काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा उपभोक्ता मुद्रास्फीति उल्लेख्य रूपमा बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.४७ प्रतिशत मात्र थियो ।राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनाको औसत उपभोक्ता मुद्रास्फीति ६.२२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा औसत मुद्रास्फीति १.६७ प्रतिशत थियो ।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक थियो ।
त्यस्तै, गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.४६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यो दर ३.८० प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत सबैभन्दा बढी घ्यू तथा तेलको मूल्यवृद्धि भएको छ । यस उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १६.४४ प्रतिशतले बढेको छ ।
त्यसैगरी फलफूलको मूल्य १५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको ११.८४ प्रतिशत, माछा तथा मासुको ८.९१ प्रतिशत, मरमसलाको ७.७१ प्रतिशत र तरकारीको ७.२८ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्यवृद्धि सबैभन्दा बढी १२.९७ प्रतिशत रहेको छ । यस्तै, मदिराजन्य पेय पदार्थको मूल्य ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ६.०१ प्रतिशत र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार असोज महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.६३ प्रतिशत रहेको छ । सहरी क्षेत्रमा भने यस्तो मुद्रास्फीति ६.२८ प्रतिशत रहेको छ । यसअनुसार सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा मूल्यवृद्धिको दर बढी देखिएको छ ।
प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा बढी ७.३७ प्रतिशत मुद्रास्फीति रहेको छ । सुदूरपश्चिम प्रदेशमा भने सबैभन्दा कम ५.१३ प्रतिशत रहेको छ ।
त्यस्तै, भौगोलिक क्षेत्रका आधारमा काठमाडौं उपत्यकामा ५.९२ प्रतिशत, तराईमा ६.८८ प्रतिशत, पहाडमा ६.१४ प्रतिशत र हिमाली क्षेत्रमा ५.५७ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ ।
उपभोक्ता मूल्यसँगै थोक मूल्यमा समेत वृद्धि देखिएको छ । २०८३ असोजमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ७.२९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.३२ प्रतिशत थियो ।
समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.८७ प्रतिशतले बढेको छ । मध्यवर्ती वस्तुको थोक मुद्रास्फीति ९.९८ प्रतिशत र पुँजीगत वस्तुको ६.५६ प्रतिशत रहेको छ ।
त्यसैगरी निर्माण सामग्रीको वार्षिक विन्दुगत थोक मुद्रास्फीति ५.९३ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।