काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई नेपाल–भारतबीचको आर्थिक सम्बन्ध सुदृढ गर्ने, व्यापार घाटा न्यूनीकरण गर्ने र भारतीय लगानी नेपालमा आकर्षित गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने पूर्वपरराष्ट्रमन्त्रीहरूले बताएका छन् ।
उनीहरूले प्रधानमन्त्रीको भारत भ्रमणमा दुई देशबीचका विद्यमान समस्या समाधानसँगै व्यापार, जलस्रोत, ऊर्जा, पूर्वाधार, लगानी र सीमा व्यवस्थापनका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिएका हुन् ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणप्रकाश ९एनपी० साउदले नेपालले भारतसँगको व्यापार घाटा कम गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतसँग रहेकाले नेपाली उत्पादनलाई भारतीय बजारमा सहुलियत दरमा निर्यात गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘विशेष गरेर आर्थिक बजेट घाटा छ, ठूलो व्यापार छ । दुई तिहाइ व्यापार भारतसँग छ, त्यसमा घाटा छ । विशेष गरेर औद्योगिक, खानीजन्य या कृषिजन्य पदार्थहरूको उत्पादन नेपालमा हुन्छ । अर्थात निर्यात हुने गरेका वस्तुहरु–जुस, कफी, चियालगतयतका सामग्री उत्पादनलाई सहुलियत दरमा निकासी गर्न पाउनुपर्छ । त्यसले बजेट घाटाका सन्दर्भमा मद्दत गर्छ । विद्युत् निर्यातका सन्दर्भमा पनि छलफल गर्न सकिन्छ जस्तो लाग्छ ।’
साउदले दुई देशबीच निर्माण भइरहेका भौतिक पूर्वाधार, रेल सेवा, सुक्खा बन्दरगाह र जलस्रोतमा भारतीय लगानी भित्र्याउने विषयलाई पनि भ्रमणको एजेन्डा बनाउनुपर्ने बताए ।
‘जनकपुर–जयनगर रेलको काम शून्य अवस्था छ । केही भौतिक पूर्वाधारहरू दुई देशको सहयोगमा बनिरहेका छन् र कतिपय भौतिक पूर्वाधारहरूको संयुक्त उद्घाटनको कुरा पनि अगाडि आएको छ, त्यो सकारात्मक हुन्छ जस्तो मलाई लाग्छ । सुक्खा बन्दरगाहहरू, जलस्रोतका सन्दर्भमा पनि कुरा गर्न सकिन्छ ।’
उनले विगतमा दुई देशबीच भएका सहमति कार्यान्वयनमा लैजानुपर्नेमा पनि जोड दिए । पेट्रोलियम पदार्थ आयातका लागि पाइपलाइन विस्तार, कृषि मल उत्पादन कारखाना स्थापना तथा खेलकुद पूर्वाधार र खेलाडीको तालिमका विषयमा पनि छलफल हुनुपर्ने उनको सुझाव छ ।
नेपाल-भारत सम्बन्ध बहुआयामिक भएकाले सामान्य असमझदारीले सम्बन्धको आधारभूत पक्ष प्रभावित नहुने उनको भनाइ छ । समस्यालाई वार्ता र संवादमार्फत समाधान गर्दै सम्बन्धलाई निरन्तरता दिनुपर्ने उनले बताए ।
यसैगरी नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमण विश्वासको वातावरण निर्माणमा केन्द्रित हुनुपर्ने बताए । गत वर्ष भदौमा भएका घटनापछि र निर्वाचनबाट नयाँ सरकार गठन भएसँगै दुई देशबीच अविश्वास बढेको उनको विश्लेषण छ ।
उनले भने, ‘खास गत सालको भदौका घटना र चुनावपछि नयाँ सरकार बनिसकेपछि नेपाल र भारतको बीचमा अलिकति विश्वासको संकट जस्तो देखिन्छ । अविश्वास गहिरिएको म देख्छु । विश्वासको वातावरण निर्माण गर्न सक्नुपर्छ । नेपालले के चाहेको हो भारतबाट, नेपालको परराष्ट्रनीति के हो भन्ने सन्दर्भमा विश्वासको वातावरण निर्माण गर्न जरुरी छ । प्रधानमन्त्री त्यही कुरामा केन्द्रित होऊन् भन्ने मेरो सुझाव छ ।’
