काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २७ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको हो ।
इन्स्याेरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गरेको हो ।
कम्पनीले हाल कायम रहेको जारी पुँजीको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि पहिलो चरणमा १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर निष्काशन गरेको हो ।
कम्पनीले निष्कासन गरेको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४ सय कित्ताका लागि आवेदन दिन सकिने छ ।
इन्स्योरेन्सको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । आवेदकहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि आस्वा र ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।
Advertisment