काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा १२ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललित जङ्ग मल्लसहित ७ जना र महोत्तरीको पिपरा गाउँ कार्यपालिका कार्यालयका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत रंजिता झा सहित ५ जनागरी १२ जना विरुद्ध मुद्दा दायर गरेको हो ।
छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मल्लसहित इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत गरी ७ जनाले सोही नगरपालिकालको वडा नं. २ मा पार्क निर्माण गर्दा अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।
सोही निवेदनका आधारमा अनुसन्धान उक्त नगरपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मल्ल, तत्कालीन लेखापाल रुन बहादुर सेजुवाल, कम्प्युटर अपरेटर केशर बहादुर रावल, तत्कालीन इन्जिनियर महेश सिंह कठायत र तत्कालीन असिस्टेन्ट सव–इन्जिनियर हस्त बहादुर मल्लसमेतले पार्क निर्माणमा अनियमितता गरेको पुष्टि भएको आयोगले जनाएको छ ।
उनीहरुले जिल्ला वन कार्यालयको स्वामित्वमा रहेको वन कार्यालयको कम्पाउण्डभित्रको जग्गामा जिल्ला वन कार्यालयबाट पार्क निर्माण गर्ने अनुमतिसमेत नलिई पार्क निर्माणस्थलको टुंगो नलगाई पार्क निर्माणको लागि डिजाइन, नक्सा र लागत अनुमान तयार गर्न लगाई स्वीकृत गरी उपभोक्ता समितिलाई ३८ लाख ४७ हजार ५ सय रुपैयाँ पेश्की उपलब्ध गराएको आयोगको भनाई छ ।
यसका साथैं जिल्ला वन कार्यालयले अनुमति नदिएकोले सम्झौता बमोजिम पार्क निर्माण हुन नसक्ने अवस्था भई निर्मित संरचनाहरुसमेतबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकि उपभोक्ता समितिलाई भुक्तानी भएको पेश्की फर्छौट नगरी सो रकम भ्रष्टाचार गरेको आयोगको ठहर छ ।
उनीहरु विरुद्ध आयोगले ३८ लाख ४७ हजार ५ सय रुपौयँ विगो मागदावी गर्दै शुक्रबार विशेक्ष् अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
यसका साथै उपभोक्ता समितिका अध्यक्ष विष्णु बहादुर रावल र कोषाध्यक्ष वसन्ती रावलले पनि पार्क निर्माणका लागि सम्झौता गरी पेश्की ३८ लाख ४७ हजार ५ सय रुपैयाँ बुझिलिई निर्माण कार्य गरिरहेका थिए ।
तर, उक्त पार्क निर्माणका लागि जिल्ला वन कार्यालयबाट अनुमति प्राप्त हुन नसकेकोले सम्झौता बमोजिमको बाँकी कार्य सम्पन्न गर्न नसक्ने अवस्था भएकोमा नियमानुसार उपभोक्ता समितिबाट भएको कार्यबापतको ४ लाख ६५ हजार ८२ रुपैयाँ १६ पैसा कट्टा गरी बाँकी रहेको ३३ लाख ८२ हजार ४१७ रुपैयाँ ८४ पैसा फिर्ता बुझाई पेश्की फर्छ्यौट गर्नुपर्नेमा सो रकम बदनियत भ्रष्टाचार गरेको आयोगले जनाएको छ । उनीहरु विरुद्ध सोही बराबरको बिगो कायम गरी आयोगले मुद्दा दायर गरेको छ ।
त्यस्तै, महोत्तरीको पिपरा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत रंजिता झा, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ५ जनाले सोही पालिकाको वडा नं. १ खैरबामा बाटो ढलानको कार्य गर्दा कमसल सामाग्रीहरु प्रयोग गरी गाउँपालिकाबाट प्राप्त रकम हिनामिना गरेको भन्ने उजुरी आयोगमा परकेो थियो ।
सोही निवेदनका आधारमा अनुसन्धान तत्कालीन प्रमुख प्रशासकिय अधिकृत झा, तत्कालीन सव–इन्जिनियर मण्डलले आव २०७४।७५ मा पिपरा गाउँपालिका वडा नं. १ को एकरहिया कृषि सडक ओलारदेखि खैरबा सडकको पीसीसी ढलान कार्यमा नभए नगरेको कार्यलाई बढी काम भएको नापी किताब तयार पारी बढी मूल्याङ्कन गरी झुट्टा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी उपभोक्ता समितिलाई बढी १ लाख ४८ हजार ९१० रुपैयाँ भुक्तानी दिई सरकारी रकम हानिनोक्सानी गरेको आयोगले जनाएको छ ।
त्यसैगरी सोही कार्यमा निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साहको पनि संलग्नता रहेको आयोगको पुष्टि छ । उाीहरु विरुद्ध आयोगले १ लाख ४८ हजार ९१० रुपैयाँ बराबरको बिगो कायम गरी सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।
Advertisment