काठमाडौं : आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले शेयरधनीहरुलाई १ बराबर १.५ को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । कम्पनीले हकप्रद निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारको नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ ।
उक्त सम्झौतापत्रमा आँखुखोला जलविद्युत कम्पनीका तर्फबाट शेयर निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धि सम्झौतामा कम्पनीका अध्यक्ष राम श्रेष्ठ तथा शेयर रजिष्ट्रार सम्बन्धि सम्झौतामा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रतिक्षा शर्मा र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी बीच हस्ताक्षर भएको हो ।
काठमाडौंबाट करिब १३२ किलोमिटर टाढा धादिङ्ग जिल्लामा अवस्थित आँखुखोला बुढीगण्डकी नदीको प्रमुख सहायक नदीहरु मध्ये एक हो । आँखुखोलाको क्याचमेन्ट क्षेत्र करिब ६३३ किलोमिटर छ । औसत बार्षिक प्रवाह ५८.३८ क्युमेक अनुमान गरिएको छ । ३४.५ क्युमेकको डिस्चार्ज ४० प्रतिशत भन्दा बढी सम्भाव्यता भएको मानिएको छ । कम्पनीको विद्युत उत्पादन क्षमता ८.४ मेगावाट रहेको छ र उक्त उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जडान गरिएको छ ।
बुधबार उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले आँखुखोला जलविद्युत कम्पनी लिमिटेडका शेयरधनीहरुलाई हकप्रद शेयर निष्काशन सम्बन्धि कार्यका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट हकप्रद शेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
Advertisment