघुवित्तका सदस्यहरु रहेको स्थानबाटै रकम जम्मा गर्न सक्ने सुविधाहरु दिँदै आएको छ।
Advertisment