Below Menu
Below Menu

व्यापार घाटा कम गर्दै गलैँचा उद्योग, चार वर्षमा ३४ अर्बको निर्यात

व्यापार घाटा कम गर्दै गलैँचा उद्योग, चार वर्षमा ३४ अर्बको निर्यात

काठमाडौं : वर्षेनी चुलिदै आएको नेपालको व्यापार घाटा अहिले १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख रुपैयाँ बराबरको छ । आयातको तुलनामा निर्यात निकै कम छ । एक वर्षमा १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको सामान आयात हुँदा एक खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ  बराबरको सामान निर्यात भएको छ । 

विगतका वर्षहरुमा निरन्तर रुपमा चुलिदै आएको नेपालको व्यापारघाटा अघिल्लो आवको तुलनामा भने १५.४५ प्रतिशतले घटेको छ । नेपालको व्यापार घाटा कम गर्न गलैंचा निर्यातले पनि योगदान पुर्याएको छ । नेपालबाट निर्यात हुने वस्तु मध्ये गलैंचा अग्र स्थानमा छ । कोरोना महामारीयता नेपालको व्यापार, व्यवसाय, रोजगारीका सबै काम ठप्प भए पनि गलैंचा निर्यात भने बढ्दै गएको छ ।

भन्सार विभागको तथ्यांक हेर्न हो भने नेपालले गत चार वर्षमा ३४ अर्ब रुपैयाँ भन्दा बढीको गलैंचा निर्यात गरेकाे छ । यस उद्योगमा काम गर्ने श्रमिकले काम र दाम दुबै पाएसँगै निकासी पनि बढ्दै गएको विभागको तथ्यांकले देखाएको छ ।  विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ देखि गत आवसम्ममा ३४ अर्ब ९४ करोड ९२ लाख १० हजार रुपैयाँ बराबरको गलैंचा निर्यात गरेकाे हाे ।

यस अवधिमा नेपालबाट २९ लाख २७ हजार ३६२ स्क्वायर मिटर गलैंचा निर्यात भएको हाे । धेरैजसो गलैंचा अमेरिका निर्यात हुँदै आएको छ । यस अवधिमा अमेरिकामा मात्रै १४ अर्ब ८५ करोड ६३ लाख ५५ हजार रुपैयाँ बराबरको ५ लाख ५१ हजार २४८ स्क्वायर मिटर गलैचा निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

सरकारले गलैंचामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) ले निर्यातमा ३० प्रतिशतसम्म गिरावट आउने नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ताको गुनासो छ । गलैंचा उद्योगमा पाउँदै आएको भ्याट छुट हटाउँदा गलैंचाको उत्पादन लागत महँगो भई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकेर निर्यातमा गिरावट उनीहरुको भनाई छ ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकरमा समेत पाउँदै आएको छुट हटाएको छ । २०५४ सालमा मूल्य अभिवृद्धि कर लागु भएदेखि गलैँचा उद्योगले भ्याट छुट प्राप्त गर्दै आएकोमा आगामी आवको बजेटमार्फत मूल्य अभिवृद्धि कर ऐन २०५२ संशोधन गर्दै सरकारले यो उद्योगलाई उक्त सूचीबाट हटाएको छ । भ्याट सुविधा हटाउँदा दुई लाखभन्दा बढी श्रमिक आबद्ध भएको गलैँचा उद्योग नै संकटमा पर्ने भन्दै व्यवसायीले छुट सुविधा कायम राख्न माग गरेका छन् ।

नेपाल गलै‌चा उत्पादक तथा निकासीकर्ताका अनुसार नेपालबाट वार्षिक रुपमा ३० देखि ३५ प्रतिशत सम्म निर्यात बढ्दै गएको छ । यसले व्यापार घाटा कम गर्नुका साथै विदेशी मुद्रा सञ्चितिमा ठुलो सहयोग पु¥याएको छ । तर, भ्याट सुविधा हटाउँदा निर्यातमा स्वतः गिरावट आउने व्यवसायीको भनाई छ ।

