भरतपुर महानगरले खाली गरायो नर्सिङ कक्षा सञ्चालन गरेको जग्गा 

भरतपुर महानगरले खाली गरायो नर्सिङ कक्षा सञ्चालन गरेको जग्गा 

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा सार्वजनिक जग्गा कब्जा गरेर नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि महानगरले खाली गराएको छ । प्रसूति गृह सञ्चालनका लागि उपलब्ध गराएको जग्गामा नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि महानगरले सो जग्गा खाली गराएको हो ।

Sponsored Advertisement

भरतपुर–३ नगरबनमा डेढ बिघा जग्गामा बनाइएको भवन महानगरले प्रसूति गृह सञ्चालनका लागि लायन्स क्लब अफ नारायणगढलाई उपलब्ध गराएको थियो । तर बालकुमारी कलेजले उक्त जग्गामा रहेको भवनमा नर्सिङ कक्षा सञ्चालन गर्दैआएको थियो । यसरी आफ्नो जग्गा व्यापारिक लाभका लागि प्रयोग भएको पाइएपछि आफ्नो स्वामित्वमा ल्याएको भरतपुर–३ का वडाध्यक्ष विकास थापाले बताए । उनका अनुसार नगरप्रहरी र सुरक्षाकर्मीसहितको टोलीले आज उक्त जग्गा खाली गराएको हो ।

महानगरले २०५८ सालमा प्रसूति गृह सञ्चालनका लागि लायन्स क्लब अफ नारायणगढलाई जग्गा उपलब्ध गराएको थियो । त्यसको दुई वर्षपछि लायन्स क्लबले बालकुमारी कलेजलाई भोगचलनका लागि दिएको पाइएको वडाध्यक्ष थापाको भनाइ छ । “उद्देश्यभन्दा फरकरुपमा भवन प्रयोग गरेको पाइएकाले खाली गराएका हौँ”, उनले भने, “पत्राचार गर्दा पनि अटेरी गर्दा बल प्रयोग गरी भवन खाली गरेका हौँ ।”

बालकुमारी कलेजका सञ्चालक समितिका अध्यक्ष प्रमोदकुमार श्रेष्ठले प्रसूति गृह सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति नपाएपछि नर्सिङ कक्षा सञ्चालन गर्न बाध्य भएको बताए । 

थप समाचार