ज्ञवालीले नेपालको राष्ट्रिय हितका विषय उठाउनु भारतविरोधी हुनु नभएको स्पष्ट पार्दै प्रधानमन्त्रीले राष्ट्रिय हित र सीमा समस्याका विषयमा आफ्नो धारणा स्पष्ट राख्नुपर्ने बताए ।
‘नेपालको राष्ट्रवाद कहिल्यै पनि भारतविरोधी थिएन । जहाँ–जहाँ भारतसँग समस्याहरू भए, ती समस्याहरू उठाउनु भारतविरोध होइन । समस्या आउँदा हामीले चीनको बारेमा पनि आवाज उठाएका छौँ । जतिबेला लिपुलेक नेपाललाई नसोधीकन भारत र चीनले द्विपक्षीय व्यापार गर्ने भनेर सहमति गरे, हामीले त्यसको विरोध गरेका छौँ । त्यसको अर्थ नेपाल चीनविरोधी होइन नि । त्यसकारण नेपालले आफ्नो राष्ट्रिय हितको कुरा गर्नु भनेको कुनै देशको विरोध होइन,’ उनले भने ।
उनले प्रधानमन्त्रीले विगतमा दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई पनि कूटनीतिक रूपमा स्पष्ट पार्नु उपयुक्त हुने बताए ।
‘हामी सुगौली सन्धिले तोकिदिएको सीमाभित्र सुरक्षित बस्न चाहन्छौँ । सुगौली सन्धिले नै तोकेको सीमा मिचिँदै गरेको कारणले कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ताको कुरा उठाएका हौँ । त्यो अभिव्यक्ति गलत थियो, त्यसले उहाँलाई वार्तामा अप्ठ्यारो पर्न सक्छ । अब त्यो कुरालाई उहाँले ठीक ढंगले ह्यान्डल गर्नुपर्छ । अहिले पनि त्यो मेरो अभिव्यक्ति गलत थियो, टङस्लिप भयो अथवा मेरो आशय त्यो होइन भनेर उहाँ आफैँले क्लियर गर्नु राम्रो हुन्छ,’ ज्ञवालीले भने ।
पूर्वपरराष्ट्र तथा पूर्वअर्थमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का नेता डा। प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्रीले भारत भ्रमणमा जानुअघि आफ्नो रणनीतिक लक्ष्य स्पष्ट पार्नुपर्ने बताए ।
उनले भने, ‘नेपालको भारतसँगको सम्बन्धमा हाम्रो प्रधानमन्त्रीज्यूको रणनीतिक लक्ष्य के हो, त्यसमा राम्रोसँग विचार गरेर त्यसबारे स्पष्ट भएर सोहीअनुरूप उहाँ कुरा गर्न जानु राम्रो हुन्छ ।’
त्यस्तै, पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा। प्रकाशशरण महतले व्यापार घाटा, कृषिजन्य वस्तुको बजार पहुँच, सीमा व्यवस्थापन र ऊर्जा क्षेत्रमा लगानीलाई भ्रमणका प्रमुख एजेन्डा बनाउनुपर्ने बताए ।
उनले भने, ‘हाम्रो व्यापार घाटाको समस्या छ । हाम्रो कृषिजन्य वस्तुको बजारको कुरा, बोर्डरमा क्वारेन्टाइ, हाम्रो एक्सपोर्टलाई कसरी बढाउने, व्यापार घाटा कसरी घटाउने, लङटर्म विद्युत्का कुराहरू, लगानीका कुरा, बोर्डरलाई सुरक्षित गर्ने कुरा र बोर्डरका समस्याहरू जे बाँकी छन् त्यसलाई कसरी टुङ्ग्याउँदै जाने भन्ने कुरा छ । विद्युतमा लगानी र ट्रान्समिसन लाइनका कुराहरू छन् । भारतको प्रत्यक्ष लगानी, फ्लाइट सञ्चालन गर्ने कुराहरू छन् । भारतको पनि नेपालसँग के अपेक्षा छ भन्ने सुरक्षा संवेदनशीलताका कुराहरू हुन्छन् । यी तमाम विषयमा होमवर्क गरेर प्रधानमन्त्री जानुपर्छ भन्ने हाम्रो भनाइ हो ।’
महतले प्रधानमन्त्रीको भ्रमणअघि पर्याप्त गृहकार्य र राजनीतिक दलका नेतृत्वसँग छलफल हुनुपर्ने बताए । भ्रमणमा नयाँ सम्झौता गर्नेभन्दा पनि विगतका सहमति कार्यान्वयनको अवस्था र बाँकी रहेका विषय टुङ्ग्याउने तयारी महत्वपूर्ण हुने उनको भनाइ छ ।