गत आवमा १४ खर्ब बढीकाे व्यापार घाटा व्यहोरेको नेपालले १७ खर्ब ६८ अर्ब ८७ करोड ३४ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेकाे छ । अघिल्लो आवको तुलनामा वैदेशिक व्यापार १६.६८ प्रतिशतले घटेको छ । तर, विगतमा वर्षहरुमा भन्दा यस वर्ष गलैंचाको निकासी बढेको छ ।

एक वर्षमा ११ अर्ब बढीको गलैंचा निकासी

विशेषगरी हस्तकलाका सामानहरु निर्यात गर्दै आएको नेपालले गत आवमा ११ अर्ब ९५ करोड ७६ लाख ९२ हजार रुपैयाँ बराबरको १६ लाख ८१ हजार ८६८ स्क्वायर मिटर गलैँचा निकासी गरेको छ ।

विभागका अनुसार गत आवमा मात्रै नेपालबाट निकासी भएको कुल गलैंचामध्ये अमेरिकामा मात्रै ७ अर्ब १८ करोड २५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । अमेरिकामा मात्रै २ लाख ४६ हजार ८४५ स्क्वायर मिटर नेपाली गलैँचा निर्यात भएको हो ।

नेपालबाट गलैंचा निार्यत गर्ने देशमा अमेरिकापछि जर्मनी रहेको छ । जर्मनीमा ८८ करोड ७० लाख २२ हजार रुपैयाँको ३३ हजार ७३४ स्क्वायर मिटर निकासी भएको छ भने बेलायतमा ७८ करोड ७५ लाख ७६ हजार रुपैयाँको २२ हजार ७ सय ४ स्क्वायर मिटर निकासी भएको विभागको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, अन्य देशहरुमा अष्ट्रेलियामा २० करोड ४३ लाख रुपैयाँ बराबरको ७ हजार १८२ स्क्वायर मिटर, बेल्जियममा २४ करोड ८८ लाख रुपैयाँ बराबरको ११ हजार ३४२ स्क्वायर मिटर, क्यानडामा २५ करोड रुपैयाँ बराबरको ८ हजार २४२ स्क्वायर मिटर, चीनमा १९ करोड ९९ लाख रुपैयाँ बराबरको ८७ हजार ३७ स्क्वायर मिटर र फ्रान्समा ३४ करोड २५ लाख ९२ हजार रुपैयाँ बराबरको १० हजार ५४६ स्क्वायर मिटर गलैंचा निर्यात भएको छ ।

विभागका अनुसार इटालीमा ६१ करोड ४६ लाख ६२ हजार रुपैयाँ बराबरको २५ हजार ७६५ स्क्वायर मिटर निकासी भएको छ । त्यस्तै, जापानमा २ करोड १० लाख, लेबनानमा एक करोड २ लाख, माल्दिभ्समा २ करोड ६ लाख, नेदरल्याण्डमा एक करोड २६ लाख, न्युजिल्याण्डमा एक करोड ९७ लाख  रुपैयाँ बराबरको गलैँचा निर्यात भएको छ । त्यसैगरी, रसियामा ७ करोड ४१ लाख ३८ हजार रुपैयाँ बराबरको २ हजार १२४ स्क्वायर मिटर, स्पेनमा एक करोड ८० लाख १५ हजार रुपैयाँ बराबरको ६४७ स्क्वायर मिटर गलैँचा निर्यात भएको छ ।  

त्यस्तै यस अवधिमा स्वीजरल्याण्डमा १५ करोड ७७ लाख ३८ हजार रुपैयाँ बराबरको ४ हजार ४ सय ४६ स्क्वायर मिटर, टर्कीमा एक करोड ४४ लाख, दुबईमा ७ करोड ४० लाख रुपैयाँ बराबरको ७ हजार ८२० स्क्वायर मिटर गलैँचा निकासी भएको छ भने अन्य मुलुकहरुमा पनि निर्यात बढ्दै गएको देखिएको छ ।

कुन वर्षमा कति भयो निर्यात?

Advertisment

थप समाचार